११ पुस २०८१ बिहीबार
image/svg+xml
ग्राहक विशेष

‘पाहुना पर्वको नेपाली समाजमा उमंग’

उनका बुवाआमा बुद्ध धर्मालम्बी हुन् भने ससुरालीचाहिँ हिन्दु। उनले १४ वर्षदेखि इसाई (क्रिस्चियन) धर्म मान्दै आएका छन्। कुनै धर्म मन नपरेर होइन, इसाई धर्म अलि बढी मन परेर अँगालेको उनी सुनाउँछन्। ‘मलाई कुनै धर्म मन नपरेको होइन, क्रिस्चियन धर्म अँगाल्न मन लाग्यो’, क्रिसमसको तयारीमा जुट्दै गरेका जित तामाङले भने, ‘मैले हरेक धर्ममा मानवता र आफ्नोपन पाएको छु।’ दोलखा कालिञ्चोक घर भएका उनी हाल कागेश्वरी मनोहरामा बस्छन्। 

उनी धर्मले समाजलाई विभाजित गर्ने नभई एक बनाउने धारणा राख्छन्। ‘सबै आफ्नो धर्मको मागअनुसार चल्ने हो भने समाज झनै सुन्दर बन्छ’, उनले भने, ‘एकले अर्काको धर्मको सम्मान गर्दै अगाडि बढ्न सक्नुपर्छ।’ 

नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङ पनि बुद्ध धर्मावलम्बी परिवारकै हुन्। २०३१ सालमा इसाई धर्म अँगालेका उनको पनि ससुराली हिन्दु धर्मावलम्बी हुन्। तर एकअर्काप्रतिको सद्भावमा कुनै कमी नआएको उनी बताउँछन्। ‘धर्म फेर्नेभन्दा पनि मानिस भित्रैदेखि धार्मिक भयो भने कुनै समस्या छैन’, उनले भने, ‘धार्मिक मानिस जुनसुकै धर्मको भए पनि सबैको साझा हुन्छ।’ धार्मिक मानिसको समाजलाई हेर्ने दृष्टिकोण सकारात्मक हुने र उसले समग्र मानव जातिको कल्याण चाहने उनले बताए।

तस्बिरमा जित तामाङ 

नेपालमा शताब्दीऔंदेखि धार्मिक सद्भाव रहँदै आएको छ। फरकफरक धर्म र आस्था राख्नेहरू पनि जित र हनोक जस्तै एकै छतमुनि बसेका छन्। उनीहरू एक अर्काको धर्मलाई सम्मान गर्दै अगाडि बढेका छन्। यसैले नेपाल धार्मिक सहिष्णुता भएको देशका नामले पनि चिनिन्छ।

भक्तपुरकी निशा थापा र पर्वतकी मीना बरालको मित्रता बसेको १२ वर्षभन्दा बढी भयो। थापा इसाई धर्मावलम्बी हुन् भने बराल हिन्दु। तर उनीहरूबीचको मित्रतामा धर्म बाधक बनेको छैन। बरु एक अर्काको चाडपर्वमा हातेमालो गर्दै रमाउँदै आएको सुनाउँछन् उनीहरू।

क्रिसमसको रमाइलो हेर्न मंगलबार साथीसँगै ललितपुरको भनिमन्डलस्थित क्याथोलिक चर्चमा आएकी बरालले तिहारको दिन साथी थापा आफ्नो घर आएको सुनाइन्। ‘धर्म फरक भए पनि उत्सवको रमाइलोले सबैलाई खुसी दिन्छ’, उनले भनिन्, ‘हामी क्रिसमस सँगै मनाउने योजनामा छौं।’ आफ्नो पर्व क्रिसमसमा साथीले पनि साथ दिएकोमा थापा पनि खुसी छिन्। एक दशकदेखि नै इसाई धर्म मान्दै आएकी उनले आफू पनि हिन्दु धर्म मान्ने साथीको चाडपर्वमा रमाउने गरेको बताइन्। 

‘क्रिसमसमा ऊ (साथी) मेरो पाहुना हो,’ उनले भनिन्, ‘दसैंमा म उसको पाहुना हुँ।’ थापा र बरालजस्तै इसाई तथा गैरइसाई दुवै क्रिसमसमा देशभर रमाउँदै छन्। राजधानी काठमाडौंका सपिङ मलमा आयोजित क्रिसमस रमाइलोमा इसाईसँगै गैरइसाईहरू पनि देखिन्थे। टाउकोमा क्रिसमस टोपी र गालामा सान्ता क्लजको चित्र कोरिएका युवाको हँसिलो अनुहारले राजधानीका सपिङ मल तथा रेस्टुरेन्टमा क्रिसमसको उज्यालो छरिएको छ। हुन पनि हो, हरेक धार्मिक उत्सवले अर्थतन्त्रलाई पनि चलायमान पार्छन्। 

अन्तरधार्मिक सञ्जाल नेपालकी कार्यक्रम संयोजक नाहिदा बानु

नेपाली समाजमा जस्तो एकले अर्काको धर्मलाई सम्मान गर्ने चलन संसारमै विरलै भेटिने अन्तरधार्मिक सञ्जाल नेपालकी कार्यक्रम संयोजक नाहिदा बानु बताउँछिन्। उनी इस्लाम धर्मावलम्बी हुन्। इस्लाम धर्मले सबैलाई आदर गर्न सिकाउँछ भन्दै उनले अन्य धर्ममा पनि त्यस्तै भाव भेटिएको बताइन्। 

‘हामीले मुलुकमा धार्मिक सद्भाव बढाउने कार्य गर्दै आएका छौं’, उनी भन्छिन्, ‘धार्मिक सहिष्णुता र सद्भावका हिसाबले नेपाल गर्वलायक छ।’ इद पर्वका अवसरमा पनि अन्य समुदाय रमाएको सुनाउँदै अन्य समुदायको पर्वमा पनि आफूहरू रमाउने गरेको उनले सुनाइन्। ‘सबै चाडपर्वमा सबै समुदाय रमाउने अवसरले निरन्तरता पाओस्’, उनले भनिन्। क्रिसमसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु।’

गौतम बुद्ध हुन् या जिसस क्राइस्ट सबै आध्यात्मिक चेतनाका जन्मदाता भएको मनोसामाजिक परामर्शदाता एवं हिन्दुधर्मावलम्बी डा. नम्रता पाण्डेको धारणा छ। उनका अनुसार सबै सबैको लक्ष्य मानव शान्ति र करुणा हो। ‘धार्मिक उत्सवले सबै धर्मावलम्बीलाई जीवनप्रति सकारात्मक बोध गराउँछ’, उनले भनिन्, ‘त्यही भएर नेपाली समाज हरेक धार्मिक र समाजको उत्सवमा रमाउने गर्छ।’

बढ्दै इसाई धर्मावलम्बी 
झन्डै पाँच दशकअगाडि आफूले इसाई धर्म अँगाल्दा नेपालमा इसाईको संख्या सयौंमा रहेकोमा अहिले लाखौंमा पुगेको नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङले बताए। २०१७ सालमा स्थापना भएको मण्डलीहरूको छाता संगठनका अध्यक्ष तामाङ हाल मुलुकभर करिब १२ हजार चर्च र २० देखि २५ लाखको हाराहारीमा इसाई धर्मावलम्बी रहेको अनुमान गर्छन्। कतिपयले इसाई धर्मावलम्बीको संख्या ४० लाखको हाराहारीमा रहेको दाबी गर्छन्। 

नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङ

राष्ट्रिय मण्डली संगतिका अध्यक्ष तामाङ भने दुवै तथ्यांकलाई सही मान्न तयार छैनन्। ‘न जनगणनामा देखिएको जस्तो कम छ न कतिपयले दाबी गरेजस्तो अत्यधिक बढी नै’, उनले भने, ‘मेरो अनुमानमा नेपालमा इसाई धर्म मान्ने २० देखि २५ लाख हाराहारीमा छन्।’ 

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको झन्डै तीन करोड जनसंख्यामा इसाई धर्मावलम्बीको संख्या पाँच लाख १२ हजार तीन सय १३ छ, जुन कुल जनसंख्याको १.७६ प्रतिशत हुन आउँछ। २०६८ को जनगणनामा यो प्रतिशत १.४ थियो। २०५८ सालको जनगणनामा इसाई धर्मावलम्बीको संख्या एक लाख थियो।

तामाङ धर्म मान्नेको संख्या जति भए पनि मानिस कति धार्मिक भयो भन्ने कुराले मात्र अर्थ राख्ने सुनाउँछन्। ‘धार्मिकताको भाव भयो भने त्यो सार्थक रहन्छ’, उनी भन्छन्, ‘नत्र संख्याले मात्र खासै केही अर्थ राख्दैन।’ 

सबै धर्मले मानवतालाई नै अँगालेको उनको बुझाई छ। ‘क्रिसमसले दिने सन्देश भनेको असत्यमाथि सत्यको विजय, अँध्यारोमाथि उज्यालोको जित अनि अशान्तिमाथि शान्तिको विजय हो’, उनी भन्छन्, ‘धर्म र जातका नाममा कहिल्यै अशान्ति नछाओस्।’ 

बधाई र उपहार साटासाट
इसाई धर्मावलम्बीको मुख्य पर्व क्रिसमस बुधबार राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा धुमधामसाथ मनाइँदै छ। अहिले सहरी क्षेत्रका चर्च तथा सपिङ मल, होटल, सुपर मार्केट तथा अन्य पर्यटकीय बजारमा क्रिसमसको रौनक छ। क्रिसमसका लागि भन्दै राजधानीका ठुला सपिङ मल तथा होटलमा साताअघिदेखि नै ‘क्रिसमस ट्री’ बनाइएका छन्। 

‘गिफ्ट सप’मा क्रिसमसको उपहार किन्नेको भिड लागेको छ। इसाई तथा गैरइसाई दुवैले एकअर्कालाई क्रिसमसको बधाई दिँदै उपहारसमेत साटासाट गरिरहेका छन्। सूचना प्रविधिको विकाससँगै पछिल्ला दिनमा नेपाली समाजमा पनि क्रिसमस लोकप्रिय हुँदै गइरहेको छ। ललितपुरस्थित एजम्पसन चर्च, ज्ञानेश्वरस्थित नेपाल इसाई मण्डली, पुतलीसडक, दाखबारीलगायत काठमाडौं उपत्यकाका सयौं चर्चमा रौनकता छाएको छ।

अंग्रेजी महिनाको डिसेम्बर २५ तारिखलाई जिसस क्राइस्टको जन्म भएको मानेर क्रिसमस मनाउने गरिन्छ। २०६३ सालमा तत्कालीन व्यवस्थापिका (संसद्) बैठकले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि क्रिसमसमा पनि सार्वजनिक बिदा दिन थालिएको छ। 

नेपाल राष्ट्रिय मण्डली परिषद्का महासचिव डा. केबी रोकाया धर्म, विज्ञान र दर्शन कुनै जातजातिको नभई सबैको साझा सम्पत्ति भएको बताउँछन्। भूमण्डलीकरणका कारण पछिल्लो समय नेपाली समुदायमा गैरइसाई धर्मावलम्बीले पनि यो पर्व मनाउन थालेको उनको बुझाइ छ। ‘क्रिसमस मनाउन कुनै धार्मिक विधि, निश्चित ठाउँमा जानु पर्दैन’, उनले भने, ‘त्यही भएर सर्वसाधारण यो पर्वमा रमाउन थालेका छन्।’ पर्वहरूमा एकापसमा घुलमिल हुँदा समाजमा सद्भाव बढ्ने उनले सुनाए। ‘यस्ता घुलमिलले समाजमा भ्रातृत्व, समझदारी र भाइचारा बढाउँछ’, उनी भन्छन्।

के हो क्रिसमस?
कुनै समय पश्चिमी देशहरू अर्थात् इसाई बाहुल्य इलाकामा मनाइने क्रिसमस पर्व अहिले विश्वभरि मनाइन्छ। क्रिसमस डिसेम्बर २५ का दिन मनाउने गरिन्छ। क्रिसमस इसाई समुदायको मुख्य चाड हो। 

‘क्रिसमस’ अंग्रेजी शब्द ‘क्राइस्ट मास’ बाट बनेको हो। जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने हुन्छ। मानव विज्ञानी जेम्स जार्ज फ्रेजरले आफ्नो पुस्तक ‘द गोल्डेन बज’ मा जुन दिन येसु ख्रिस्टको जन्म भएको थियो, ठिक त्यसै दिनदेखि क्रिसमसको छुट्टी मनाउने प्रचलनमा आएको लेखेका छन्।

इसाई धर्मका प्रवर्तक येसु ख्रिस्टको जन्मोत्सवको सम्मानमा डिसेम्बर २५ का दिन संसारभरि ‘क्रिसमस डे’ धुमधाम साथ मनाउने गरिन्छ। क्रिसमसको पूर्व सन्ध्यालाई ‘क्रिसमस इभ’ भनिन्छ। यो इभ परिवारमा हर्षोल्लास र खुसीका साथ बिताउने एक उत्तम समय हो।

नेपालमा २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपछि औपचारिक रूपमा क्रिसमस पर्व मनाउने परम्पराको थालनी भएको मानिन्छ। त्योभन्दा अघि नेपाली इसाई क्रिसमस मनाउन भारततिर जाने गर्थे। त्यतिखेर नेपालमा क्रिसमस मनाउन बन्देज थियो।

क्रिसमसमा पर्वमा आआफ्नो रुचि अनुसारका मिठामिठा परिकार बनाएर खाने र खुवाउने गरिन्छ। क्रिसमससँग जोडेर आयोजना हुने विभिन्न कार्यक्रममा येसुले बाँडेको ज्ञान र उपदेशको चर्चा, शुभकामना र उपहार आदानप्रदान, प्रेम प्रकट गर्दै शान्ति, सद्भाव, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्छ। 

त्यस्तै क्रिसमस महोत्सव आयोजना गर्ने, घर सफा राख्ने, सपिङ गर्ने, चर्च जाने, प्रार्थना गर्ने, केक काट्ने, क्रिसमस ट्रीले चर्च घर र मल सजाउने, क्यारोल खेल्ने, सान्ता क्लजबाट उपहार लिने, नाचगान गर्ने आदि नेपाली क्रिसमस पर्वको मुख्य विशेषता हुन्। केही दशक अघिसम्म पाहुना उत्सव मानिने क्रिसमस अहिले नेपाली समाजको अंग बनिसकेको छ। 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र विभागका प्रमुख प्राध्यापक विनोद पोखरेल पछिल्लो समय समाज ‘ग्लोबल भिलेज’को रूपमा विकसित हुँदै गएको र यसले सबै धर्म र जातका संस्कृतिलाई स्विकार्न थालेको बताउँछन्। ‘आयातित भन्ने कुरा हटिसकेको छ, सबैले सबैका पर्वलाई स्विकार्न थालेका छन्’, उनले भने, ‘भूमण्डीलकरणसँगै समाजमा स्वीकारभाव विकसित भएको छ।’ 

प्रकाशित: १० पुस २०८१ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App