तीन दशक अघिसम्म पूर्वी जिल्लाबाट नोकरी गर्न जिल्लामा आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गर्दथे । मूल घर पूर्वको तराई जिल्लामा भई कपिलवस्तुको तौलिहवाका विभिन्न कामले बस्दै आएका दुई चार घरले मात्र मनाउने गरिएको छठ बिगत १० वर्ष यता जिल्लाका विभिन्न जातजातिहरुले मनाउन थालेका छन् । मैथिली मधेसी जनजाति, मुस्लिम लगायतका जनजातिले समेत छठ पर्व उल्लासकासाथ मनाउन थाले पछि यस्ले जिल्लामा धार्मिक सदभाव छर्ने गरेको छ ।
छठ पर्व जिल्लामा एकता र सदभावको बनेको छ । मैथिली पहाडी र अवधी समुदायलाई पर्वले जोडेको छ । केही वर्ष अघिसम्म पूर्वी तराईका केही जिल्लाहरुमा सीमति छठ पर्व अहिले समावेशी बन्दै गएको हो । अहिले तराईका जिल्लाहरुमा समेत विभिन्न जात जातिहरुले समेत मनाउन थालेपछि यो पर्व समावेशी र सांस्कतिक पर्वकारुपमा विकासित हुँदै गएको हो । सिराहा, सप्तरी, पर्सालगायका जिल्लाहरु मनाइने गरिएको पर्व देशकै राजधानी काठमाडौंसहित पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लामासमेत धुमधामसँग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो ।
पहिले पूर्वी क्षेत्रका मधेस समुदायका व्यक्तिले मात्र मनाउने छठ अहिले पडाडी, नेवार, मधेसी, दलित मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाईएको छ । अराध्य देव सूर्यको आराधना र उपासना गरी मनाईने छठ पर्व शनिबारदेखि सुरु भई मंगलबार सम्पन्न हुँदैछ । सोमबार परेको छठको पूजाकालागि विशेष घर घरमा तयारी गरिएको छ । जिल्लाको उत्तरी भेगमा रहेको गोरुसिंगे, चार नम्बर, चन्द्रौटा लगायतमा छठ पर्व मनाउनेको संख्या हरेक वर्ष बढ्दै गएको छ ।
अधिकारर्मी रबि ठाकुरले बिगत १० वर्ष अघिसम्म पूर्वी जिल्लाबाट कपिलवस्तु आएका परिवारले मात्र छठ पर्व मनाउने गरेको बताए । तर बिगत केही वर्ष यता छठ जिल्लाका हिन्दूर, मुस्लिम समुदायले मनाउन थाले पछि यसले मैथिली, पहाडी र अवधि र भोजपुरीलाई जाडने काम गरेको बताए ।
कपिलवस्तु नगरपालिका– १ की नेवार समुदायकी समा शाक्यले एक दशक अघिदेखि छठ पर्व मनाउदै गएको बताईन । माईती घरमा छठ पर्वको बारेमा सुनेपनि पर्व मनाउने तर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडीहरुसँगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाईलो लाग्ने गरेको बताईन । विभिन्न जात जातिहरुले एकैसाथ पर्व मनाउँदा सांस्कृतिक आदानप्रदान समेत हुने उनी बताउँछिन । यशोधरा गाउँपालिकाकी बिन्दबासिनी हरिजनले जमुहरा नदीमा सबैसँग सामुहिक पूजा गर्ने गरेको बताईन । यस पटक पनि छठ पूजाको तयारी गरेकी उनले मधेसी पहाडी सबै जातजातिसँग सामुहिकरुपमा पर्व मनाउन पाउँदा खुशी लागेको बताईन । ‘सबै जना नदीमा गएर पुजा गर्छौ कुनै भेदभाव छैन,’ उनले भनिन ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष माहोम्मद जाहिद खाँले छठ लोकप्रिय बन्दै गएको बताए । धनी, गरीब, हिन्दू मुस्लिम, महिला पुरुष, पहडी मधेसी सबै वर्ग समुदायले अंगाल्न थालेको यो पर्वले मुलुकको वर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने उनको विश्वास छ ।
सञ्चारकर्मी मनोज पौडेलले जातिय, वर्गीय, मुद्दामा विभाजित वर्तमान समयमा यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न यसले मद्दम मिल्ने बताए ।
पूर्वीय संस्कृतिमाथि बिस्तारै पश्चात्यको पकड बढिरहेको बेला यो पर्वको ब्रतालु र श्रद्धालु बढनुले पनि यो पर्वको झन महत्व बढदै गएको मानवअधिकारकर्मी राम दयाल ठाकुर बताउछन् । यो पर्वको महत्व र लोकप्रियताको कदर गर्दै राज्यले समेत यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिनु पर्ने उनको माग छ ।
छठ पर्व वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण रहेको केही चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार विशेष गरी छठमा सूर्यको उपासना गरिने र त्यही सूर्यको किरणमा भिटामिन डी पाईने भएकाले प्राणी जगतलाई प्रत्यक्ष र अप्रत्यक्ष जीवन प्रदान गरिहेको हुन्छ । त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छाला सम्बन्धी रोग निको हुने समेत जनविश्वास छ ।
ठ पर्वको पहिलो दिन अर्थात कार्तिक शुक्ल चौथीको दिनदेखि सुरु हुने गर्दछ । पहिलो दिनलाई नहान खान भनिन्छ । यस दिन विशेष शुद्धाशुद्धी अपनाईनछ । यस दिनदेखि श्रद्धालुहरुले लसुन, प्याज, मसुरोको दाल, कोदो लगायतको परिकारहरुको परित्याग गरी अरुवाको चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाएर खाने गरिन्छ । दोस्रो दिन अर्थात पञ्चमीलाई खरना भनिन्छ । यस दिन ब्रतानलुहरु दिनभर उपवास बसी बेलुका चन्द्रमाको दर्शन गरी सकेपछि माटोको नयाँ चुलो र भाडामा सख्खर, दुध र चामलको खीर पकाईन्छ । केराको पातमा राखेर खीर छठी मातालाई चढाईन्छ र त्यसलाई प्रसादकोरुपमा ग्रहण गर्ने गरिन्छ ।
पर्वको तेस्रो दिन अर्थात षष्ठीलाई सझियाघाट भनिन्छ । पर्वको मुख्य दिनकारुपमा रहेको यस दिन बिहानै तेल र ध्युमा चामलको ठेकुवा र कसार लगायतका परिकार पकाई पाच थरिका मिठाई, उखु, अदुवा, नरिबल, मुला, सुथनी, सुपारी, ल्वाङ, सुकमेल लगायतका सामाग्रीहरु राखिन्छ । सो सामाग्रीहरु बासको टोकरी, सुपोमा राखेर जल, गाईको दुधसहित छठ पर्व मनाउने घाट वा जलासयमा पुगेर पूजापाठ गरी अस्ताउँदो सूर्यलाई अध्र्य दिई घर फर्कने गर्दछन् ।
कतिपय ब्रतालुहरु घर नफर्कि रातभर बस्ने गर्छन् । भाकल बसेका केही ब्यक्तिहरुले माटोका देवीदेवताका मुर्तिहरु बनाई पूजाआजा गर्नछन् जसलाई कोशिया भनिन्छ । कार्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई अध्र्य दिए पछि यो पर्व बिधिवतरुपमा सम्पन्न हुने गर्दछ ।
प्रकाशित: ८ कार्तिक २०८२ २१:४१ शनिबार




-600x400-wm.jpg)
