नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट धनजनको ठूलो क्षति भएपछि पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो।
कम्पनीले प्रदान गरेको रकम बराबरको चेक कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आज आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
कम्पनीले विपद्का कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिन कम्पनीका सम्बन्धित कर्मचारी एवं अभिकर्ताहरूलाई आग्रह गरेको छ।
प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्णप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रकाशित: १६ भाद्र २०८३ १८:३१ मंगलबार





