सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ जम्मा गरेको छ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति हुनुका साथै नागरिकको दैनिक जीवन प्रभावित भएको अवस्थामा प्रभावित क्षेत्र र समुदायलाई सहयोग गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरिएको हो।
कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीहरूले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय बाढी आएको दिनदेखि नै लागू गरेको पछिल्लो विज्ञप्तिमा उल्लेख गरेको छ।
विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै कम्पनीले यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत २० वर्षदेखि संसारभरबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: १६ भाद्र २०८३ १७:५६ मंगलबार





