‘प्रहरी मेरो साथी !’, ‘मुस्कान सहितको प्रहरी सेवा !’, ‘समुदाय–प्रहरी साझेदारीः हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी !’ जनता र प्रहरी बिचको आत्मीय भाबनात्मक सम्बन्ध सुधारका सवालमा यस्ता नाराहरु धेरै बने अनि कार्यान्वयनमा आए । जनताहरु प्रहरीको उपस्थितीमा मात्र पनि सुरक्षाको प्रत्याभूति गर्छन भन्ने सत्य कसैले नकार्न सक्दैन ।
प्रहरी बिनाको समाज कस्तो हुन्छ भन्ने कुरा जेन-जी बिद्रोहको दोस्रो दिन भदौ २४ मा नेपालीले प्रष्ट देखे/भोगेका छौ । ४/५ घण्टा मात्र प्रहरी क्रियाशिल नहुँदा आम नागरिकले कति क्षति बेहोर्नु पर्छ भन्ने छर्लङ्गै भएको छ । राजनीतिले नराम्रोसँग गिजोलेको प्रहरी भित्रको बलियो मानसिकतालाई कमजोर बनाईएको यो समयमा सबैले हौसला दिनु पर्ने जरुरी पनि छ ।
कल्पनासमेत गर्न नसकिने प्रहरी बिनाको समाजमा हामी कदाचित सुरक्षित हुँदैनौ भन्ने सत्य स्थापित भइसकेको छ । प्रहरी भित्रका केही खराबहरुको मानसिकतालाई एउटै डालोमा हालेर हेर्दा अन्याय हुन्छ । तर दु:खका साथ भन्नु पर्छ यतिबेला ‘लागुऔषध’ र सो जन्य ‘अपराधको हब’ बनिरहेको दाङलाई नेपाल प्रहरीले सुधार गर्न कत्ति पनि चासो दिएको छैन । आरोप नमिठो नहोस सत्य यहि हो ।
११ कक्षामा पढ्ने किशोर विद्यालयबाट फर्किन ढिला गरे । आत्तिएका अभिभावकले खोजी गर्दा घर भित्रिएका छोराको मुखबाट मदिराको गन्ध आयो । मध्यम वर्गीय परिवारका उनीहरुलाई ठुलो चोट लागेको अनुभूति भयो । छोरालाई सम्झाए, गाली गरे । त्यस दिनदेखि छोराको मुखबाट मदिराको कुनै गन्ध आएन । ढुक्क अभिभावक एकदिन छाङ्गाबाट खसेझै भए जुनदिन छोराले ड्रग्स खाने गरेको खबर पाए ।
मदिरा खाएको परिवारले थाहा पाएर रिसाएको कारण साथीहरुको सल्लाहमा उनले गन्ध नआउने भएकाले ड्रग्स खान सुरु गरेका रहेछन् । तुलसिपुरको एक मेडिकलमा सहज उपलब्ध हुने ट्रमाडोल नामक ट्याब्लेट खान सुरु गरेका उनी ब्राउन सुगरको लतमा फसेको प्रहरीले पक्राउ गरेपछि थाहा पाए । सरकारी जागिरे अभिभावकले प्रहरीसँगको सल्लाहमा मुद्दा नचलाई छोरालाई सुधार गृह राखेका छन् ।
घोराहीका अर्का एक किशोर साथीको लहलहैमा कुलतमा फसे । राम्रै परिवारका उनी लागुऔषधको प्रयोगमा लागेको शंका पाएका परिवारले प्रमाण भेटाउन सकेनन् । बिस्तारै घरका भाडाकुडा हराउँदै जान थाले पछि दिक्क अभिभावक घरमा रहेको एक्ट्रा ग्यास सिलिन्डर हराए पछि बल्ल खोज्दै जादा छोराले बेचेर लागुऔषध खान सुरु गरेको जानकारी पाए । सम्झाउदा केही नलागे पछि अहिले किशोरलाई एक सुधार गृहमा राखेका छन्।
जिल्लाका टोलटोलमा युवा र किशोरहरु लागु औषध कुलतको दलदलमा फस्न थालेपछि अभिभावक मात्र नभएर सभ्य समाजको चिन्तन गर्नेहरु समेत मानसिक तनाबमा छन् । पछिल्लो समय दाङका ठुलासाना बजारमा दैनिक हुने लागु औषधको कारोवार, सेवन अनि त्यसपछिको अपराधलाई ‘आर्जन’ हुने माध्यम वा कसैको ‘भनसुन’मा अनदेखा गरिएको हो भने कुलतमा फसेका युवाका परिवार र समाजको आशुले सराप्नेछ । दिनदहाडै दाङका चोकगल्लीमा हुने बिभिन्न प्रकारका लागुऔषधको कारोबारको सुईको पाएन भनेर प्रहरीले भन्छ भने त्यो किमार्थ पत्याउन सकिँदैन ।
दाङलाई केन्द्र बनाएर रोल्पा, प्युठान, सल्यान, रुकुम, सुर्खेत, बाके सम्म पुग्ने विभिन्न नामका लागु औषध, औषधी कारोवारी र सेवनकर्ताका बारेमा प्रहरी मौन हुनु डरलाग्लो सन्नाटा हो । त्यति मात्र होइन दाङका केही औषधि पसलबाट गरिने ट्यावलेट (ड्रग्स–ट्रमाडोल) को कारोवारमा प्रहरीसँगै सिंगो समाज मौन हुनु झनै दु:खद् हो ।
पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी जिल्लामा लागु औषधको दुर्व्यसनी भित्रभित्रै ब्यापक रहेको बताउछन् । ‘सतहमा भन्दा भित्राभित्रै बढि रहेको छ । अभिभावकलाई समेत थाहा हुँदैन । घर भित्र बसेर पनि प्रयोग गरिरहेका छन् ।’
सुवेदीले दाङ प्रहरीले चासो नदिएको भन्न नमिल्ने भन्दै कारोबारी समात्न नसक्दा समस्या बल्झिएको बताउँछन् । ‘दाङमा मात्रै एक दर्जनभन्दा बढि सुधार गृह रहनु यसको प्रमाण हो ।’
जनशक्तिका अभावले लागुऔषधका विषयमा मिडियाले भित्र सम्म पुगेर लेख्न नसकेको स्वीकार गरे ।
पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष दुर्गालाल केसी अन्य जिल्लाको केन्द्र भएकाले ट्रान्जिट प्वाईन्ट दाङ रहेको प्रहरीले नै स्वीकार गरेको बताउछन् । ‘लागु औषध कारोवार र प्रयोगकर्ता बढि रहेको संकेत छ । संचार माध्यममा पक्राउको रिपोटिङ आउँछ तर त्यही विषयमा खोज मुलक रिपोटिङ हुन सकेको छैन । प्रहरीले नै खोजी गर्न नसकेको अबस्थामा पत्रकारले रिपोटिङ गर्न पनि कठिन हुन्छ ।’
पत्रकार महासंघ पूर्वकेन्द्रीय सदस्य तथा दाङका पत्रकार अजय दिप शर्मा लागुऔषध प्रयोगकर्ता र कारोवारी बढिरहेको बताउछन् । ‘स्कुल कलेजमा समेत समस्या छ । टिनएजर बढि प्रयोगकर्ता छन् । प्रहरीलाई सोध्दा नियन्त्रणमा लागिरहेका छौ भन्छन् तर पनि दुर्व्यसनी बढिरहेको छ ।’
उनले नियन्त्रणको पाटोमा प्रहरीको भुमिका प्रयाप्त नभएको बताए । ‘सामाजिक क्षेत्रमा काम गरिरहेका छौ भन्नेहरु यो विषयमा आफैँ सचेत भएको देखिँदैन । यो विषयमा रिपोटिङ भएपनि खोज भएको छैन । जनचेतना फैलाउने र गहिरिएर विस्तृत अध्ययन गरिएको पाइँदैन ।’
दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले घोराही तुलसिपुरमा कारोबारी र प्रयोगकर्ता बढि रहेको बताए । कारोबारी र प्रयोगकर्ता बढिरहेको स्वीकार गर्दै उनले भने ‘हरेक हप्ता पक्राउ गर्ने कारबाही गर्ने गरिरहेका छौँ । भारतबाट आउने ‘ब्राउन सुगर’को प्रयोग बढि भईरहेको छ । गत आर्थिक वर्षमा १ सय भन्दा बढि मुद्दा चलाएका छौँ । ट्रमाडोल जस्ता औषधि पनि प्रयोग हुन्छन् ।’ उनले पुराना पक्राउ गर्दै जाँदा नयाँ मान्छे कारोबारमा आउने गरेको बताए ।
समग्रतामा यतिबेला धेरै दङ्गालीका घरमा प्रेमको बत्ति निभेको छ । सन्तान ड्रग्सले लठ्ठिएर बास बस्न आउँदै गर्दा अभिभावक रातभर अध्यारोमा तड्पिनुको विकल्प छैन । एउटा ड्रग्स यूजरले आफूसँगै परिवार र समाजलाई चोट दिईरहेको हुन्छ । शारीरिकसँगै मानसिक समस्याले गिजोल्ने यस्ता समस्यामा किशोरकिशोरी र युवायुवती दुर्व्यसनीमा फस्दै जाँदा टुलुटुलु रमिता हेर्ने समाजका सबैले आआफ्नो भूमिका निर्वाह गर्न सकेमात्र युवालाई दुर्व्यसनीबाट जोगाउन सकिन्छ ।
प्रकाशित: ३० आश्विन २०८२ १४:४१ बिहीबार





