जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको असोजदेखि मंसिर अन्त्यसम्मको प्रगति विवरण सार्वजनिक गर्दै सो अवधिमा ३२३ वटा मुद्दा दर्ता भएको जनाएको छ । मुद्दासम्बन्धी अनुसन्धान तथा कारबाहीक्रममा ४७६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यातायात व्यवस्थापनतर्फ ४० लाख ४० हजार रुपैयाँ बराबरको ट्राफिक राजस्व संकलन भएको छ ।
हराएका सामग्री फेला पार्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको बाँके प्रहरीले जनाएको छ । सोही अवधिमा हराएका ४५ थान मोबाइल फेला पारी सम्बन्धितलाई बुझाइएका छन् । त्यस्तै ६ वटा हराएका मोटरसाइकल समेत फेला पारेको विवरण प्रहरीले सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिइँदै ६२ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको र ती मुद्दामा संलग्न ८३ जना पुरुष तथा ६ जना महिलासहित ८९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्राकृतिक स्रोत साधनको संरक्षण तथा अवैध उत्खनन नियन्त्रणतर्फ पनि कारबाही गरिएको छ । अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने विरुद्ध सञ्चालन गरिएको कारबाहीबाट एक लाख ७० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । अवैध पशुपन्छी कारोबार नियन्त्रणतर्फ एक लाख ६ हजार ७२५ रुपैयाँ बराबरको कारबाही गरिएको छ भने एक करोड आठ लाख ८४ हजार ९६८ रुपैयाँ बराबरको अवैध मालसामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ठाडो उजुरी व्यवस्थापनतर्फ प्रहरी कार्यालयले ४०९ वटा निवेदन प्राप्त गरेको र तीमध्ये १४१ वटा उजुरी मिलापत्रमार्फत समाधान गरिएको जनाएको छ । यस्तै अदालतबाट फैसला भई फरार रहेका अभियुक्तलाई नियन्त्रणमा लिने अभियान अन्तर्गत १२१ जनालाई पक्राउ गरिएको छ । अदालती जरिवाना संकलनतर्फ ९६ लाख ७५ हजार ७४ रुपैयाँ असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी अंजुर जिसीले सार्वजनिक प्रगति विवरणबारे जानकारी दिँदै अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा र कानून कार्यान्वयनका क्षेत्रमा बाँके प्रहरीले जिम्मेवारीपूर्वक काम गरिरहेको बताए । ‘समुदायको सहयोगका कारण धेरै संवेदनशील मुद्दामा निष्पक्ष अनुसन्धान गर्न सहज भएको छ । अपराध नियन्त्रण, लागुऔषध रोकथाम, सडक सुरक्षा तथा सुशासन कायम राख्न प्रहरी निरन्तर प्रतिबद्ध छ,’ एसपी जिसीले भने । उनले आगामी दिनमा पनि कानून पालना गराउने कामसँगै जनताप्रति उत्तरदायी र सेवामुखी प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाइने बताए ।
प्रकाशित: १९ पुस २०८२ १८:२० शनिबार





