३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन्।

उनले पहिले राष्ट्रिय तथा प्रतिनिधि सभाको समानुपाति उम्मेदवार टुंग्याउनु पर्ने बताए। कोइरालाले भने, 'अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेदवार टुंग्याउनु पर्नेछ। यस कारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुन्छ।'

उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन्। यसरी बोलाउँदा एकताको सन्देश पनि जाने उनको भनाइ छ।

कोइरालाले आफ्नो निजी सचिवालयमा पार्टीका ३० जनाभन्दा बढी केन्द्रीय सदस्यहरूको समूहसँग छलफल गरेका थिए। उक्त भेटघाटमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसका लागिपरेका समेत बताए।

सोही क्रममा उनले नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने जिकिर गरे। गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई/चार सिट बढी आउँला तर समानुपातिका मत घट्ने र कांग्रेसलाई दीर्घकालीन हानी हुने उनको भनाइ छ। आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनावमा जानु पर्ने कुरामा आफू स्पष्ट भएको दोहोर्‍याए।

उक्त भेटमा ३० जान केन्द्रीय सदस्यहरूको समूहको तर्फबाट बोल्दै केन्द्रीय सदस्य पुष्पा भुषालले आफूहरू पार्टीभित्र देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरूसँग भेट गरेको बताइन्। उनले आफूहरू कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाए समाधानका लागि सबैसँग पहल गरिरहेको बताइन्। उनले मध्यमार्गी बाटो पहिल्याउन डा. कोइरालालाई आग्रह समेत गरिन्।

अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रूपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्ने जोड दिएका थिए। पार्टीको संस्थापन र विशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरमा विवादमा फस्दै गएको उनीहरूले बताएका थिए।

छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायत रहेका थिए।

प्रकाशित: २२ पुस २०८२ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App