सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ एकजना सव-इन्जिनियरको गोली प्रहार गरी हत्या गरिएको छ।
मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सिरहाको सुखीपुर निवासी यादव मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका थिए। आइतबार साँझ उनलाई अपरिचित व्यक्तिहरूले घरबाहिर बोलाएर गोली प्रहार गरेका थिए। यादवको देब्रे छातीमा गोली लागेको थियो।
गोली प्रहारबाट गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए।
घटनापछि सर्लाही प्रहरीले दोषीको खोजी कार्यलाई तीव्र पारेको छ। सदरमुकाम मलंगवाका विभिन्न नाकाहरूमा सुरक्षा जाँच कडा पारिएको छ भने शंकास्पद क्षेत्रहरूमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
‘सव-इन्जिनियर यादवमाथि किन र कसले गोली प्रहार गर्यो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको छ,’ डीएसपी राईले भने, ‘अहिले हामीले घटनास्थललाई नियन्त्रणमा लिएर अपराधीको खोजी गरिरहेका छौं।’
प्रकाशित: ३ फाल्गुन २०८२ २२:२९ आइतबार





