१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

अपेक्षा अनुसार खरो उत्रिन चुक्यो नेपाली टोली

धेरै आशा र अपेक्षाको भारी बोकेको नेपाली टोली भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपको तीन खेलमा हारपछि निराशाजनक प्रदर्शनसहित घर फर्कने तयारीमा छ।

समूह ‘सी’ को तेस्रो खेलमा नेपाली टोली आइतबार वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो। यसअघि भएका दुइटा खेल पनि नेपालले हारेको थियो। अब नेपालले चौथो खेल स्कटल्यान्डसँग खेल्नेछ।

सन् २०१४ मा डेब्यु गरेको नेपालले तीन विश्वकप खेलिसकेको छ। यसपालि दर्शकले नेपाली टोलीबाट धेरै अपेक्षा थिए । तर अपेक्षा र आशाअनुरूपको नतिजा आएन। नेपाली टोलीका सबैभन्दा वरिष्ठ खेलाडी सोमपाल कामीले वेस्ट इन्डिजविरुद्ध खेल्ने अवसर पाए।

योसँगै उनी तीन वटा विश्वकप खेल्ने पहिलो नेपाली क्रिकेटर भएका छन्। जारी शृंखलाको यसअघिका दुई खेलमा उनले अवसर पाएका थिएनन्। उनी सहभागी खेलमा पनि नेपाली टोलीले खराब प्रदर्शन गर्‍यो र सहजै हार बेहोर्‍यो।

यो खेलपछि नेपालले विश्व मञ्चमा आफ्नो छवि र शाख पनि जोगाउन सकेन । जुन सन् २०२४ को विश्वकपदेखि नेपाली टोलीले कमाएको थियो । हारपछि सोमपालले पनि पछिल्लो समय आफ्नो टोलीले राम्रो गर्न नसकेको स्वीकार गरे।

‘इङ्ल्यान्डसँगको खेलमा हामी उत्कृष्ट थियौं। त्यो खेलपछि राम्रो खेल्न सकेनौं। विश्व क्रिकेटको यो मञ्चमा खराब प्रदर्शन गर्ने टोली पराजित हुन्छ। एक टिमका रूपमा हामी राम्रो थिएनौं। त्यसैले खराब नतिजा बेहोर्‍यौं, ’सोमपालले भने, ‘राम्रो खेलेनौं भनेर हाम्रो टिमलाई थाहा छ। आगामी खेलमा राम्रो गर्नेछौं । देशले गर्व गर्न लायक बन्नेछौं ।’ इटालीसँगको हारपछि नेपाली टोलीमाथि धेरै आलोचना भयो। विश्व क्रिकेटमा कुनै इतिहास थिएन इटालीको।

दक्षिण अफ्रिका, अस्ट्रेलिया र श्रीलंकाजस्ता देशबाट खेलाडी बटुलेर इटालीको टोली बनेको हो। जसको नाता इटालीसँग जोडिएको मात्र थियो। तर, तीमध्ये केही खेलाडी त इटाली गएका पनि थिएनन्। यस्तो टोली एकताबद्ध हुन कठिन हुन्छ। जसको ठूला समर्थक र सरकारी सहयोग पनि छैन। इटालीका खेलाडीको नियमित काम क्रिकेट पनि होइन।

उनीहरू क्रिकेट खेल्न विभिन्न रेस्टुरेन्टमा काम गर्ने गर्छन्। यद्यपि, ती खेलाडी सम्मिलित इटालीले डेब्यु विश्वकपमै आफूलाई प्रमाणित गर्‍यो। एसोसिएट क्रिकेटमा बलियो मानिएको नेपाललाई हराउँदै सनसनी मच्चायो । नेपालमाथि भइरहेको प्रशंसा पनि आफूतिर तान्यो। नेपाली क्रिकेटको कथा भने गर्विलो छ। पछिल्ला समय नेपाली क्रिकेटर देशको खेलकुदमा सबैभन्दा धेरै कमाउने खेलाडीमा पर्छन्।

साथै, एसियन गेम्स र कुनै पनि अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पदक विजेता खेलाडीभन्दा पनि नेपाली क्रिकेटर धेरै चर्चाको शिखरमा छन्। धेरै समर्थकले पनि पदक विजेताभन्दा क्रिकेटरलाई नै पछ्याउँछन्।

देशको सरकार, राजनीतिज्ञ र ठूलो सेलिब्रेटीले पनि नेपाली क्रिकेटरकै गुनगान गाउँछन्। खेलाडीले पाउने यस किसिमको प्रशंसा सुखद पक्ष हो। समग्रमा हेर्ने हो भने नेपाली क्रिकेटरले जति नेपाली खेलकुदमा कसैले पनि पाएका छैनन्। तर, त्यसअनुरूप नतिजा भने आउन सकेको छैन। अझ स्पष्ट भन्दा अहिलेसम्म नेपाली क्रिकेटले आफूलाई प्रमाणित गर्न सकेन भन्दा पनि फरक पर्दैन। धेरै आशा र भरोसासहित नेपाल यस दसौं संस्करणका लागि छिमेकी राष्ट्र भारतमा आएको थियो।

दुई विश्वकप खेलिसकेको नेपालले यस संस्करणमा उत्साहजनक नतिजा दिने अपेक्षा र आशा थिए। पछिल्लो संस्करण (२०२४) मा राम्रो प्रदर्शन, सेप्टेम्बरमा वेस्ट इन्डिजसँगको शृंखलामा जित र छिमेकी राष्ट्रमा क्रिकेट हुनुले नेपाली समर्थकमा यस विश्वकपलाई लिएर धेरै आशा थियो।

नेपालले खेलेको पहिलो खेलमा १९ हजार, दोस्रो खेलमा १३ हजार र तेस्रो खेलमा १९ हजारभन्दा बढी समर्थक वाङ्खेडे रंगशालामा उपस्थित थिए।

हरेक खेलका ९९ प्रतिशत दर्शक नेपाली समर्थक हुन्। नेपाली क्रिकेटप्रतिको लगाव र प्रेमले विश्वका विभिन्न राष्ट्रमा कर्मभूमि बनाएका नेपाली वाङ्खेडे पुगेका थिए। नेपालले खेल हार्ने पक्कापक्की हुँदासम्म पनि ती समर्थक खेलाडीलाई हौसला बढाउन मैदान छाडेर जाँदैनन्। तर, समर्थक र देशवासीको विश्वासअनुरूप नेपाली टोलीले नतिजा दिन सकिरहेको छैन।

उल्टै विश्व क्रिकेट मञ्चमा बनाएको छविमा कमी आइरहेको छ। नेपालले पहिलो खेलमा उत्साहजनक प्रदर्शन गरेको थियो। नेपाली टोली दुईपल्टको च्याम्पियन इङ्ल्यान्डसँग ४ रनले पराजित हुन पुग्यो।

यही प्रदर्शनबाट नेपालले चौतर्फी प्रशंसा पनि बटुल्यो। इटालीसँग अप्रत्याशित हार र वेस्ट इन्डिजसँग कमजोर प्रदर्शनपछि नेपालले पाएको प्रशंसा गुमाएको छ। वेस्ट इन्डिजसँगको खेलअघि मुख्य प्रशिक्षक स्टुआर्ट लले नेपाली खेलाडीले खेलको समयमा सामाजिक सञ्जालमा समय बिताउँदा त्यसको प्रभाव परेको प्रतिक्रिया दिएका थिए।

त्यसपछि नेपाली खेलाडीमाथि थप आलोचना भइरहेको छ। सोमपालले त्यसमा सत्यता रहेको उल्लेख गर्दै सामाजिक सञ्जालले प्रदर्शनमा असर पर्ने स्वीकार गरे। देशले तेस्रोपल्ट विश्वकप खेल्ने तय भएपछि नेपाली समर्थकमा धेरै उत्साह र उमङ्ग थियो।

जुन उमङ्ग र जोस नेपालको तीन खेल समाप्त भएपछि नेपाली समर्थकमा कम भएको छ । तीन विश्वकपमा गरेर नेपालले १० खेल खेलिसकेको छ। तर, विश्व क्रिकेट यो ठूलो मञ्चमा नेपालले आफ्नो प्रभाव राख्न सकेको छैन। नेपालले पहिलोपल्ट सन् २०१४ को विश्वकप खेलेको थियो । त्यही विश्वकपमा नेपाली टोलीले हङकङ र अफगानिस्तानलाई हराएको थियो । त्यसयता नेपाल जितविहीन छ।

१० वर्षपछि नेपालले गत संस्करण विश्वकप खेल्यो। त्यसमध्ये चारमध्ये तीन खेलमा नेपाली टोली पराजित भयो । यसपल्ट नेपालले लगातार विश्वकप खेलेको हो। त्यसैले यस संस्करणमा नेपाली टोलीमा सुपर आठसम्म पुग्ने महत्वाकांक्षा थियो। दोस्रो चरणमा पुग्ने त परको कुरा नेपाली टोलीले सन्तोषजनक प्रदर्शन पनि गर्न सकेन।

विश्वकपमा कुल १० खेलमध्ये नेपाली टोलीले सात हार सामना ग¥यो । गत संस्करणमा श्रीलंकासँग वर्षाले एक खेल प्रभावित हुन पुगेको थियो। विश्वकपजस्तो मञ्चबाट नेपाली खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर पाउने गर्छन्।

ठूला फ्रेन्चाइज क्रिकेटको पनि यसमा नजर हुन्छन्। तर, यस्तो मञ्चमा नेपाली खेलाडी देश र आफूलाई पनि प्रमाणित गर्न चुकिरहेका छन्। अब नेपाली टोलीले समूहको अन्तिम खेलमा एसोसिएट राष्ट्र स्कटल्यान्डसँग मंगलबार खेल्दै छ। जुन खेलमा जित निकाल्दै नेपाली टोलीले विश्वकपमा थोरै भए पनि समर्थकलाई खुसी दिने अपेक्षा गरिएको छ।

तेस्रो विश्वकप खेलेका सोमपालका लागि पनि यो ठूलो अवसर हुनेछ।

प्रकाशित: ३ फाल्गुन २०८२ २२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App