जेनजी फ्रन्ट नेपालकी संयोजक रक्षा बमले नेपाली कांग्रेसले नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोज्दै जेनजी आन्दोलनलाई अस्वीकार गरेको आरोप लगाएकी छिन्।
पछिल्लो समय कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा पार्टी दुई खेमामा विभाजित भएको बेला उनले यस्तो आरोप लगाएकी हुन्। बमले भदौ २३ को घटना आकस्मिक नभई लामो समयदेखि जनताले राज्य र राज्य सञ्चालकबाट भोग्नुपरेको बेथिति, अकर्मण्यता र निराशाको विस्फोट भएको दाबी गरेकी छन्।
उनले भदौ २३ मा कांग्रेसभित्रकै नेता कार्यकर्ता पनि परिवर्तनको माग गर्दै सडकमा आएको र परिवर्तनको पक्षमा बोलेको बताएकी छिन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘परिवर्तनका लागि आवाज उठाउँदा जनताका छोराछोरी मारिएका छन्, युवापुस्ता घाइते भएको छ । निराशाको लामो औंसीबाट आशाको जून खोजिरहँदा यथास्थितिवादले देशलाई मास डिप्रेसनतर्फ धकेल्ने खतरा देखिरहेका छौं।’
हेर्नुस् उनको फेसबुक स्टाटस
आदरणीय कांग्रेसीजन,
नियमिततामा ब्रेक त भदौ २३ मै लागेको थियो, जब तपाईंहरूका पार्टीका गृहमन्त्री सम्मिलित सरकारले निहत्था विद्यार्थीमाथि गोली चलाएको थियो। त्यसपछि नेपाली राजनीति नियमितताभन्दा धेरै पर पुगिसकेको छ। र अहिले हामी चुनावको संघारमा छौँ।
भदौ २३ यत्तिकै आएको थिएन। लामो समयदेखि जनताले राज्य र राज्य सञ्चालकहरूबाट जबरजस्ती बेहोर्नुपरेको बेथिति, अकर्मण्यता र निराशाको परिणाम थियो भदौ २३। जनताले तत्कालीन अवस्थामा भोगिरहेको स्वेच्छाचारिताको हिस्सेदार नेपाली कांग्रेस पनि भएकै हो। हामीले त्यो अवस्थाबाट देशलाई निकाल्नका लागि परिवर्तनको माग गरेका थियौँ / छौँ।
यतिखेर तपाईंहरू आफ्नै पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा दुई खेमामा बाँडिनुभएको छ। हामी स्पष्ट छौँ, तपाईंहरू जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद खोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई नै अस्वीकार गरिरहनुभएको छ। भदौ २३ मा कांग्रेसभित्रकै Gen Z साथीहरू पनि परिवर्तनको माग गर्दै सडकमा उत्रिनुभएको थियो। उहाँहरू आज पनि परिवर्तनको पक्षमा बोलिरहनु भएकै छ र तपाईंहरूले त्यो आवाज पनि निस्तेज पार्न खोजेको जस्तो देखिन्छ।
परिवर्तनका लागि आवाज उठाउँदा जनताका छोराछोरीहरू मारिएका छन्। देशको युवापुस्ता घाइते भएको छ। निराशाको लामो औँसीबाट हामीले थोरै आशाको जून खोजिरहँदा, तपाईंहरूको यथास्थितिवादले सिङ्गो देशलाई मास डिप्रेसनमा पुर्याउने खतरा हामी देखिरहेका छौँ। नेकपा एमालेले यो मास डिप्रेसन बाँड्दै हिँडिरहेकै छ। आफ्नै विधानलाई लत्त्याउँदै, फेरि पुरानै नेतृत्वलाई निर्वाचित गरेर एमालेले आफ्नो बाटो रोजिसकेको छ।अब तपाईंहरू पनि त्यही बाटो लाग्दै देशको युवापुस्तालाई धोका दिनुहुन्छ, कि देशको भविष्य कोर्ने सुन्दर बगैँचा निर्माणमा आफ्नो तर्फबाट साथ दिनुहुन्छ।हामी त्यो हेर्न पर्खिरहेका छौँ।
आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक छ, र त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ। तपाईंहरूको आजको यात्राले नै तपाईंहरूको गन्तव्य तय गर्नेछ। याद रहोस्, चुनाव दैलोमै आइपुगेको छ, र यतिखेर मतदाताहरू परिवर्तनको पक्षमा आफ्नो मत खसाल्न तयार छन्।
प्रकाशित: २२ पुस २०८२ १३:४४ मंगलबार



-600x400.jpg)

