मोरङको धनपालथान गाउँपालिका–५ रंगपुर वैरियाकी ७ वर्षीया नाबालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा आफ्नै काकालाई प्रहरीले पक्राउ गरेको छ ।
अक्षय सरदारकी छोरी ७ वर्षीया आत्तिका सरदारको शव शनिबार बिहान ५ बजेतिर घर नजिकै फेला परेको थियो । अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा नाबालिकाको शव घर नजिकै रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा फेला परेको थियो ।
नाबालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा उनकै काका २२ वर्षीय अनिष सरदारलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । बलात्कार गरेर भतिजी हत्याको घटना लुकाउन शव फालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
नाबालिकाको शव भेटिएपछि गरिएको अनुसन्धानमा काकाले जबरजस्ती करणीपछि हत्या गरी स्कुल नजिकै फालेको देखिएको बताउँदै, मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले भनिन्, ‘प्रारम्भिक अनुसन्धानबाट घटना नाबालिकाकै काकाले घटाएको देखिएपछि ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) र हाडनाता करणी सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धानको भइरहेको छ । शवको पोस्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको हुँदा रिपोर्ट आएपछि घटनाका बारे थप जानकारी प्राप्त हुने र अन्य प्रमाण जुटाउने काम भइरहेको छ ।’
घटना भएका बेला वरपर अरु मानिसको ‘मुभमेन्ट’ नदेखिएको र काकासँगै रहेकी नाबालिकाको हत्या भएको पाइएपछि हत्यामा काकाकै संलग्नता रहेको आधारमा प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । सँगै सुतेकी नाबालिका भतिजीलाई घर बाहिर निकालेर बलात्कार गरेको पाइएको छ । बलात्कारको घटना खुल्ने डरले हत्या गरेर शव स्कुल नजिकै फालेर उनी फर्किएर घरमै बसेको बताइएको छ ।
आत्तिकाका बाबुआमाले सन्तान (आत्तिका)लाई हजुरआमाको जिम्मा लगाएर बाहिर गएका बेला घटना भएको हो । नाबालिकाका बाबु अक्षय भारत मनिहारी र आमा माइतीघर गएको बेला घटना भयो । अरु बेला पनि काम परेर बाहिर जाँदा सन्तान (छोरी र छोरा)लाई आमा (हजुरआमा)लाई छाडेर जाने गरेका थिए ।
घटनाको भएका राति काका अनिषले भतिजी र भतिजलाई लिएर अलग्गै घरमा सुतेका थिए । अर्काे घरमा सुतेकी हजुरआमा उठेर नातिनातिना सुतेको घरमा आइन् । ओछ्यानमा हेर्दा नातीलाई मात्रै देखिन् तर, नातिनीलाई देखिनन् । नातिनीलाई नदेखेपछि हल्लाखल्ला गरेपछि गाउँमा बच्चा चोरी भएको हल्ला चल्यो र प्रहरीलाई शनिबार बिहानका राति ३ बजेतिर खबर भयो ।
प्रहरीसहितको टोलीले नाबालिकाको खोजी गर्ने क्रममा हत्या गरेर फालेको अवस्थामा घरदेखि करिब १ सय ५० मिटर पर रहेको स्कुल छेउको बाटोमा शव भेटिएको थियो ।
प्रकाशित: १५ असार २०८२ १९:४७ आइतबार





