३ माघ २०८२ शनिबार
image/svg+xml
अपराध

उदयपुरमा ठूलो परिमाणको गाँजासहित दुई महिला पक्राउ

उदयपुर प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ। प्रहरीले चौदण्डीगढी नगरपालिका-१, रानीटार बजारस्थित एक स्थानीयको घरमा लुकाएर राखिएको अवस्थामा एक हजार किलोभन्दा बढी गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाको संयुक्त टोलीले एक हजार १४३ किलो २७५ ग्राम गाँजा फेला पारेको हो।  

गाँजा राख्ने घरधनी रानीटारकी ४१ वर्षीया रत्नमाया श्रेष्ठ र उनकी छिमेकी ४२ वर्षीया कमला श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले भने, ‘रत्नमायाको घरमा लुकाएर राखिएको ३५ बोरामा प्याक गरिएको गाँजा बरामद भएको छ।’ 

पक्राउ गरिएको गाँजा र दुवै महिलालाई शुक्रबार बिहान सदरमुकाम गाईघाट ल्याइएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए।  

गाँजामाथिको प्रतिबन्ध हटाएर करको दायरामा ल्याई उत्पादन र औद्योगिकीकरण गर्ने विषयमा देशभर बहस भइरहेको छ। चालु वर्षको बजेटमा १ नम्बर प्रदेश सरकारले गाँजामाथिको प्रतिबन्ध हटाएर करको दायरामा ल्याउने नीति पारित गरी कानुन बनाइरहेको बेला गाँजा र संलग्न व्यक्तिहरू पक्राउ पर्ने क्रम बढेको छ।  

पछिल्लो समय जिल्लाको पश्चिम र पूर्वी नाकाबाट गाँजा पक्राउ पर्ने गरेको छ। पश्चिममा कटारी नाका र पूर्वमा बेलका तथा चौदण्डीगढी नाकाबाट लुकाएर बाहिर लैजाने क्रममा गाँजा र संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।

प्रकाशित: १६ जेष्ठ २०८२ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App