२० मंसिर २०८२ शनिबार
image/svg+xml
अपराध

आममाफी पाएका व्यक्तिले गरे पूर्वपत्नीसहित दुई नाबालिकाको बीभत्स हत्या

जघन्य अपराधका अपराधीलाई दिइएको आममाफीको परिणती

१२ वर्षअघि आफ्नै सहोदर दाजुको हत्या गरेर शव टुक्राटुक्रा पारी खोलामा फालेका पाल्पा प्रभासका सुजन कोइरालालाई जिल्ला अदालत रुपन्देहीले २०६९ मै २० वर्ष काराबासको सजाय सुनाएको थियो। अदालतको आदेशपछि सुजन पाल्पा कारागार चलान भए। पाल्पा, सिन्धुली, कास्की कारागारमा उनले ९ वर्ष बिताए। सिन्धुली कारागारमा छँदा उनी जेल तोडेर भागेका पनि थिए।

आफ्नै दाइको हत्यामाआजीवन काराबासको सजाय काटिरहेका तिनै सुजनलाई ९ वर्ष नबित्दै २०७८ को असोज ३ गते तत्कालीन सरकारले चालचलन राम्रो भएको भन्दै आममाफीको नाममा जेलमुक्त गरिदियो। व्यक्ति हत्या जस्तो जघन्य अपराधका अपराधीलाई आममाफीका नाममा दिइएको उन्मुक्तिकै कारण बुधबार बुटवलमा एक महिलासहित दुई नाबालिकाहरूले ज्यान गुमाउनु पर्यो।

आफ्नै सहोदर दाइको हत्या गरेर ९ वर्षमै जेलबाट बाहिर निस्किएका तिनै सुजनले बुधबार बुटवलमा आफ्नी पूर्वपत्नीसहित दुई जना नाबालिकको क्रुर तरिकाले हत्या गरेका हुन्।  

बुटवल उपमहानगरपालिका ११ कालिकानगर मिलीजुलीपथमा रहेको आफ्नै घरमा बुधबार बिहानै सुजनले ३४ वर्षकी दिपा बस्याल र उनका दुई छोरीहरू ७ वर्षकी स्नेहा ढकाल र ४ वर्षकी हिमानी ढकालको बीभत्स हत्या गरेका हुन्।  

दिपा सुजनकी पूर्वपत्नी हुन्। सुजन र दिपाले २०६९ को अशोजमा प्रेम विवाह गरेका थिए। २०६९ कै पुसमा उनले आफ्ना २५ वर्षे माइला दाइ सुदिपको बीभत्स हत्या गरेका थिए। त्यतिबेला उनी २३ वर्षका थिए। सोही मुद्दामा उनी जेल परे। सुजन जेल परेपछि दिपाले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरेकी थिइन्। २०७३ मा उनीहरूको सम्बन्धबिच्छेद भयो।

त्यसपछि दिपाले नवलपुरका शंकर ढकालसँग विवाह गरी घरजम गरेकी हुन्। दिपाका पती शंकर कामका शिलशिलामा युएइमा छन्। स्नेहा र हिमानी दिपा र शंकरका छोरीहरू हुन्।

तिनै नाबालिकासहित दिपालाई आफ्नो घरमा बोलाएर सुजनले हथौडा र चक्कु प्रयोग गरी क्रुर तरिकाले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी इन्द्र रानाले बताए। हत्यामा प्रयोग भएको हथौडा र चक्कु प्रहरीले बरामद गरेको छ। डिएसपी रानाका अनुसार दिपाको टाउकोमा घनले हानेको गहिरो चोट र घाँटी रेटेको अवस्थामा शव फेला परेको हो। दुई नाबालिकाहरूको घाँटी रेटी हत्या गरेको उनले बताए।  

अनुसन्धानमा खटिएका सुरक्षाकर्मीका अनुसार हत्या कतिसम्म क्रुर छ भने बिहानी पखको मस्त निन्द्रामा रहेका नाबालिकाहरूको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ। बिस्तरामै रहेकी आफ्नी पूर्व पत्नीको टाउँकोमा घनले प्रहार गरेर गहिरो चोट लगेपछि उनको पनि घाटी रेटिएको छ।

घटना बुधबार बिहान करिब ४ बजेतिरको भए पनि बिहान ७ बजेतिर बल्ल प्रहरी घटनास्थलमा पुगेको थियो। सुजनलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।  

घरभित्रै तीन जनालाई क्रुर तरिकाले मारेर पनि सुजनले बिहान ६ बजेतिर घरको सरसफाइ गर्ने, छिमेकीसँग केही नभएजस्तो गरी अभिभादन गर्ने गरेको स्थानीयले बताएका छन्। उनका एक जना छिमेकीका अनुसार बिहान घरको पिँढी र वरपर उनले झाडु लगाए, घर नजिकैकी एक जना महिलाई नमस्कार दिदी भन्दै अभिवादन गरे र त्यसपछि भित्र पसे। उनको सामान्य व्यवहार देखेका छिमेकीले बिहान साढे ७ बजेतिर प्रहरी आएर घर घेरा हालेपछि बल्ल आश्चर्यमा परे। ‘बिहानसम्म सामान्य व्यवहार देखाएको व्यक्तिले तीन जनाको बीभत्स हत्या गरेर आफ्नै घरभित्रै शव राखेको रहेछ हामी त छाँगाबाट खसेझै भयौं,’ सुजनको घर नजिकैका छिमेकीले भने।  

बिहान करिब सात बजेतिर सुजनको घरमा भन्साकोठाको मर्मतका लागि भनेर आएका एक जना कार्पेन्टरले बिहान काममा आउँदा घरभित्र हत्या गरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई हत्याबारे जानकारी गराउने कार्पेन्टर भनिएका अर्जुन रञ्जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि छोडेको छ।  

सुजनले प्रहरीसँग पूर्वपत्नी दिपासँग पछिल्लो एक वर्षदेखि सम्पर्कमा रहेको र दिपा आफ्नो घरमा आउजाउ गर्ने गरेको बयान दिएका छन्। सुजनका छिमेकीहरू पनि केही महिनादेखि एक जना महिला मुखमा मास्क र क्याप लगाएर सुजनसँग बाइकमा आउने र केही बेर बसेर निस्कने गरेको बताउँछन्।

मंगलबार पनि दिपा र उनका दुई छोरीहरू सुजनसंगै बुटवल नजिकैको पार्कमा घुम्न गएको र साँझ सुजनकै घरमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दिपाको घर पूर्वी नवलपरासीको कावासोती भए पनि उनी पाल्पाको तानसेन नगरपालिका वडा नं. ७ कुनसरेमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनी दुई छोरीसहित पाल्पाको बर्तुङमा रहेको माइतीमै बस्दै आएको बताइएको छ। चाडपर्व, विवाह ब्रतबन्ध जस्ता विशेष अवसर र छुट्टीमा घरमा आउने गरेको नवलपुरमा रहेको उनको परिवारले बताएको छ।  

मंगलबार पनि भान्जीको बिहेका लागि भन्दै उनी पाल्पाबाट बुटवल आएको खुलेको छ। दिपाका जेठाजु केशव ढकालले बुधबार भान्जीको बिहे भएकाले बुटवलमा जमघट हुने भनिए पनि एकाबिहानै बुहारीसहित दुई छोरीहरूको बीभत्स हत्याको खबर सुन्नु पर्दा परिवार ठुलो शोकमा डुबेको बताए। उनले भाइ शंकर कामका शिलशिलामा युएइ रहेको पनि बताए। बुहारी दिपा र छोरीहरू कसरी हत्याराको घरसम्म पुगे र उनीहरूको सम्बन्ध कहिलेदेखि थियो भन्ने बारेमा आफूहरू अनभिज्ञ रहेको बताए।

प्रहरीका अनुसार सुजनले आफूले हतासमा र आवेशमा तीन जनाको हत्या गरेको भनेर बयान दिएका छन्। तर सुजनको व्यवहार र चालचलन देखेका स्थानीयले भने आवेशमा भएको घटना भनेर मान्न तयार छैनन्। ‘आवेशमा घटना घटाएको व्यक्ति त्यति शान्त कसरी हुन्छ, उ हतास मनस्थितिमा हुनुपर्ने हो, तर उसको अनुहारमा डर, त्रास, पश्चाताप केही थिएन,’ ती छिमेकीले भने। 

पाल्पाको तानसेन नगरपालिका वडा नं. ११ प्रभासमा रहेको घरमा उनका बुवाआमा बस्थे। सोही पुर्ख्यौली घरमा सुजनले १२ वर्षअघि आफ्नो सहोदर दाइ सुदिपको हत्या गरेका थिए। त्यतिबेला पनि उनले हत्यामा घन र चक्कुको प्रयोग गरेको प्रहरीको अनुसन्धान रिपोर्टले देखाउँछ। त्यतिबेला पाल्पाको प्रभासमा रहेको घरको कोठामा दाइको हत्या गरेर शव टुक्राटुक्रा परी पाल्पा–बुटवल सडकको केराबारीमा भिरबाट फालिदिएका थिए। तन्ना र सिरकको खोलमा पोको पारेको शव बोरामा बाँधेर भिरबाट खसालेको अवस्थामा प्रहरीले फेला परेको थियो।  

संविधान दिवसको अवसर पारेर चालचलन राम्रो भनिएकालाई आममाफी दिने प्रचलन रहे पनि सुजनको केशमा चालचलन संगै राजनीतिक सिफारिस पनि मुख्य रहेको स्थानीय बताउँछन्। ‘व्यक्ति हत्या जस्तो जघन्य अपराधका अपराधीलाई आममाफी दिनु गलत हो भन्ने कुरामा न सरकार गम्भीर देखिन्छ न राजनीतिक पार्टी र प्रशासकहरू। एक जना अपराधीलाई उन्मुक्ति दिइँदा एउटी आमा संगै दुई जना अबोध बालिकाले अनाहकमा आज ज्यान गुमाउनु पर्यो,’ ती स्थानीयले भने।

प्रकाशित: १४ जेष्ठ २०८२ २०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App