इलाममा एक युवकको हत्या भएको छ दिनभित्र अर्का व्यक्तिको पनि हत्या भएको छ। इलामको सूर्याेदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षे धनराज राईको हत्या भएको हो।
प्रहरीका अनुसार उनको शव सोमबार उनकै घरको भुइँतल्लाको बीचको कोठामा भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायत फेला परेको जानकारी दिए।
जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले कर्तव्य गरी मारेको अवस्थामा शव भेटिएको बताए। घटनापछि खोजतलास गर्दा प्रहरीले छ जनालाई पक्रेको छ।
त्यही ठेगानका २९ वर्षे एडवड राई, २६ वर्षीया मालती तामाङ राई, २४ वर्षे नवीनकुमार राई, २६ वर्षे निसान राई, २० वर्षे राजीव राई र २३ वर्षे दिवस राईलाई पक्रेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ सबैलाई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। गत बिहीबार पनि इलाम नगरपालिका–९ का मिलन सुनुवारको आफ्नै साथीबाट हत्या भएको थियो।
प्रकाशित: २९ माघ २०८१ २१:०६ मंगलबार



-600x400.jpg)

