८ वैशाख २०८१ शनिबार
भिडियो

ठेकेदारको लापरबाहीले अलपत्र हुलाकी राजमार्गको गागन पुल

सहरसँग गाउँको द्रुत सम्पर्क बनाउन ०६६ सालमा हुलाकी सडक अन्र्तगत गागन नदीमा पुल शिलान्यास भयो। पुल बन्ने भएपछि सीमावर्ती गाउँदेखी राजमार्गको सहरसम्मका जनतामा खुसीको लहर चल्यो।

मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माण हुनुपर्ने यो पुल वर्षौंसम्म ‘होल्ड’ हुँदा यसको प्रत्यक्ष मारमा यहाँका जनता परेको छन्।  

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहा खण्डको औरही र दरहैया गाउँको बीचमा पर्ने गागन पुल नबन्दा स्थानीय सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन्। सम्झौता भएको अढाई वर्ष बित्दासमेत पिल्लर मात्र ठड्याइएको र खोलाको दुवैतिर ड्याम बाँधिएकाले खोला गहिरो भएर बग्दा करिब तीन फिटसम्म पानीमा हेलिएर ओहोर–दोहोर गर्न बाध्य भएको सर्वसाधारणको गुनासो छ।  

हिराचन रोशन जेबीमार्फत रोशन कन्ट्रक्सनले निर्माण गरिरहेको पुल  २०७९ साउन १५ भित्र निर्माण सकिने गरी २०७६ माघ ८ मा सम्झौता भएको थियो। सुस्त गतिमा पुल निर्माणको काम भइरहेकाले गाउँपालिका केन्द्र र जिल्ला सदरमुकाम ओहोरदोहोर गर्न समस्या भइरहेको स्थानीय परमेश्वर यादव बताउँछन्। ठेकेदार कम्पनीको कारणले पुल निर्माण ढिलो हुँदै जाँदा बर्खामा सर्वसाधारण जोखिम मोलेर गागन वारपार गर्न बाध्य छौं।  

हुलाकी सडकअन्तर्गत सिराहा खण्डमा पर्ने पूर्व बलानदेखि पश्चिम कमला नदीसम्मका प्रायः सबै ठाउँका सडकमा कालोपत्र सकिए पनि गागनमा पुल निर्माण नहुँदा हुलाकी सडक हुँदै दैनिक ओहोरदोहोर गर्ने सर्वसाधारण दिक्कलाग्दो यात्रा गर्न बाध्य छन्।  

तीन दशकअघि औरही गाउँको पूर्वपट्टिबाट बग्ने गागनमा पुल निर्माण गरेको डेड दशकपछि आएको बाढीले पुलदेखि करिब तीन सय ५० मिटर उत्तरतिर बाँध भत्काएर खोलाले धार परिवर्तन गरेको थियो।  

खोला बाँध भत्काएर पुरानो पुलभन्दा दुई सय मिटर पूर्वबाट बग्न थालेपछि स्थानीय पानीमा हेलिएर आवतजावत गर्न बाध्य छन्। हिउँदमा बालुवा छिचोलेर यात्रा गर्ने यस भेगका मानिसका लागि वर्खाको यात्रा कष्टकर हुन्छ। बर्खामा मोटरसाइकल, साइकल वारपार गराउन पिरोलिन्छन् स्थानीय।

पुलमाथिबाट नदी तर्ने सपना सजाएका धेरैको सपना अधुरै रह्यो। कति त संसार छाडेर गए। स्थानीय दुर्गानन्द साह भन्छन्, गागन खोला तरेर बाँचेका हाम्रो पुलमाथिबाट नदी तर्ने सपना कहिले पूरा हुने हो ठेगान छैन्। वर्खामा यात्रा गर्नुपर्दा ज्यानै दाउमा लगाए नदी तर्ने गरेको उनले बताए। पुल बनिदए यात्रा मात्र सहज हुँदैन यो क्षेत्रको समृद्धि र विकासमा समेत बल पुग्छ।

प्रकाशित: ५ भाद्र २०७९ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App