७ वैशाख २०८१ शुक्रबार
भिडियो

स्नेहालाई सधैं कुकुर तिहार

कुकुरले मालिकप्रति देखाएको बफादारिताका मधुर दृश्य धेरै देखिएकै हो। जब मान्छे कुकुरप्रति बफादार बन्छ त्यो दृश्य झनै सुन्दर र मनमोहक देखिन्छ। यस्तै दृश्य देखियो, ललितपुरको नख्खुस्थित बाग्मती किनारमा रहेको स्नेहाज केयरमा। सडकबाट घाइते अवस्थामा उद्धार गरिएका कुकुरहरु सामूहिकरुपमा रमाउँदै गरेको दृश्यले त्यहाँ पुग्नेको मन खुसीले फुरुगं हुन्छ।

कोही गाडीले हानेर प्यारालाईज भएका, कोही खुट्टा काटिएका। कोही कान नभएका त कोही घाउनै घाउ भएका। विभिन्न थरीका झण्डै १ सय ७० कुकुरलाई स्याहार्दे आएकी छिन् स्नेहाले। सन् २०१५ मा उनले कुकुरप्रति देखाएको बफादारिताले अहिले सयाैं कुकुरहरुले नयाँ जीवन पाइरहेका छन्।

‘कुकुरले गर्ने मायाभन्दा कुकुरलाई गरिने मायाले निकै खुसी दिदो रहेछ,’ कुकुर तिहारको केही दिन अगाडि कुराकानीको क्रममा स्नेहाले भनिन्,‘ माया गर्नेलाई सधैं कुकुर तिहार।’ हुन पनि हो, जब उनी कुकुरको आश्रयस्थलमा छिर्छिन्, तब कुकुरको भिड उनीतिर रमाएर पुग्छन्। उनलाई अंगालो हाल्छन्। पुछ्चर हल्लाउँदै उनको छेउमा रमाउँछन्।

‘घरमा पालेको कुकुरबाट पलाएको माया अहिले सबैतिरका कुकुरमा बाडिएको छ,‘ उनले भनिन्, ‘माया गर्नेले आफ्नो मात्र हैन, दुनियाको सबै कुकुरलाई माया गर्छन्।’ आफूले घरमा पालेका कुकुर दुर्घटनाका कारण गुमेपछि उनले सबै कुकुरलाई आफ्नै ठान्न थालेको सुनाइन्।

कुकुरको  स्याहार गर्ने क्रममा उनले मानिसको क्रुर स्वभाव समेत देख्न पुगिन्। आश्रयस्थलमा गाडीले किचेका मात्र हैन, अलकत्राले पोलिएका, चुप्पिले काटिएका र लौरोले ढाड भाचिएका कुकुर समेत  ल्याउने गरेको उनले सुनाइन्। ‘मान्छेहरुले  रमाइलो लागि पनि कुकुरलाई पिट्ने गरेको पाए,’ उनले भनिन्, ‘यो निकै दुखदायी अवस्था हो।’

आश्रयस्थलमा रहेका १ सय ७० कुकुरका त्यति नै थरि नाम रहेका छन्। काले, खैरे र गोरेले मात्र नभ्याएपछि मिरा, एश्वर्या लगायतका नाम समेत  राखेको उनले सुनाइन्। ‘निलो आँखा भएकीलाई एश्वर्या,’ उनले हाँस्दै भनिन्, ‘धेरै दौडिनेको चाहि मिरा।’

डाक्टरको गाडीले किचेको कुकुरको नाम  डाक्टरनै राखेको समेत उनले सुनाइन्। ‘चार वर्ष अगाडि डाक्टरको रिसले कुकुरको नामनै डाक्टर राखे,’ उनले भनिन्, ‘अहिले त्यो डाक्टरप्रतिको रिस चाहि मर्यो, बरु कुकुर डाक्टरप्रति चाहि माया बढेको छ।’

आश्रयस्थलमा रहेका कुकुरहरुको स्याहारको लागि चिकित्सकसहितको टोली कार्यरत छन्। गंभिर अवस्थाका कुकुरसमेत यहाँ आएपछि निको भएका छन्। यहाँ जटिल सल्यक्रिया समेत गर्ने गरिन्छ। त्यसका लागि चाहिने रगतको लागि पनि स्वस्थयकर कुकर पालिएका छन्। ‘यहाँ आएपछि कुकुरले नयाँ जीवन पाउँछन्,’ स्नेहा सुनाउँछिन्, ‘यसले हामीलाई थप नयाँ उर्जा दिन्छ।’

पशु अधिकारकर्मीहरू सडकमा आश्रति कुकुरहरूको कल्याणमा सरकारबाट पर्याप्त पहल नभएको बताउँछन्। काठमाडौ उपत्यकामा मात्र करिब १ लाख सामुदायीक कुकुर रहेको अनुमान छ। ‘कुकुरमाथि हुने हिंसालाई राज्यले गंभिर रुपमा लिएको छैन,‘ स्नेहा भन्छिन्, ‘जव राज्य कुकरप्रति बफादार बन्छ तव मात्र कुकुर तिहारको सार्थकता रहन्छ।

प्रकाशित: १७ कार्तिक २०७८ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App