१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

देश चिनाउने फिल्म खोई ? (भिडियो)

काठमाडौं- शुक्रबार रिलिज हुने चलचित्र प्रसादमा निश्चल बस्नेत छोटो भूमिकामा छैनन्। छोटो मिठो भूमिकामा देखा पर्दै आएका उनी प्रसादमा 'नेगेटिभ क्यारेक्टर' मा देखिने छन्। 'यो फिल्मको भिलेन हो भन्दा पनि फरक पर्दैन', सोमबार नागरिक नेटवर्कको स्टुडियोमा उनले भने, 'यस्तो भूमिकामा यस अघि काम गरेको थिइन।'

निश्चल कलाकारको भन्दा निर्देशकको रुपमा परिचित छन्।  'सुटिङको क्रममा तपाई भित्रको निर्देशक मन बाहिर आउन खोजेन ?' उनको सहज जवाफ छ, 'मेरो सेटमा म निर्देशक हुन्छ अरु हुँदैन। कलाकारको रुपमा कलाकार नै हुन्छ। फ्लोवरमा गएपछि आफ्नै भूमिका हुन्छ। म कलाकार नै भए।'

मनोरञ्जन दिन नसकेको अवस्थामा धेरै अपेक्षा नगरौं। दुई घण्टा रमाइलो त हुन सकेको छैन भने अरु के अपेक्षा गर्ने? मनोरञ्जन पछि हामी मुद्दामा प्रवेश गरेर फिल्म बनाउँला।

एक चर्चित निर्देशकलाई अभिनय गराउँदा अप्ठेरो भएन ? दिनेश राउतलाई पनि प्रश्न गरें। 'चलचित्रको कथा भन्ने सबैको आफ्नै शैली हुन्छ। निश्चलको एउटा शैली छ मेरो आफ्नै छ। सेटमा आएपछि निर्देशक भन्ने कुरा दुवैले विर्सियौं', मुस्कुराउँदै जवाफ दिए।

निश्चल बस्नेतलाई नेपाली चलचित्रको विद्यमान धारलाई परिवर्तन गरेको श्रेय पनि जान्छ। उनले बनाएको लुट पछि नेपाली दर्शकले नयाँ स्वाद लिन पाए। यता दिनेशले बनाउने प्रेम कथामा आधारित चलचित्रहरु पनि अरुका भन्दा फरक छन्। उनले पछिल्लो पटक मनोविज्ञानमा आधारित पर्व पनि बनाए। अर्थात दुवै जना फरक प्रयोगमा रुची राख्छ। यो पटक यी दुई प्रसादको एउटै सेटमा जमे। 

फरक धारमा चलचित्र बनाएको भन्दै प्रसांसा हुँदा राम्रो लागे पनि त्यसलाई अरुले ब्रेक नगर्दा आफु त्यति खुशी नभएको निश्चल बताउँछन्। 'हुन त संसार भरि नै चलेको धारमा मानिसहरु हिंड्छन् तर तर हम्रोमा धेरै नै यस्तो हुन्छ', उनी भन्छन्,' यहाँ सिनेमा उद्योगको रुपमा विकास भइसकेको पनि छैन। भर्खर जरा हाल्न खोज्दैछ। एउटा फिल्म मेकरले बनाएको फिल्म चल्यो भने सबै त्यसको पछि लाग्छन्। किन भने यो चल्दोरैछ भन्ने हुन्छ। यहाँ पनि त्यो भइरहेको छ।'

स्टोरी चयनमा निर्माता निर्देशकले रिक्स लिन नचाहँदा पनि राम्रो फिल्म आउन नसकेको उनको तर्क छ। 'फिल्म मेकरले किन फिल्म बनाउँदै छु भन्ने सोच्नु पर्छ,' निश्चल भन्छन्, 'फिल्म बनाएर पैसा कमाइदैन। यहाँ डुव्यो भने लगानी पछि पनि पैसा तिर्नु पर्छ।'

नेपाली सिनेमाको दु:ख के हो त ? उनले उत्तर दिए,  'यहाँ काम गर्ने धेरै हुनुहुन्छ तर दक्ष मानिस एकदमै कम हुनुहुन्छ। कथा राम्रो हुन्छ पटकथामा भन्न खोजेको कुरा हराउँछ। यस्तो पटकथा लिएर काम गर्दा विग्रन्छ।' फिल्म धेरै बन्नु समस्या होइन तर राम्रो नबन्नु समस्या भएको उनको बुझाई छ।

बक्स अफिसमा कति ब्यापार गर्यो भन्ने विषयले मात्र सिनेमा हिट र फल्प भएको निर्धारण गर्न नहुने दिनेशको धारणा छ। 'यो आर्ट हो', राम्रो आर्ट नविक्दैमा त्यो फल्प हुँदैन।

फिल्ममा अहिले कति कमायो भन्ने होड चल्ने गरेको छ। एउटा फिल्म आउँछ १६ करोडको विजनेस देखाउँछ। अर्को आउँछ त्यसको ब्रेक लाग्छ। सबैले टपमा जुन छ त्यसलाई देखाउँछन्। छक्का पन्जाले १६ करोड कमाउँदा अरु त्यस्तै खाले फिल्मले २५/३० करोड डुवाइरहेको निश्चलको बुझाइ छ। 'कन्टेनमा जोड नगर्दा यति कमाउँछु भन्ने धुनमा डुविरहेको हुन्छ। यसमा सचेत हुनै पर्छ', निश्चलको धारणा छ।

फिल्म भनेको पैसाको कुरा मात्र नभइ दिमाग र सोचाइको कुरा भएको उनी बताउँछन्। 'मैले सोच्न सक्ने क्षमता भन्दा माथिको फिल्म बनाउन सक्दिन जति सोच्न सक्छु त्यही अनुसारको फिल्म बन्ने हो', उनले भने, 'हामीले अली बढी अध्ययन गर्न जरुरी छ।'

उनी नविन सुव्बाको एउटा भनाइ याद गर्छन्, 'हामी कमजोर छौं हामीले धेरैनै मिहिनेत गर्न जरुरी छ। हामी माथी जाने हो यहाँ भन्दा तल जाने ठाउँ छैन।' उनको बुझाइमा इन्ड्रष्ट्री एउटै सर्किलमा घुमिरहेको छ।

निर्माताहरुले चलचित्र निर्माणको लागत बढाएर किन भन्छन् भन्नेकुरा आफुले अहिलेसम्म बुझ्न नसकेको निश्चल बताउँछन्। '५०/५५ लाख कमाइ हुँदा १ करोड कमाइ भयो भनेर हल्ला हुन्छ अनी केक काटिन्छ।' ए हप्ता दिनमा १ करोड। सबैलाई के लाग्छ सबै फिल्मले पैसा कमाएको छ', दिनेश पनि यो भनाईमा सहमत छन्। कतिपय निर्माताहरु आत्मरतीमा रमाउने गरेको दिनेको बुझाइ छ। 'फिल्म साहित्यको माध्यम हो। यस फिल्डमा आउनेले यसलाई सोच्नु पर्छ। अहिले बनाएर अहिले नै सकिने कुरा होइन। अहिलेको हाम्रो काम हेरेर पछिको पुस्ताले के सिक्ने। यो पनि त सवाल हो', उनी भावी पुस्ताबारे सोच्छन्।

'इरानी फिल्म भने पछि हामीले एउटा धारणा बनाएका छौं। यसले मनमा छुन्छ। प्रजेन्टेसन यस्तो हुन्छ भन्ने सोच्छौं। इरानमा पनि कमर्सियल फिल्म त्यति नै बन्छन् तर हामीलाई ति बारे थाहा छैन। देश चिनाउने उद्योग चिनाउने फरक कुराले हो। बलिउड फिल्मले पनि काम त गरेका छन् तर लो बजेटका फिल्मले पनि सबैको मन छोएकै छन्', निश्चल आफैलाई प्रश्न गर्छन्, 'हामी यहीँ निर किन चुक्यौं। हाम्रा त्यस्ता फिल्म खोई ?'

'अहिलेको पुस्तालाई मनोरञ्जनको कमी छैन। मोवाइल खोल्यो भने सबै एकैछिनमा आउँछ। त्यो भन्दा बेटर हलमा दिन सकिएन भने हमीलाई कसले हेर्ने ?' निश्चलको चिन्ता छ।

चलचित्र विकास वोर्डले यस क्षत्रेको विकासमा भूमिका खेल्न नसकेकोमा निश्चलको असन्तुष्टि छ। आफ्नो काममा भन्दा राजनीतिक नियुक्ति प्रति बफादार हुँदा वोर्ड विग्रिएको उनको बुझाइछ।

सेन्सर वोर्डको भूमिकाले पनि फिल्मकर्मी दिक्क रहेको दिनेश जोड्छन्। के गर्न हुने के नहुने भन्नेबारे कुनै नियम नै नहुँदा समस्या आउने गरेको उनको भनाई छ। १८ वर्ष माथीको सर्टिफिकेट दिएका फिल्म पनि सबैले हेरेको देखिन्छ नियमन खै ? निश्चल प्रश्न गर्छन्। 'विदेशी फिल्ममा आउने शव्द पाच्य हुन्छ। जब आफ्नै भाषामा आउँछ अनी कुरा बिग्रन्छ। आफुले बोल्दा सम्म ठिक हुन्छ। अरुले बोल्दा विग्रन्छ। हाम्रो सेन्सर यस्तै छ', निश्चल भन्छन्। नेपाली फिल्मले मनोरञ्जन दिन सकेमा मात्र धेरै हुने उनी बताउँछन्। 'मनोरञ्जन दिन नसकेको अवस्थामा धेरै अपेक्षा नगरौं। दुई घण्टा रमाइलो त हुन सकेको छैन भने अरु के अपेक्षा गर्ने?', उनी भन्छन्, 'मनोरञ्जन पछि हामी मुद्दामा प्रवेश गरेर फिल्म बनाउँला।'

प्रकाशित: १८ मंसिर २०७५ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App