२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

ड्रोनको प्रयोगबारे निर्देशिका

काठमाडौं- पूर्व स्वीकृतीबिना ड्रोन क्यामराको उपयोग गरी तस्बिर वा भिडियो दृष्य रेकर्ड गरे नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने प्रावधानसहित गृह मन्त्रालयले निर्देशिका बनाएको छ।

व्यक्तिगत प्रयोजनमा ड्रोन क्यामराको प्रयोग भइरहे पनि नेपालमा यससम्बन्धी कुनै कानुनी प्रावधान थिएन। वैशाख १२ को विनाशकारी भूकम्पसँगै स्वदेशी र विदेशी सञ्चारमाध्यम र संस्थाले आफूखुसी ड्रोन क्यामराको प्रयोग गरी तस्बिर र भिडियो लिएपछि सरकारले सञ्चार मन्त्रालयको अनुमति अनिवार्य गरे पनि प्रयोगसम्बन्धी कुनै निश्चित मापदण्ड थिएन।

दुई साताअगाडि सैनिक मुख्यालय परिसरमा ड्रोन क्यामरा प्रयोग गरी तस्बिर र भिडियो लिने २ जना चिनियाँ पत्रकार प्रहरीले पक्राउ गरी चिनियाँ दूतावासमा बुझाएको थियो।

गृह मन्त्रालयले कात्तिकदेखि सचिवस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याएको निर्देशिकालेसूचना तथा सञ्चार मन्त्रालय अथवा उड्डन प्राधिकरणसँग पूर्व स्वीकृति लिएर सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा मात्रै ड्रोन क्यामरा प्रयोग गर्न सक्ने कानुनी व्यवस्था गरेको छ। ड्रोनबाट लिइएका तस्बिर र भिडियोसुरक्षा संगठनलाई अनिवार्य रुपमा बुझाउनुपर्ने समेत निर्देशिकामा उल्लेख छ।

युएभी सञ्चालनसम्बन्धी कार्यविधी–२०७२ अनुसार स्वचालित ड्रोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। निर्देशिकाले धार्मिक र सांस्कृतिक स्थल, सुरक्षाका दृष्टीले संवेदनशील क्षेत्र र हवाई मार्गमा असर पर्नसक्ने क्षेत्रमा ड्रोन उडानमा रोक लगाएको छ।

सुरक्षा निकाय र संवेदनशील क्षेत्रको एक हजार मिटर परिसरभित्र ड्रोन क्यामराको प्रयोग गरे कानुन अनुसार कारबाही हुने गृहले आफ्नो वेभसाइटमा राखेको निर्देशिकामा उल्लेख छ। युएभी प्रयोग गर्दा स्थानीय प्रशासनलाई जानकारी गराई सुरक्षा निकायको रोहबरमा मात्र ड्रोन उडान गर्न दिइने निर्देशिकामा उल्लेख छ।

निर्देशिका अनुसार प्रयोगकर्ताको विस्तृत विवरण सुरक्षा निकायमा पेस गरी उडानपछि प्राप्त सूचना, एरियल फोटो, नक्सालगायत सबै सामग्रि स्थानीय प्रशासन र सुरक्षा निकायमा अनिवार्य पेस गर्नुपर्ने बाध्यकारी वयवस्था राखिएको छ।

'व्यक्तिगत घरजग्गा, सार्वजनिक इलाका, धार्मिक तथा सांस्कृतिक वैभवका क्षेत्र र महत्वपूर्ण पुरातात्विक संवेदनशील क्षेत्र 'नो फ्लाई जोन' तोकिएकाले त्यस्ता क्षेत्रमा ड्रोन क्यामराको प्रयोग निषेधित गरिएको छ,' निर्देशिकामा उल्लेख छ, 'अन्तर्राष्ट्रिय सीमाको पाँच हजार मिटर क्षेत्रमा समेत यस्तो उडान गर्न पाइनेछैन।'

प्रकाशित: १५ कार्तिक २०७२ २०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App