स्मार्ट टेलिकमले मध्यमाञ्चल विकास क्षेत्रको कुनै एक जिल्लाबाट टेलिफोन सञ्चालन गर्ने तयारी गरेको हो। 'मध्यमाञ्चलको ५/७ स्थानमा सेवा सञ्चालन गर्न तयारी गरिरहेका छौं,' स्मार्टका प्रमूख कार्यकारी अधिकृत सुवास बज्राचार्यले भने।
उनले उदघाटनका लागि शुभसाइत हेरिरहेको बताए। स्मार्टले ललितपुरको खुमलटारमा उपकरणहरु जडान गरिसकेको छ। यसले नेपाल टेलिकमको माथिल्लो तहमा रहेर काम गरिसकेका अनुभवी प्राविधिकहरुलाई नियुक्ति गरेको छ।
स्मार्टले सुरुमा भिस्याट प्रविधिबाट टेलिफोन चलाउने तयारी गरेको छ। भिस्याट प्रविधिबाट टेलिफोन नपुगेका स्थानमा सार्वजनिक टेलिफोन वुथ सञ्चालन गरिनेछ। यसले पछि मोबाइल टेलिफोन समेत चलाउने योजना बनाएको छ। यसको लागि जिएसएमको फ्रिक्वेन्सी समेत नेपाल दुरसञ्चार प्राधिकरणले छूट्याइसकेको छ।
स्मार्टले टेलिफोन सेवा उद्घाटनको लागि यतिखेर सञ्चारमन्त्री शंकर पोखरेलसँग समयको मागिरहेको छ। 'मन्त्रीले यो महिना जहिलेको लागि समय दिनुहुन्छ त्यही दिन हामी टेलिफोन उदघाटन गछौं,' बज्राचार्यले भने।
छैंठौ टेलिफोन कम्पनीको रुपमा स्मार्ट टेलिकमलाई प्राधिकरणले १५ महिना अघि लाइसेन्स दिएको थियो। लाइसेन्सको शर्त अनुसार यसले डिसेम्बरभित्र टेलिफोन सञ्चालन गरिसक्नुपर्नेछ।
स्मार्ट टेलिकम सिंगापुर, इजरायल र नेपालको संयुक्त लगानीमा स्थापना भएको कम्पनी हो। यसमा लालसाहु डिस्ट्रिव्युटर सिंगापुरको ७० प्रतिशत, जिलाट स्याटेलाइट इजरायलको १० प्रतिशत र स्क्वायरनेट नेटवर्क नेपालको २० प्रतिशत सेयर छ।
सुरुमा भिस्याट प्रविधिबाट टेलिफोन चलाएपनि यो कम्पनीले जिएसएम र सिडिएमए प्रविधिलाई कुरेको छ। 'भिस्याट प्रविधिको जडान महंगो हुनुका साथै सेवाको गुणस्तर समेत राम्रो नहुने भएकोले मोबाइल टेलिफोनमा जानुको विकल्प छैन,' कम्पनीका अर्का एक वरिष्ठ अधिकारीले भने।
प्राधिकरणले स्मार्टलाई पूर्वाञ्चल विकास क्षेत्र बाहेक टेलिफोन नपुगेको ३ सय ९८ गाउँ विकास समितिमा ग्रामीण दुरसञ्चार चलाउन अनूमति दिएको हो।
स्मार्टले उपभोक्ताले टेलिफोन गर्दा लिन पाउने महसूल स्वीकृतिको लागि प्राधिकरणमा पेश गरेको छ। यो महसूलमा केही पुष्ट्याईहरु नपाएकोले थप विवरण प्राधिकरणले पेश गर्न निर्देशन दिएको छ।
'स्मार्टले महसूल प्रस्ताव पठाएको थियो, तर धेरै कुराहरु अस्पष्ट भएकोले थप्न निर्देशन दिइएको छ,' प्राधिकरण स्रोतले भन्यो। स्मार्टले स्वीकृतिको लागि पेश गरेको महसूल दरको विषयमा धेरै विवरणहरु नभएको भन्दै प्राधिकरणले विवरणहरु मागेको हो।
स्मार्टले प्राधिकरणमा पठाएको प्रस्तावित महसूल दर कून प्रविधिको टेलिफोनको लागि हो भन्ने विषय स्पष्ट छैन। स्मार्टका अधिकारीहरुले भने अहिले पेश गरेको महसूल भिस्याट टेलिफोनकै भएको बताएका छन्। 'हामीले पेश गरेको महसूल नेपाल टेलिकम लगायत प्रतिस्पर्धी टेलिफोन सेवा प्रदायक कम्पनीभन्दा महंगो छैन,' बज्राचार्यले भने।
नेपाल टेलिकम, एसटीएम सञ्चार लगायत भिस्याट टेलिफोन सेवा प्रदायक कम्पनीले भिस्याटबाट कल गर्दा स्थानीय कलको प्रतिमिनेट एक रुपैयाँ मात्र लिन्छन्।
प्रकाशित: ३ कार्तिक २०६६ २१:२४ मंगलबार





