१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

'अनलाइनलाई पनि पत्रकार आचारसंहिता लागू हुन्छ'

काठमाडौं, वैशाख ३- प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले अन्य विधाको पत्रकारितालाई जस्तै अनलाइनलाई पनि विद्यमान पत्रकार आचारसंहिता लागू हुने बताएका छन्।

दक्षिण एसियाली स्वतन्त्र पत्रकार सङ्घ (साफ्मा) नेपालद्वारा सोमबार आयोजित 'अनलाइन पत्रकारितामा पत्रकार आचारसंहिता' विषयक छलफल कार्यक्रममा अध्यक्ष कार्कीले काउन्सिल र नेपाल पत्रकार महासङ्घले जारी गरेको विद्यमान पत्रकार आचारसंहिताको पालना गर्न अनलाइनहरूलाई आग्रह गरे। छिटो छरितो र प्रविधियुक्त भएकाले अनलाइनको भविष्य राम्रो भए पनि यसका सञ्चालक र पत्रकारहरू समाजप्रति जिम्मेवार बन्नुपर्ने उनको धारणा थियो।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले अनलाइनहरूले जे पायो त्यही लेख्छन् भन्ने आरोप उनीहरूले नै व्यवहारबाट खण्डन गर्नुपर्ने भन्दै वर्षमा कम्तीमा २४० दिन काम गर्ने पत्रकारहरूलाई सबै अनलाइनले स्थायी नियुक्ति दिनुपर्ने माग गरे।
कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार युवराज घिमिरेले विश्वप्रसिद्ध 'न्यूजविक' जस्ता पत्रिकाहरू डिजिटलाइज्ड भइसकेको सन्दर्भमा अनलाइन सम्भावना बनिसकेको पत्रकारिता भए पनि नेपालमा यसको कानुनी र सामाजिक आधार बन्न सकिरहेको छैन भने।
अनलाइन खबर डट कमका सम्पादक अरुण बरालले सरकारले हालसम्म यस विधालाई मान्यता नदिए पनि पछिल्लो समयमा सूचना तथा सञ्चार मन्त्रालयले एक कार्यदल बनाइ यसको मापदण्ड र कानुनी हैसियतबारे छलफल चलाएको जानकारी दिए।
कार्यक्रममा साफ्मा नेपालका महासचिव निर्मला शर्माले अनलाइन पत्रकारिता लोकप्रिय हुँदै गएको सन्दर्भमा यसलाई थप विश्वासिलो बनाउन जोड दिए। रासस

प्रकाशित: २ वैशाख २०७० १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App