वासिङटन, माघ १९ (एजेन्सी) - छोटो समयमा सबैभन्दा बढी डाउनलोड भएको मोबाइल गेमको रुपमा एङ्ग्री बर्डसले राखेको रेकर्डलाई टेम्पल रन २ ले तोडेको छ। आइओएस, एन्ड्रोइड र किन्डल डिभाइसहरुका लागि रिलिज भएको मात्र १३ दिनमा यो गेम ५ करोडभन्दा बढी पटक डाउनलोड भइसकेको गेम निर्माता इमान्जी स्टुडियोले जनाएको छ।
आइओएसका लागि टेम्पल रनको नयाँ संस्करणका रुपमा टेम्पल रन २ जनवरी १७ मा रिलिज गरिएको थियो। २४ घण्टाभित्रै यो गेम सबैभन्दा बढी डाउनलोड गरिएको फ्रि एप भएको थियो। चार दिनमा त आइओएसमा मात्रै यो २ करोडभन्दा बढी पटक डाउनलोड भइसकेको थियो।
आइओएसमा रिलिज भएको एक सातापछि यो गेम एन्ड्रोइडमा पनि रिलिज भएको हो।
यसअघि एङ्ग्री बर्डस् स्पेसले रिलिज भएको ३५ औँ दिनमा ५ करोड डाउनलोड पूरा गरेको थियो।
टेम्पल रन २ विभिन्न बाधाहरु पार गर्दै दौड्ने गेम हो। मोबाइललाई दायाँ बायाँ घुमाएर र छोएर यो गेमका पात्रलाई खेलाडीले चलाउनु पर्ने हुन्छ।
प्रकाशित: १९ माघ २०६९ ०४:४५ शुक्रबार





