सिलिकन भ्यालीको चर्चित कम्पनी एप्पलले आइफोन र आइप्याडको अवैधरुपमा कपी गरेको मुद्दा हालेको थियो। क्यालिफोर्नियामा भएको सुनुवाईमा सामसुङले दावी गरेका कुरालाई अस्वीकार गरिएको हो।
प्रविधिसम्बन्धी वेवसाइट सीनेटले सुनुवाईको लाइभ कभरेज गरेको थियो। प्रतिरक्षामा उत्रेको सामसुङलाई जुरीले अस्विकार गरेपछि एप्पलको पक्षमा फैसला भएको हो।
फैसलापछि सामसुङका स्मार्टफोनहरु र ग्यालेक्सी १० ट्ब्लेटहरुमा समेत यसको असर पर्नेछ। यी उत्पादनहरुले आइफोन र आइप्याडका प्याटेन्ट अनधिकृतरुमा प्रयोग गरेको ठहर गरिएको हो।
'एप्पलका लागि यो एकदमै ठूलो जीत हो,' प्याटेन्ट कानुनका प्राध्यापक ब्रायन लभले भने। उनका अनुसार प्याटेन्ट चोरीबापत एप्पलको १.०५१ अर्ब डलरको क्षति भर्पाइ हुनेछ।
प्रविधि विश्लेषक जेफ कगानले भने , 'एप्पलका लागि यो महत्वपूर्ण दिन हो। र, सामसुङले यसको मूल्य आगामी दिनमा चर्कोरुपमा तिर्नुपर्नेछ।'
सामसुङले एप्पललाई रकम तिरेपछि चलाइरहेका प्रविधिहरु यथावत राख्न पाउने या नपाउने भन्ने खुलेको छैन ।
एप्पल गतसातामात्र विश्वको सबैभन्दा धेरै सम्पत्ति भएको कम्पनीको सूचीमा पहिलो स्थानमा उक्लेको थियो। यो कम्पनीले उत्पादन गर्ने आइफोनको आम्दानी माइक्रोसफ्ट कम्पनीको कूल आम्दानीभन्दा धेरै छ।
प्रकाशित: ८ भाद्र २०६९ २३:१८ शुक्रबार





