नेपालमा थ्रीजीको सेट बेच्ने नोकिया, सामसुङ, एलजी र मोटोरोला कम्पनीले टेलिकमसँग आवद्ध भएर थ्रीजी सेट बेच्ने प्रस्ताव पेस गरेका हुन्। 'चारवटा कम्पनीले हाम्रो बन्डलिङ योजनामा सहभागी हुन प्रस्ताव पेस गरेका छन्,' मोबाइल सेवा निर्देशनालय प्रमुख जीवनरत्न शाक्यले भने। योजनामा सहभागी हुने कम्पनीलाई टेलिकमले थ्रीजी सिमकार्ड डेढसय रुपैयाँमा दिनेछ। सेट बिक्रेताले डेढसय रुपैयाँ मात्र लिएर थ्रीजीको सिमकार्ड बेच्नेछन्।
'यसबाट थ्रीजी सेटको बिक्री बढ्ने र सिमकार्ड लिन टेलिकमको काउण्टरसम्म पुग्नु नपर्ने भएकोले दुवै पक्षलाई सजिलो हुनेछ,' टेलिकमका व्यापार प्रबन्धक मधुकानन्द वैद्यले भने।
टेलिकमले प्रिपेड थ्रीजीमा मात्र यो स्किम ल्याएको हो। मोबाइल सेट पसलबाट थ्रीजी किन्दा सिमको लागि मात्र डेढसय रुपैयाँ तिर्नुपर्छ। यसमा ७५ रुपैयाँको कल र एसएमएस गर्न पाइन्छ।
थ्रीजी मोबाइल छिटो इन्टरनेट चल्ने र भिडिओ कुराकानी गर्न सकिने प्रविधि हो। यसमा लाइभ टेलिभिजन कार्यक्रमसमेत हेर्न सकिन्छ। अहिले थ्रीजीको सिमकार्डलाई एक हजार पाँच सय रुपैयाँमा टेलिकमले बिक्री गरिरहेको छ। एक हजार पाँच सय रुपैयाँको सिममा एक हजार रुपैयाँको कुराकानी गर्न सकिन्छ।
टेलिकमले मोबाइल सेटको आधिकारिक बिक्रेतालाई थ्रीजीको सिमकार्ड दिन्छ। व्यापारीले थ्रीजी सेट किन्नेलाई नियम अनुसार फर्म भराएर सिमकार्ड बेच्नुपर्नेछ। सेट बेच्न बसेकाले नै उपभोक्तालाई थ्रीजी चलाउन सिकाउनुपर्ने भएकाले तालिमसमेत दिने तयारी टेलिकमले गरेको छ।
नेपाली बजारमा अहिले एलजीको सबैभन्दा कम मूल्यको थ्रीजी सेट नौ हजार रुपैयाँमा पाइन्छ। सामसुङको सबैभन्दा सस्तो थ्रीजी ११ हजार एक सय ५० रुपैयाँमा पाइन्छ।
थ्रीजी प्रिपेडबाट भिडिओ कुराकानी गर्दा उपभोक्ताले मिनेटको ६ रुपैयाँ २० पैसा तिर्नुपर्छ। थ्रीजी पोस्टपेडबाट भिडिओ कुराकानी गर्दा मिनेटको पाँच रुपैयाँमात्र पर्छ।
थ्रीजी मोबाइललाई प्रवर्द्धन गर्ने उद्देश्यले टेलिकमले सेट व्यापारीसँग सहकार्य गरेर यस्तो स्किम ल्याएको हो। 'दुईसाताभित्र हामी सेट व्यापारीलाई तालिम दिने, फर्म भर्न सिकाउने काम गरेर वितरण सुरु गर्ने योजनामा छौं,' वैद्यले भने।
प्रकाशित: १५ भाद्र २०६७ २३:०६ मंगलबार





