२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

मेयर बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी दिँदै युवा संघ

बालेनले देशको इज्जतमाथि नै धावा उठ्ने गरी अश्लील शब्द प्रयोग गरे : अध्यक्ष थेबे

नेकपा (एमाले)निकट युवा संघ नेपाल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो ‘स्टाटस’मा प्रयोग गरेको अश्लील शब्दविरुद्ध साइबर ब्युरोमा उजुरी दिने भएको छ।

बालेनले गत शनिबार विभिन्न शक्ति राष्ट्र र देशका विभिन्न दलको आलोचनामा प्रयोग गरेको शब्दविरुद्ध आज उजुरी लिएर ब्युरोमा जान लागेको संघका अध्यक्ष क्षितिज थेबेले नागरिकन्युजलाई जानकारी दिए।

बालेनले देशको इज्जतमाथि नै धावा उठ्ने गरी प्रयोग गरेको शब्द र स्टाटसले समाजमा घृणा फैलाएको उनले बताए।

बालेनको यस्तो अश्लील तथा गालीगलौजविरुद्ध कारबाहीका लागि युवा संघले उजुरी दिन लागिएको उनको भनाइ छ। साथै, उक्त स्टाटसमा मित्र राष्ट्रहरूलाई चिढाउने गरी मुख छाडेको प्रति आफूहरूको गम्भीर आपत्‍ति रहेको उनले जनाए।

'बालेनले प्रयोग गरेका शब्दहरूले देशको इज्जतमाथि नै धावा उठ्ने गरी, हाम्रो नेपाली र नेपालको शिर झुक्ने गरी र मित्र राष्ट्रहरूलाई चिढाउने गरी मुख छाडेको प्रति हाम्रो गम्भीर आपत्‍ति छ,' अध्यक्ष थेबेले भने, 'यस खालको प्रवृत्तिले विश्वसामु देशको शिर झुक्छ। यस्तो खालको शब्द प्रयोग गर्न पाइँदैन।'

थेबेका अनुसार संघले आज दिउँसो २ बजे भोटाहिटीस्थित ब्युरोको कार्यालय गएर उजुरी दिने छ।

मेयर बालेनले गत शनिबार राति आफ्नो आधिकारिक फेसबुकमा दलहरू तथा छिमेकीसहित अमेरिकालाई आपत्तिजनक शब्द प्रयोग गरेका थिए। स्टाटस राखेको पोस्ट एक घन्टा नपुग्दै हटाएता पनि हालसम्म चौतर्फी चर्को विरोध भइरहेको छ।

प्रकाशित: २० कार्तिक २०८२ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App