१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपाले भन्यो–पार्टी रिफर्म गर्नुपर्दैन, महाधिवेशन तोकिएको मितिमा असम्भव

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल(डिपी)ले आफ्नो पार्टी रिफर्मको आवश्यकता नभएको बताएका छन्। चितवनमा शुक्रबारबाट सुरु भएको पार्टीको विस्तारित बैठकमा अर्यालले प्रस्तुत गरेको ‘राजनीतिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। 

‘हामी पुराना पार्टीहरू जस्तो पूरै भत्काएर नयाँ ‘रिफर्म’ गर्नुपर्ने अवस्थामा छैनौँ,’ प्रतिवेदनमा भनिएको छ, ‘हामी त पार्टी निर्माणकै क्रममा छौँ।’ 

चौतर्फी रूपमा योजनाबद्ध तरिकाले मूल नेतृत्व सभापति रवि लामिछानेमाथि प्रहार गरी पार्टीलाई नै सकाइदिने योजनालाई बुझ्न सक्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। ‘त्यो योजना बुझ्न सकेनौँ भने हामी पनि हार्छौँ र जनतालाई पनि हराउँछौँ,’ प्रतिवेदनमा उल्लेख छ। त्यसैले अहिले नेतृत्वहरूलाई विस्थापित गर्ने नभई स्थापित गर्ने समय रहेको अर्यालले भनेका छन्। 

पार्टी ‘रिफर्म’ गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्तिलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने कुरा जायज नै रहेको अर्यालले भनेका छन्। ‘उक्त कुरामा शतप्रतिशत सहमत हुँदाहुँदै पनि रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ। 

रास्वपामा पार्टी रिफर्मको विषयमा मूलतः डा. तोसिमा कार्की, गणेश कार्कीलगायतका नेताहरूले उठाइरहेका छन्। जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, ऊर्जा मन्त्री कुलमान घिसिङलगायत केही जेनजी युवालाई समेत भित्र्याएर जानुपर्ने बताउँदै आएका छन्। केही समय सभापतिबाट रविलाई हटाएर ऊर्जा मन्त्री घिसिङलाई नै अध्यक्ष बनाएर जानुपर्ने प्रस्ताव समेत आएको थियो।

यिनै कुराको प्रतिवादसहित कार्यवाहक सभापति अर्यालले प्रतिवेदनमा यो विषय उठाएका छन्। 

‘महाधिवेशन अहिले सकिन्न’ 

कार्यवाहक सभापति अर्यालको प्रतिवेदनमा निर्धारित समयमा पार्टीको महाधिवेशन गर्न नसकिने विषय पनि समेटिएको छ। ‘अप्रत्याशित राजनीतिक परिस्थितिका कारण फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बाध्यता आइलागेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन केन्द्रित अभियानमा जुट्नुपर्ने भएकाले तोकिएको मितिमा महाधिवेशन असम्भवजस्तै देखिएको छ।’ 

त्यसैले, महाधिवेशन गर्ने अर्को मिति यकिन गर्नुपर्ने कुरा उल्लेख छ। ‘तर, फागुनको चुनाव सुनिश्चितताले मात्रै अर्को मिति निर्धारण गर्न सकिन्छ भन्ने लाग्छ,’ प्रतिवेदनमा भनिएको छ। फागुनमा चुनाव भए लगत्तै महाधिवेशन गर्ने योजनामा यस विस्तारित बैठकले केन्द्रीय समितिलाई मूर्त र व्यवहारिक सुझाव दिने अपेक्षा गरेको अर्यालले उल्लेख गरेका छन्। 

यसअघि वैशाख ४ गते बसेको बैठकले फागुन ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। सो निर्णयसँगै असोजसम्म वडा अधिवेशन, कार्तिकसम्ममा पालिका अधिवेशन, मंसिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने भनेको थियो। 

उसो त रास्वपाको महाधिवेशनको मिति तय गरेको र सारिएको यो पहिलो पटक भने होइन। त्यसअघि गत वैशाख २५ देखि २७ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय थियो। 

प्रकाशित: २१ कार्तिक २०८२ २०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App