२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

राज्य असफल भयो, अब जनताको जिउधनको रक्षा एमालेले गर्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनताको जीउधनको सुरक्षा गर्न असफल भएको बताएका छन्।

उनले अब आफ्नो पार्टीले टोल-टोलमा सुरक्षा समिति बनाएर नागरिकको रक्षा गर्ने घोषणा गरेका छन्। उनले देशमा बढेको असुरक्षा र लुटपाटको घटना रोक्न एमालेले नै अग्रसरता लिनुपर्ने अवस्था आएको बताए।

भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा पार्टीका नेता–कार्यकर्तासँगको भेटमा अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।

‘राज्यले अहिले जनताको जिउधनको रक्षा गर्न सकेन,’ ओलीले भने, ‘अब उप्रान्त नेकपा एमालेले जनताको जिउधनको रक्षा गर्छ।’

उनले देशैभरि तत्काल टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिँदै ती समितिहरू स्वायत्त र स्वचालित हुने बताए।

‘यो बिना ढिलाइ हामीले निर्देशन गरिसक्या छौं, अब यो साथीहरूले बनाउनुपर्छ टोल सुरक्षा समिति,’ उनले भने, ‘त्यो टोल सुरक्षा समितिहरू स्वचालित हुन्छ।’

जेन-जी आन्दोलनमा भएका आगजनी र तोडफोडका घटनालाई लक्षित गर्दै ओलीले समाजमा घृणा फैलाएर मानिसलाई ‘राक्षस’ मा परिणत गरेपछि यस्ता घटना भएको टिप्पणी गरे।

‘जब मान्छेलाई राक्षस बनाइयो, अनि आगो लाग्छ,’ उनले भने, ‘मान्छे सधैं आगो लाउन सक्छ र ? राष्ट्रको सम्पत्तिमा मान्छे बाँकी रहँदै आगो लाउन सक्छ र ? मान्छेबाट बिस्तारै राक्षस बनाएपछि आगो लाग्छ।’

पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै उनले आफ्नै पार्टीलाई कमजोर बनाउने गतिविधि गर्नु भनेको आफ्नै खुसीले विष खानु जस्तै भएको बताए।

‘आफैंले आफैंलाई कमजोर पार्ने खालको कुरा किन गर्नु ? आफ्नै खुसीले विष किन खानु ?’ उनले प्रश्न गरे, ‘विष खायो भने त लाग्छ नि, मरिहालिन्छ।’

ओलीले पार्टीभित्र एकआपसमा एकता र विपक्षीसँग प्रतिस्पर्धाको नीति लिनुपर्नेमा जोड दिए।

उनले प्रतिस्पर्धालाई दुश्मनीमा बदल्न नहुने बताउँदै एमालेले सधैँ स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने धारणा राखे।

प्रकाशित: २० कार्तिक २०८२ १८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App