२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

साढे ७ घण्टा बयान दिएपछि रविले भने- समय आउँदैछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे गठित जाँचबुझ आयोगलाई बयान दिएका छन्।

जेन-जी आन्दोलनको घटनाक्रमबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले बयानका लागि लामिछानेलाई बुधबार दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा लगेको थियो। आयोगले उनीसँग घटनाको परिस्थितिबारे केन्द्रित रहेर विस्तृत बयान लिएको हो।

बयान सकिएपछि प्रहरी भ्यानबाटै सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘अहिले केही छैन। समय आउँदैछ।’

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते ‘जेन-जी आन्दोलन’ का क्रममा कारागारभित्र सुरक्षा खतरा बढेको भन्दै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए।

त्यतिबेला कारागार प्रशासनले उनलाई बाहिर निस्कन दिएको भनिएको पत्रको आधिकारिकतामाथि प्रश्न उठेपछि उनी पुनः कारागार फर्किएका थिए। यही घटनाको अनुसन्धानका लागि आयोगले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई बोलाएको हो।

यसअघि आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिइसकेको छ भने आयोगको टोलीले घटनाको वस्तुस्थिति बुझ्न कारागारको स्थलगत अध्ययनसमेत गरेको थियो।

प्रकाशित: १९ कार्तिक २०८२ २०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App