नेपालमा अहिले हिमालटेक र ब्रोडलिङ्कले वाइफाई इन्टरनेटको परीक्षण सेवा दिइरहेका छन्। ल्यापटपबाट वाइफाई इन्टरनेट कुनै साधन बिना नै प्रयोग गर्न सकिन्छ भने डेस्कटपबाट प्रयोग गर्न सानो उपकरण प्रयोग गर्नुपर्छ।
टेलिकमले आफ्नो सेवा अरु कम्पनीलाई प्रयोग गर्न दिएर 'रेभिन्यू सेयरिङ' नीतिबाट वाइफाई चलाउने तयारी गरेको हो। यसको लागि जसले बढी शुल्क टेलिकमलाई तिर्छ त्यही कम्पनीलाई दिने योजना टेलिकमको छ।
इन्टरनेट प्रयोगकर्ता बढिरहेकाले टेलिकमले नयाँ प्रविधिबाट दिने योजना बनाएको हो। अहिले टेलिकमले डायलअप, एडिएसएल, इभिडिओजस्ता प्रविधिबाट पनि इन्टरनेट बिक्री गरिरहेको छ।
वाइफाई छोटो दुरीमा इन्टरनेट चलाउने प्रविधि हो। टेलिकमले चालु आर्थिक वर्षमा सूचना प्रविधि अन्तर्गत एडिएसएलबाटै टेलिभिजन सेवासमेत चलाउने योजना बनाएको छ।
पोस्टपेड मोबाइल र साधारण फोनको महसुल कार्डमार्फत तिर्न सकिने
टेलिकमले यो वर्ष तारवाला टेलिफोनको शुल्क तिर्न महसुल काउन्टरमै पुग्नुपर्ने अवस्थालाई हटाउने घोषणा गरेको छ। टेलिकमले उपभोक्ताको घरमा जडान भएको तारवाला टेलिफोनको महसुल प्रिपेड कार्डबाट गर्ने व्यवस्था सुरु गर्न लागेको छ।
अहिले तारवाला टेलिफोनको मासिक शुल्क तिर्न टेलिकमको काउन्टरमा हरेक महिना पुग्नुपर्छ। 'प्रिपेडको कार्डबाटै तारवाला फोन रिचार्ज गर्ने व्यवस्था गर्न लागिएको हो,' टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले भने।
पोस्टपेड मोबाइलको महसुल पनि प्रिपेड कार्डबाट भुक्तानी गर्न सकिने व्यवस्था टेलिकमले गर्न लागेको छ। आउँदो ४/५ महिनाभित्र पोष्टपेडको महसुल रिचार्ज कार्डबाट तिर्ने व्यबस्था गर्न लागिएको थिकेले बताए।
पोस्टपेडको महसुल पनि मासिक रुपमा तिर्नुपर्छ। टेलिकमको काउन्टर र केही बैंकमार्फत पोस्टपेडको महसुलमात्र अहिले तिर्न सकिने व्यवस्था छ।
प्रकाशित: १३ भाद्र २०६७ २३:३२ आइतबार





