२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

डेढ सय रुपैयाँमै थ्रीजी सिमकार्ड

काठमाडौं, भदौ २ (नागरिक) - नेपाल टेलिकमले डेढ सय रुपैयाँमा थर्ड जेनेरेसन (थ्रीजी) मोबाइलको सिमकार्ड वितरण गर्ने तयारी गरेको छ। टेलिकमले थ्रिजी मोबाइलप्रति उपभोक्तालाई आकर्षित गर्न मूल्य घटाएर वितरण गर्न लागेको हो। थ्रीजी मोबाइल छिटो इन्टरनेट चल्ने र भिडिओ कुराकानी गर्न सकिने प्रविधि हो। यसमा लाइभ टेलिभिजन कार्यक्रम समेत हेर्न सकिन्छ। 'यसको जिम्मा हामीले थ्रीजी सेट बेच्ने कम्पनीहरुलाई दिने निर्णय गरेका छौं,' मोबाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्यले भने।



एकसय ५० रुपैयाँको सिमकार्डबाट ७५ रुपैयाँको कुराकानी र एसएमएस गर्न सकिन्छ। '७५ रुपैयाँ सिमशुल्क र ७५ रुपैयाँ टकभ्यालु हुन्छ,' शाक्यले भने।
अहिले थ्रीजीको सिमकार्डलाई एकहजार पाँचसय रुपैयाँमा टेलिकमले बिक्री गरिरहेको छ। एकहजार पाँच सय रुपैयाँको सिममा एक हजार रुपैयाँको कुराकानी गर्न सकिन्छ।

मोबाइल सेट बेच्ने कम्पनीहरुसँग सहकार्य गरेर कम मूल्यमा थ्रीजी सिम बेच्ने योजना टेलिकमको छ। नेपालमा नोकिया, सामसुङलगायत केही कम्पनीहरुले थ्रीजी सेट बिक्री गरिरहेका छन्।

'थ्रीजी सेट बेच्ने ४/५ कम्पनीसँग एक पटक कुराकानी भएर हामीले यस्तो निर्णय गरेका हौं,' शाक्यले भने। तीन वर्ष अघि टेलिकमले यो सेवा सुरु गरेको हो।
बजारमा स्थापित र चलेका नोकिया, सामसुङ, एलजी, मोटोरोलाजस्ता ब्रान्डका थ्रीजी सेटको मूल्य कम्तिमा नौ हजार रुपैयाँ पर्छ।

टेलिकमले मोबाइल सेटका व्यापारीलाई नै थ्रीजीको सिमकार्ड दिन्छ। व्यापारीले थ्रीजी सेट किन्नेलाई नियम अनुसार फर्म भराएर सिमकार्ड बेच्नुपर्नेछ। सेट बेच्न बसेकालेनै उपभोक्तालाई थ्रीजी चलाउन सिकाउनुपर्ने भएकोले तालिम समेत दिने तयारी टेलिकमले गरेको छ।

नेपाली बजारमा अहिले एलजीको सबैभन्दा कम मूल्यको थ्रीजी सेट नौ हजार रुपैयाँमा पाइन्छ। सामसुङको सबैभन्दा सस्तो थि्रजी ११ हजार एकसय ५० रुपैयाँमा पाइन्छ।

टेलिकमले सस्तो मूल्यमा थ्रीजी सिमकार्ड वितरण गर्न कार्यविधि तयार गरिरहेको छ। सुरुमा प्रिपेड थ्रीजी मात्र वितरण गर्ने तयारी टेलिकमको छ।
थ्रीजी प्रिपेडबाट भिडिओ कुराकानी गर्दा उपभोक्ताले मिनेटको ६ रुपैयाँ २० पैसा तिर्नुपर्छ। थ्रीजी पोष्टपेडबाट भिडिओ कुराकानी गर्दा मिनेटको पाँच रुपैयाँमात्र पर्छ।

प्रकाशित: २ भाद्र २०६७ ००:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App