आठ दिनका लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) पुगेका बुच विल्मोर र सुनिता विलियम्सको यात्रा करिब नौ महिनासम्म तन्कियो। लामो रस्साकस्सी र मिहिनेतपछि अन्ततः उनीहरू दुई जनासँगै अन्य दुई सदस्यहरू निक हेग र रुसी कस्मोनट एलेक्सान्द्र गोर्बुनोभ पनि अमेरिकाको फ्लोरिडास्थित समुद्रमा अवतरण गरे।
२०२४ जुन ५ मा बुच र सुनिता बोइङको नयाँ स्टारलाइनर अन्तरिक्षयानबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) पुगेका थिए। यो यात्रा जम्माजम्मी एक हप्ते भनिए पनि उनीहरूलाई पृथ्वीमा फर्काउने स्टारलाइनर रकेटमा इन्धन शक्ति दिने यन्त्र (थ्रस्टर) मा समस्या देखिएपछि फिर्ती लम्बिन पुगेको थियो।
यति मात्र होइन, उक्त रकेटमा इन्धनका रूपमा हिलियम चुहिएका कारण बुच र सुनिताको पृथ्वी फर्कने यात्रा अनिश्चित बनाएको थियो। रकेटमा जुन इन्धन प्रयोग हुन्छ, त्यो हिलियम ग्यासका रूपमा हुन्छ। त्यो ग्यास चुहिएको देखिएपछि थ्रस्टर बन्द गरियो। रकेटमा २८ वटा थ्रस्टर थिए। हिलियम चुहावटपछि ६ वटा थ्रस्टर बन्द गर्नुपरेको थियो। पछि अन्य दुई ठाउँमा पनि हिलियम चुहावट भएको पाइएको थियो।
सुनिताले यसअघि पनि दुई पटक अन्तरिक्षको यात्रा गरिसकेकी थिइन्। सन् २००६ र २०१२ मा पनि उनले अन्तरिक्ष यात्रा गरेकी थिइन्। पहिलो यात्रामा उनले ६ महिना १३ दिन बिताएकी थिइन् भने सन् २०१२ मा चार महिना पाँच दिन बिताएकी थिइन्।
त्यसैले पनि उनको यो यात्रा लम्बिएको भए पनि उनी त्यति धेरै आत्तिएकी थिइनन्। त्यसो त उनीसँगै अन्य अन्तरिक्षयात्रुहरू पनि आत्तिएका थिएनन्। उनीहरू मानसिक र शारीरिक रूपमा त्यसैका लागि तयार पारिएर पठाइएका हुन्छन्। उनीहरू त्यहाँ अड्किनुमा स्टारलाइनरको समस्या समाधान हुन नसक्नु मुख्य कारण थियो। त्यसपछि स्टारलाइनरलाई बिनाचालकदल नै पृथ्वीमा फिर्ता पठाइयो। यसपछि उनीहरूको फिर्ती अनिश्चित भएपछि एक दिन पनि नबिराई अन्य प्रयोगमा सुनिता र बुचले आफूलाई व्यस्त बनाउन थाले। पछि उनीहरूलाई स्पेस एक्सको क्र्यु ड्रागन विमानमार्फत पृथ्वीमा फिर्ता ल्याइएको थियो।
लामो समयसम्म अन्तरिक्षमा बिताउँदा विभिन्न किसिमका भावनात्मक समस्या देखिने अध्ययनहरूले देखाएको छ। उनीहरू यहाँ फर्किएपछि यहाँको वातावरणमा पुनः समायोजन हुन पनि निकै गाह्रो हुन्छ। अन्तरिक्षमा लामो समय बिताउँदा मानव शरीरले पृथ्वीको गुरुत्वाकर्षण, सूर्यको प्रकाश, ताजा हावा र परिवारसँगको दूरीका कारण विभिन्न शारीरिक तथा मानसिक समस्याहरू झेल्नुपर्ने उनीहरूले बुझेकै थिए।
यस्तो परिस्थितिमा खगोलयात्रीहरूले पृथ्वी र अन्तरिक्षको बीचको दुई भिन्दाभिन्दै अनुभवको प्रभाव महसुस गर्ने गर्छन्। त्यसले विभिन्न मानसिक तथा शारीरिक समस्याहरू ल्याउँछन् भन्ने विभिन्न अनुसन्धानले देखाएका छन्।
सन् १९६५ मा जेमिनी सातौं यानमा दुई हप्ता पृथ्वीको परिक्रमा गरेका जिम लेभल पृथ्वीमा फर्किएपछि केही दिन त उनलाई खाना खाइसकेपछि चम्चा सही ठाउँमा राख्नै सक्तैनथे। उनले टेबुलमा चम्चा राख्दा एक फिट माथिबाट नै छाडिदिन्थे। चम्चा ढुनमुनिँदै जमिनमा खस्थ्यो। उनी अन्तरिक्षमै छु भन्ने भ्रमका कारण शून्य गुरुत्वमा सामानहरूलाई यत्तिकै छाड्न अभ्यस्त भएका थिए।
पृथ्वीमा फर्किएपछि खगोलशास्त्रीहरूलाई गुरुत्वाकर्षणसँग तालमेल मिलाउनु ज्यादै कठिन हुने गरेको छ। तालमेल मिलाउनका लागि दैनिक व्यायामको प्रमुख भूमिका रहने गरेको यसमा संलग्न वैज्ञानिकहरूको अनुभव छ। शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि पृथ्वीमा फर्किंदा अनेकन् समस्या देखिने गरेका छन्। तर एउटा वैज्ञानिकको जीवन अन्तरिक्षमा भन्दा पनि पृथ्वीमा नै बढी हुने हुनाले उनीहरूमा देखिएका अनेक समस्या क्रमशः सामान्य हुँदै जाने र त्यसका लागि अनेक मनोवैज्ञानिक उपचारहरू समेत गरिने बताइन्छ।
सुनिताको जीवनमा अहिलेको यात्रा इतिहासकै सबैभन्दा छैटौं लामो यात्रा हो। लामो समयसम्म अन्तरिक्षमा रहँदा पनि उनीहरूमा कुनै पनि गम्भीर किसिमको मानसिक तथा शारीरिक समस्या नदेखिएको नासाले जनाएको छ तर लामो समयसम्म अन्तरिक्षमा बस्नेहरूबीच कैयौं समस्या देखिने अमेरिकाको बेलर कलेजस्थित सेन्टर फर स्पेस मेडिसिनकी प्राध्यापक रिहाना बोखारीको भनाइ छ।
आइएसएसको मिसन सामान्यतः ६ महिनाको हुन्छ तर केही अन्तरिक्षयात्रीहरू त्यहाँ एक वर्ष र त्योभन्दा पनि बढी अवधिसम्म बस्नुपर्ने समस्या हुनसक्छ। त्यसका लागि अन्तरिक्ष यात्रीहरूले आफ्नो शारीरिक र मानसिक स्वास्थ्य चुस्त राख्नका लागि विभिन्न कसरत र अभ्यासहरू गरिरहनुपर्छ।
वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा दुई घण्टा विभिन्न किसिमका कसरत र अभ्यास गर्दा उनीहरूको स्वास्थ्य चुस्त हुने बोखारीको भनाइ छ। यसको अर्थ अन्तरिक्षयात्रीको शरीरमा केही फरक नपर्ने होइन। केही हाडको मात्रामा थोरै फरक देखिने, कसैको हड्डीको आकार बढ्ने, मासुको आकार घट्नेजस्ता समस्या पनि देखिन्छन्।
अन्तरिक्षमा लामो समय बस्नेहरूलाई पिसाबमा क्याल्सियमको स्तर बढ्छ। यसले पत्थरी हुने सम्भावना पनि बढ्छ। अन्तरिक्षमा परावैजनी किरण बढी हुन्छ। त्यसका अतिरिक्त शरीरलाई हानि पुर्याउने रेडिएसनको मात्रा पनि ज्यादै बढी हुन्छ। अधिकांश अन्तरिक्षयात्रीहरूमा यिनै रेडिएसनका कारण क्यान्सरको जोखिम अन्यको तुलनामा बढी हुने देखिएको छ। अहिले उनीहरूमा क्यान्सरको जोखिमलाई तीन प्रतिशतभन्दा कम बनाउनेतर्फ नासाले काम गरिरहेको छ। भविष्यमा हुने चन्द्रयात्रा र मंगलयात्राका बेला यस्ता समस्या अहिलेको तुलनामा अझ बढी देखिने एस्ट्रोफिजिसिस्ट जिगफ्रिड इग्लको भनाइ छ।
यसैगरी शरीरका अंगहरूमा गुरुत्वाकर्षणको निरन्तर तनाव र खिँचाव भएन भने मांसपेशी र हड्डीको मात्रा छिटो घट्न थाल्छ। भनाइको अर्थ, हड्डी र मांसपेशीहरू सुक्न थाल्छ। सुके भने ढाड, घाँटी र क्वाड्रिसेप्समार्फत् गरिने काम गर्न असहज हुन थाल्छ। तीनदेखि ६ महिनासम्म अन्तरिक्षमा बस्नेहरूको हड्डी र मासु २० देखि ३० प्रतिशतसम्म घट्न थाल्छ। सुरुवाती चरणमा मान्छेको शरीरबाट चाँडो चाँडो मासु घट्ने गर्छ र पछि त्यो घट्ने क्रम अलि कम हुन्छ।
यसैगरी, अन्तरिक्ष यात्रीहरूले पृथ्वीको गुरुत्वाकर्षणमा हुने जस्तो यान्त्रिक तनाव हड्डीहरूमा हुँदैन। यसले हड्डीमा पाइने खनिज तत्त्वहरू क्रमशः घट्दै जान थाल्छ। यसले मान्छेको उभिने र अन्य काम गर्ने शक्ति गुमाउन थाल्छ। एउटा अध्ययनअनुसार अन्तरिक्षमा बिताएको हरेक महिनामा उनीहरूको हड्डीको मात्राको एकदुई प्रतिशतसम्म गुमाउन सक्छन्। ६ महिनाको अवधिमा १० प्रतिशतसम्म गुमाउन सक्छन्। पृथ्वीमा भने हाडको गुम्ने दर वृद्धवृद्धाहरूमा हरेक वर्ष ०.५ देखि एक प्रतिशतको दरमा गुम्ने गर्छ।
त्यसैले पनि कुनै अन्तरिक्षयात्रु पृथ्वीमा झर्यो भने र ऊ तत्काल हिँड्ने जिद्दी गर्न थाल्यो भने एक त ऊ हिँड्न अक्षम हुन्छ। हिँड्ने प्रयास नै गर्यो भने पनि उसको हड्डी भाँचिने जोखिम हुन्छ। त्यसैले उसलाई एउटा सानो बच्चालाई जस्तो गोडा नटेकाई ह्विल चेयरमा राखिन्छ।
अन्तरिक्षमा लामो समय बस्ने वैज्ञानिकहरू पृथ्वीमा फर्किएपछि हड्डीको मात्रा सामान्य हुन चार वर्षसम्म लाग्ने देखिएको छ। त्यसैले पनि शारीरिक कमजोरी हुन दिन अन्तरिक्ष यात्रीहरूले आइएसएसमा प्रतिदिन अढाई घण्टा व्यायाम र गहन प्रशिक्षण गर्छन्। हड्डीलाई यथासम्भव स्वस्थ राख्न मद्दत गर्न आहार र औषधीहरू पनि खाने गरिन्छ।
आइएसएसमा लामो समय बिताउँदा त्यहाँका वैज्ञानिकको ढाडको हड्डी अलिकति लामो हुने देखिएको छ। त्यसरी हड्डी लामो भएका वैज्ञानिकहरू अलि अग्लो पनि देखिन्छन्। यसले अन्तरिक्षयात्रुमा ढाड दुख्ने समस्या हुन्छ भने पृथ्वीमा फर्किएपछि स्लिप डिस्क जस्ता समस्याहरू हुन्छन्।
स्लिप डिस्कका कारण ढाडका नसामा दबाब बढ्छ र ढाड, खुट्टा, हात दुख्न थाल्छ। त्यस्तै कमजोरी र हातगोडा झम्झमाउने समस्या पनि देखिन्छ। यसैगरी अन्तरिक्षमा लामो समय बिताउने वैज्ञानिकहरूको वजन निकै घट्ने देखिएको छ। त्यसो त अन्तरिक्षमा कसको तौल कति छ भन्ने कुराको उति धेरै चासो हुँदैन।
माइक्रोग्राभिटीको वातावरणले आइएसएसमा रहँदा बस्दा नगाँसिएको वा नटाँगिएको कुनै पनि चीज स्वतन्त्र रूपमा तैरन सक्छ। मान्छे पनि तैरिन्छ। यस्तो बेलामा कक्षमा स्वस्थ तौल वा मान्छेको वजनलाई पहिलेकै अवस्थामा कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ। त्यसो त नासाले आइएसएसका वैज्ञानिकहरूका लागि पौष्टिक खानाको विविधतापूर्ण श्रृंखला तयार पारेको छ।
खान्कीमा हालै आइएसएसमा उमारिएका केही सागपातहरू पनि समावेश गरिएका छन्। तर यस्ता सलादले अन्तरिक्ष यात्रीको शरीरलाई असर गर्न सक्छ। नासा अन्तरिक्ष यात्री स्कट केलीले आइएसएसमा तीन सय ४० दिन बिताउँदा उनको वजन ७ प्रतिशतले घटेको थियो।
मूलतः गुरुत्वशून्यताको अवस्थामा शरीरका तरल पदार्थहरू सर्दै टाउको माथि पुग्ने गर्छन्। रगत र अन्य तरल पदार्थहरू टाउकोमा नै थुप्रिने समस्या (फ्ल्युइड सिफ्ट) हुनाले यसले आँखाको समस्या निम्त्याउने पनि देखिएको छ। खासगरी यसले आँखाको पुतलीको आकार बढाउने र एसएएनएस सिन्ड्रोम देखिने बताइन्छ।
यसले वैज्ञानिकहरूको आँखाको तीक्ष्णतालाई हानि पु¥याउने गर्छ। पृथ्वीमा, गुरुत्वाकर्षणले हाम्रो शरीरमा रगतलाई तलतिर धकेल्न मद्दत गर्छ जबकि मुटुले यसलाई फेरि माथि पम्प गर्छ। अन्तरिक्षमा भने यो प्रक्रिया गडबड हुन्छ (यद्यपि शरीरले केही अनुकूलन भने गर्छ नै)। अन्तरिक्षमा रहँदा रगत सामान्यभन्दा बढी मात्रामा टाउकोमा जम्मा हुन सक्छ।
आवश्यकताभन्दा बढी रगत टाउकोमा पुग्दा केही रगत आँखाको पछाडि र अप्टिक नर्भ वरिपरि जम्मा हुन सक्छ। यस्तो अवस्थामा मान्छेको हेर्ने क्षमता ह्रास हुने सम्भावना देखिन्छ। खासगरी मान्छेको हेर्ने तीक्ष्णताको कमी र आँखामा संरचनात्मक परिवर्तनहरू पनि आउन सक्छ भनी वैज्ञानिकहरूले चेताएका छन्।
यी परिवर्तनहरू अन्तरिक्षमा दुई हप्तापछि सुरु हुन सक्छन् तर लामो समयसम्म बस्नेहरूमा यही कारणले उनीहरूको आँखाको समस्या बढ्न थाल्छ। पृथ्वीमा फर्किएको करिब एक वर्षभित्र प्रायः आँखाका समस्याहरू पुनःस्थापित भएको पनि छ तर कतिपय समस्याहरू स्थायी रूपमै रहिरहन सक्नेसमेत देखिएको छ।
अन्तरिक्षमा पाइने कस्मिक किरणहरू, परावैजनी किरण तथा कतिपय सौर्य कणहरूका कारण मानिसमा आँखाका विभिन्न समस्याहरू पनि देखिने गरेको छ। हामी पृथ्वीबासीलाई भने पृथ्वीको चुम्बकीय शक्ति, किरण परावर्तन गर्ने क्षमताका कारण अन्तरिक्षको दाँजोमा हामीले विविध सुरक्षा पाउँछौं तर आइएसएसमा कक्षमा भने हाम्रा लागि ती सुरक्षा हुँदैनन्। त्यसैले अन्तरिक्ष यानले अतिरिक्त विकिरणबाट बच्न विभिन्न सुरक्षा उपकरणहरू पनि सँगै लगेको हुन्छ।
आइएसएसमा रहेका अन्तरिक्ष यात्रीहरूले कस्मिक किरणहरू र सौर्य कणहरूबाट बच्न विभिन्न पहिरन, चस्मा र सुरक्षाका अन्य उपकरणहरू उपलब्ध गराइन्छन्। तर कतिपय सुरक्षा उपकरणहरूको उपयोग गर्न नजान्दा वा ती उपकरण नहुँदा यसले उनीहरूको रेटिना र अप्टिक नर्भमा क्षति पुर्याउने गरेको गुनासो वैज्ञानिकहरूले गर्ने गरेका छन्।
कतिपय संज्ञानात्मक प्रयोगहरू पनि नासाले गर्ने गरेको छ। यस्तो प्रयोगमा प्रायः जुम्ल्याहाहरूलाई प्रयोग गरिन्छ। एक पटक अन्तरिक्षयात्री केली र उनका भाइलाई पनि यस्तो प्रयोगमा सहभागी गराइएको थियो। केली अन्तरिक्षमा रहँदा उनको संज्ञानात्मक प्रदर्शनमा केही परिवर्तन भएको पाइयो। उता पृथ्वीमा रहेका उनका भाइको भने संज्ञानात्मक (बुद्धिमता) अपेक्षाकृत उस्तै रह्यो।
अन्तरिक्षमा केलीको संज्ञानात्मक प्रदर्शनको तीव्रता र सटिकतामा कमी देखिएको थियो। त्यस्तो कमी भने उनी पृथ्वीमा फर्किएको लगभग छ महिनासम्म जारी थियो। २०१४ मा आइएसएसमा एक सय ६० दिन बिताएका रुसी अन्तरिक्ष यात्रीको अध्ययनले पनि मस्तिष्कमा केही परिवर्तनहरू भएको देखाएको छ। जसका कारण मस्तिष्कको न्युरल कनेक्टिभिटीमा केही परिवर्तनहरू देखियो। त्यो परिवर्तनले बुझ्ने क्षमतामा समेत परिवर्तन हुने गरेको देखाएको छ।
हालैको एक अध्ययनले दीर्घकालीन अन्तरिक्ष मिसनहरूमा हुन सक्ने मस्तिष्क संरचनामा अन्य परिवर्तनहरूबारे चिन्ता गर्न थालिएको छ। मस्तिष्कमा राइट ल्याटरल र थर्ड भेन्ट्रिकल (सेरेब्रोस्पाइनल तरल भण्डारण गर्न, मस्तिष्कलाई पोषण प्रदान गर्न र फोहोर फाल्न जिम्मेवार) सुन्निने गरेको पाइएको छ। र, त्यो सामान्य अवस्थामा फर्किन तीन वर्षसम्म लाग्न सक्ने देखिएको छ।
पछिल्ला वर्षहरूमा गरिएको अनुसन्धानले के पनि देखाएको छ भने राम्रो स्वास्थ्यका लागि महŒवपूर्ण कुन्जी भनेको हाम्रो शरीरमा हुने सूक्ष्मजीवहरूको संरचना र विविधता पनि एक हो। माइक्रोबायोटा भनिने सूक्ष्मजीवीहरूले हाम्रो खाना पचाउने तरिका, हाम्रो शरीरका घाउ वा सुन्निने प्रक्रियाको र हाम्रो मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरामा पनि असर गर्न सक्छ भनी देखाएको छ।
केलीलाई आइएसएसमा यात्रा गरेपछि जाँच गर्दा शोधकर्ताहरूले उनको आन्द्रामा पाइने ब्याक्टेरिया र फंगसमा अन्तरिक्षमा जानुअघि भन्दा निकै परिवर्तन भएको पाए। यो कुराले वैज्ञानिकहरू चकित भएनन् किनभने उनले खाने खान्की धेरै फरक हुन्छ। उनले जति दिन अन्तरिक्षमा बिताइन्, ती दिनका कारण मानिसहरूमा परिवर्तन हुन्छ नै। साथै अन्तरिक्षमा विकिरणको सम्पर्कमा रहनु पर्ने हुन्छ। पानी प्रयोग गर्दा पनि त्यो रिसाइकल गरिएको हुन्छ। यी यावत कारणले हाम्रो पेटमा रहेका असल ब्याक्टेरियाहरूको कमी हुन पुग्छ। यस्तै यसबीचमा हुने शारीरिक गतिविधिमा परिवर्तनले पनि भूमिका खेल्न सक्छ।
हालसम्म पाँच जना नासाका अन्तरिक्ष यात्रीहरूले ३०० दिनभन्दा बढी समय कक्षमा बिताएका छन्। तीमध्ये केलीमाथि गरिएको अध्ययनले अन्तरिक्षमा छालाको अवस्था कस्तो हुँदोरहेछ भन्ने देखाएको छ। उनी अन्तरिक्ष स्टेसनबाट फर्किएको लगभग छ दिनसम्म उनको छालामा संवेदनशीलता कायम थियो।
शोधकर्ताहरूको अनुमान छ, उनी अन्तरिक्षमा रहँदा छालाको कुनै एक्सरसाइज नभएका कारण छाला ज्यादै संवेदनशील भएको हुनसक्छ। अन्तरिक्षमा लामो समय रहँदा हाम्रो डिएनए र जीनमा केही फरक पर्छ भन्ने अध्ययन गर्नु पनि महत्त्वपूर्ण कुरा थियो। डिएनएको प्रत्येक स्ट्रान्डको अन्त्यमा टेलोमेयर भनिने संरचनाहरू हुन्छन्। तिनले हाम्रो जीनहरूलाई क्षतिबाट बचाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ। हामी बूढो हुँदै जाँदा यी टेलोमेयरहरू छोटा हुन्छन्। तर केली र अन्य अन्तरिक्ष यात्रीहरूमा गरिएको अनुसन्धानले अन्तरिक्ष यात्राले यी टेलोमेयरहरूको लम्बाइ परिवर्तन गर्ने देखाएको छ।
‘सबैभन्दा आश्चर्यजनक कुरा त अन्तरिक्ष यात्राको समयमा टेलोमेयरहरू निकै लामो भएको पाइएको थियो,’ कोलोराडो राज्य विश्वविद्यालयमा पर्यावरणीय र रेडियोलोजिकल स्वास्थ्यका प्रोफेसर सुसान बेलीले भनिन्। उनी केली र उनका भाइको अध्ययन गर्ने टोलीको अगुवा थिइन्। उनले अन्य १० असम्बन्धित अन्तरिक्ष यात्रीहरूसँग छ महिनाको छोटो मिसनमा सहभागी भएर छुट्टै अध्ययन पनि गरेकी छिन्।
सबै चालक दल सदस्यहरूका लागि पृथ्वीमा फर्किएपछि टेलोमेयरको लम्बाइ चाँडै छोटो हुनु बडो आश्चर्यको कुरा रहेको उनी बताउँछिन्। लामो समयसम्म अन्तरिक्षमा बिताउनेहरूको डिएनएमा क्षति पुग्न थाल्ने देखिएको छ। जुन २०२४ मा पुरुष र महिला अन्तरिक्ष यात्रीहरूको प्रतिरक्षा प्रणालीले अन्तरिक्ष यात्रालाई कसरी प्रतिक्रिया जनाउँदो रहेछ भनी अध्ययन गरिएको थियो। सो अध्ययनले केही सम्भावित भिन्नताहरू देखाएको थियो।
स्पेसएक्स इन्स्पिरेसन ४ मिसनको चालक दलबाट प्राप्त नमुनाहरूबाट जिन अभिव्यक्ति डाटा प्रयोग गरेर, यसले प्रतिरक्षा प्रणाली, उमेर बढ्ने र मांसपेशी वृद्धिसँग सम्बन्धित १८ प्रोटिनहरूमा परिवर्तनहरू भएको देखिएको थियो।
विशेष गरी, शोधकर्ताहरूले इन्टरल्युकिन–६ भनिने दुई प्रोटिनहरूको जीन गतिविधि बढेको पाए। यसले शरीरका विभिन्न भागमा सुन्निएको खण्डमा त्यसको स्तर नियन्त्रण गर्न मद्दत गर्छ। इन्टरल्युकिन–८ ले संक्रमण स्थलहरूमा प्रतिरक्षा कोषहरूलाई मार्गदर्शन गर्न उत्पादन गर्छ। ती प्रोटिनले महिलाहरू भन्दा पुरुषहरूलाई बढी प्रभावित गरेको देखियो। फाइब्रिनोजेन भनिने अर्को प्रोटिनले रगत जमाउन भूमिका खेल्छ।
यसरी कसैले अन्तरिक्षयात्रा गर्नु भनेको जीवन र जगत्का अनेक पहलुबारे अध्ययन गर्नु, तिनलाई गहन छलफलमा ल्याउनु र विश्लेषण गर्दै अर्को नयाँ अनुसन्धानमा जुट्नु हो। सुनिता र बुचको यो यात्राले यसतर्फ सचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।
प्रकाशित: ९ चैत्र २०८१ १०:२९ शनिबार