२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

बेइजिङबाट हङकङ सर्‍यो गुगल

चिनियाँ सेन्सर नमान्ने घोषणा -
पूर्ण बस्नेत, हङकङ, चैत १०- अमेरिकी इन्टरनेट कम्पनी गुगलले चिनियाँ सेन्सर नमान्ने घोषणा गर्दै मङ्गलबार चिनियाँ भाषाको इन्टरनेट सर्च इन्जिन बन्द गरेको छ। साथै उसले चीनको विशेष प्रशासनिक क्षेत्र हङकङबाट आफ्ना चिनियाँ ग्राहकका लागि सेन्सररहित सर्च सेवा सञ्चालन गरेको जनाएको छ। चिनियाँ अधिकारीले गुगलले 'लिखित सम्झौता उल्लङ्घन गरेको' प्रारम्भिक प्रतिक्रिया दिएका छन् र उसको यो निर्णयबाट चीन–अमेरिका सम्बन्धमा असर नपुग्ने दाबी गरेका छन्।

सेन्सरशीप नरोके चीन छाडेर जाने चेतावनी दिएको दुई महिनापछि गुगलले यस्तो निर्णय गरेको हो। चिनियाँ समयअनुसार मङ्गलबार बिहान ३ बजे गुगलका प्रमुख कानुनी सल्लाहकार डेभिड ड्रुमोण्डले ब्लग पोष्टमार्फत् गुगलको निर्णय सार्वजनिक गरेका हुन्। उनले चिनियाँ सेन्सरशीपबाट जोगिनका लागि गुगलले गरेको यो निर्णयलाई चीन सरकारले सम्मान गर्ने आशा व्यक्त गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता क्यून गाङले मंगलबार बेइजिङमा गुगलले ब्यापारिक मुद्दालाई राजनीतिक बनाउन खोजे पनि यसले अन्तर्राष्ट्रिय सम्बन्धमा असर नपुग्ने प्रतिक्रिया दिए। “सरकारले गुगलको मुद्दा कानुन अनुसार हल गर्नेछ”, उनले भने। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले 'स्टेट काउन्सील इन्फर्मेसन अफिस' का एक जना अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “गुगलले सर्च सेवामा फिल्टर नगर्ने घोषणा गरेर चीनसँग गरेको लिखित सम्झौता तोडेको छ, यो पुरै गलत छ।”  

अमेरिकी अधिकारीले चीन र गुगलले इन्टरनेट विवादको समाधान खोज्न नसक्नु दुखद भएको प्रतिक्रिया दिएका छन्। बिबिसि अनलाइनका अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता माइकले गुगललाई चीनमा सर्च इन्जिन सञ्चालन गर्न दिने बारे चीन र गुगल सहमतीमा पुग्न नसकेकोमा दुख लागेको जनाएका छन्। जनवरीमा गुगलले चीन छाड्ने चेतावनी लगत्तै अमेरिकाले इन्टरनेट स्वतन्त्रता दिन चीनलाई दबाब दिएपछि दुई देशबीच यो एउटा तनावको विषय बन्दै आएको छ।  

डेभिडले ब्लगमा गुगले चिनियाँ भाषाको सर्च इन्जिन हङकङबाट चलाउने तर चीन छाड्ने निर्णय आंशीक मात्र भएको जनाएका छन्। उनका अनुसार गुगलको अनुसन्धान तथा बिक्रि कार्यालय बेइजिङमै रहने छ र अनलाइन नक्सा तथा संगीत सेवा पनि निरन्तर रहने छ।

गुगलका एक जना संस्थापक तथा टेक्नोलोजी प्रमुखले पुरै विश्वस्त नभए पनि आफ्नो निर्णयको समर्थनमा चीनबाट संकेत पाएको बताएका छन्। सल्लाहकार डेभिडले आफ्नो ब्लगमा हङकङबाट चिनियाँ ग्राहकलाई सर्च सेवा उपलब्ध गराउनु 'पूर्णतः कानुनी' हुने तर्क गरेका छन्। “तथापी हाम्रो सेवामाथि चिनियाँ पहुँच कुनै पनि बेला बन्द हुन सक्छ भन्ने कुरामा हामीलाई राम्रो जानकारी छ”, उनले भनेका छन्।      

गुगलको यो निर्णय चीनका लागि ठूलो चूनौती भए पनि संसारकै ठूलो इन्टरनेट बजारबाट बाहिरिनु व्यवसायिक हिसावले जोखिपूर्ण मानिएको छ। तर चिनियाँ मानवअधिकारकर्मीको जिमेल एकाउन्ट ह्याक गरिएको जनाउँदै सेन्सरशीप सम्बन्धी चीनको कानुन मान्ने कुरामा सम्झौता हुन नसक्ने गुगलले जनाएको छ।

केही पश्चिमा विश्लेषकहरूले चीन छाड्ने गुगलको निर्णयलाई विदेशी कम्पनीहरूका लागि त्यहाँ राम्रो स्थिति छैन भन्ने संकेतको रुपमा लिनु पर्ने तर्क गर्दै चीनले स्वदेशी कम्पनीलाई प्रोत्साहित गर्न थालेको जनाएका छन्। ३३ प्रतिशत चिनियाँ इन्टरनेट प्रयोगकर्ता भएको गुगललाई ६३ प्रतिशत बजार ओगटेको स्वदेशी इन्टरनेट कम्पनी वाइडुले विस्थापित गरेको उनीहरूको तर्क छ। 

प्रकाशित: १० चैत्र २०६६ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App