भियनास्थित मेरा साथी बेन्जामिन भ्याएसम्म महिनामा दुई पटक आफ्ना पिता भेट्न वृद्धाश्रम जान्छन्। उनकी श्रीमती पनि आफ्नी आमा भेट्न अर्को वृद्धाश्रम जान्छिन्। कहिलेकाहीँ दुवैजनाले सँगै बाबुआमालाई घर ल्याउँछन् अथवा सबैजना कुनै रेस्टुराँमा भेट्ने कार्यक्रम बन्छ।वृद्ध मातापिता आउने खबरले अरु नाताकुटुम्ब पनि आउँछन् र ठूलो जमघट हुन्छ। घरायसी छलफल, छोराछोरी नातिनातिनाको खबर आदानप्रदान र तत्कालकै विषयवस्तुमा कुराकानी–गफगाफ हुन्छ। खानपिन भेटघाट सकिएपछि साँझ दुवैजना आ–आफ्ना बाबुआमालाई वृद्धाश्रम पु-याइदिन्छन्। मैले एकपटक बेन्जामिनलाई सोधेँ, ‘तिमीहरूको बाबुआमासँग बडा राम्रो सौहार्दपूर्ण सम्बन्ध रहेछ, तिमीहरूको आय पनि राम्रो छ, केबुवालाई घरमै राखेर पाल्न सक्दैनौ?’