नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधाका मनोनयन सार्वजनिक भएको छ ।
काठमाडौंमा शनिबार एक कार्यक्रम आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसएजेफ) को खेलाडी छनोट समितिले पल्सर स्पोर्टस अवार्ड २०८१ अन्तर्गत वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक गरी कुल चार विधाको मनोनयन सार्वजनिक गरेको हो ।
सबैभन्दा धेरै क्रिकेट, कराते र खो खोका खेलाडी र प्रशिक्षक चार विधाका मनोयनमा परेका छन् । मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको पाँच सदस्यीय छनोट समितिले वर्ष २०८१ भरका प्रदर्शनको आधारमा चार विधामा समान पाँच खेलाडी मनोनयनमा समावेश गरेका छन् ।
छनोट समितिमा मञ्चका पूर्वअध्यक्ष एवम् एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी, सिनियर पत्रकारहरू हिमेशरत्न बज्राचार्य, प्रजीत शाक्य र विराट रायमाझी छन् ।
अवार्डको यस २२औं संस्करणमा क्रिकेटका खेलाडीले चार विधा र करातेका खेलाडी तीन विधामा मनोनयनमा पर्न सफल भए । राष्ट्रिय क्रिकेट टोली अलराउन्डर सदस्य दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परे । तेस्रो विश्व थाउलो च्याम्पियनसिपमा कांस्य पदक विजेता विजय सिन्जाली, छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेलेका टेबल टेनिसका स्यान्टु श्रेष्ठ र खो खो विश्वकपमा रजत विजेता जनक चन्दमा वर्ष पुरुष खेलाडीको मनोनयनमा छन् । नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतो युवा वर्ष खेलाडीको मनोनयनमा परिन् ।
सोही टोलीका प्रशिक्षक महेश रिजाल वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् । करातेबाट एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ र अलिषा रास्कोटी मगर वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परे । करातेकै अञ्जली महर्जन वर्ष युवा खेलाडीको मनोनयनमा पर्न सफल भइन् । करातेकै प्रशिक्षक कुशल श्रेष्ठ पनि वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयन भित्र रहे । खो खोका तीन दुई खेलाडी र एक प्रशिक्षक पल्सर अवार्डको यी चार विधा समावेश भएका छन् । खो खो खेलबाट जनक चन्द (उत्कृष्ट पुरुष), मानमती धामी (उत्कृष्ट महिला) र लक्ष्मीनारायण वैद्य (उत्कृष्ट प्रशिक्षक) परेका हुन् ।
खो खो महिला विश्वकपमा नेपाल उपविजेता रहँदा मानमति महŒवपूर्ण खेलाडी थिइन् । बक्सिङबाट दुई जना अवार्डको मनोनयनमा परे । बक्सिङ खेलाडी स्वस्तिका तिरुवा (युवा वर्ष खेलाडी) र दीपक महर्जन (वर्ष उत्कृष्ट प्रशिक्षक) अवार्डको मनोनयनमा परेका हुन् ।
फुटबलबाट पनि दुई जनाले अवार्डको मनोनयनमा नाम समावेश गर्न सफल रहे । फुटबलर रेखा पौडेल (उत्कृष्ट वर्ष महिला) र समीर तामाङ (युवा खेलाडी) छन् । रेखा पिपल्स च्वाइसको मनोनयनमा पनि छिन् । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा अटाइन् । वर्ष युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय बिके छन् ।
वर्ष उत्कृष्ट प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा छन् । पलेशा गोवर्धनले पेरिस पारालिम्पिक २०२४ मा कांस्य पदक जित्दा लामा प्रशिक्षक हुन् । अवार्ड पोखरामा भदौ २९ गते आयोजना हुनेछ । पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डको दिन सबै विधाको विजेता घोषणा गरिनेछ । पत्रकार सम्मेलनमा छनोट समितिका संयोजक ठकुरीले वर्ष २०८१ मा नेपाली खेलाडीले ऐतिहासिक सफलतासँगै धेरै राम्रो नतिजा पाएकाले मनोनयनमा गर्न कठिन भएको बताए । साथै उनले एक वर्षभर नेपाली खेलकुदले पाएका सफलतालाई दस्तावेजका रूपमा राखिएको र त्यसले छनोट गर्न सहज भएको बताए ।
मनोनयन सार्वजनिक कार्यक्रममा छनोट समितिका सदस्य प्रजित शाक्यले नेपाली खेलकुदले लामो समयदेखि प्रतीक्षा गर्ने कार्यक्रमका रूपमा अवार्ड रहेको बताए । मञ्चका पूर्वअध्यक्ष एवं एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले एआइपिएसका अध्यक्ष जियानी मेर्लो अवार्ड कार्यक्रममा सहभागी हुने जानकारी गराए । अवार्डकै पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यस विधामा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबलटेनिस) छन् । उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ ।
डिजिटल वालेट खल्ती वाई आइएमईबाट भोटिङ, नेपाल खेलकुद पत्रकार मञ्चको र मुख्य प्रायोजक गोल्छा ग्रुपको आधिकारिक फेसबुक पेजबाट भोटिङ जारी छ । नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेल संघका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यहरूले दिएको मत पनि यस विधाको विजेता छनोटको आधार हुनेछ । स्पोर्टस अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको घोषणा कार्यक्रमकै दिनमा नै घोषणा गरिनेछ । वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको विजेतालाई पल्सर मोटरबाइक प्रदान गरिनेछ ।
अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाउने मञ्चले जनाएको छ । यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा गु्रपको बजाज पल्सर मोटरसाइकल छ । अवार्डको प्रवद्र्धकमा पोखरा महानगरपालिका छ । अन्य सहयोगीमा खल्ती, नासा सेक्युरिटिज, केल्मी नेपाल, यति एयरलाइन्स, मझेरी रिसोर्ट एन्ड स्पा, म्याजेस्टिक होटल, प्लाजा ग्रुप अफ होटल्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती खेलकुद विकास परिषद्, सूर्य नेपाल प्रालि, होटल रोयल सिंगी, नेपाल टुरिजम बोर्ड, स्विफ्ट होलिडेज, रारा चाउचाउ र नेपाल ओलम्पिक कमिटी (एनओसी) छन् ।
प्रकाशित: २१ भाद्र २०८२ २१:१९ शनिबार





