३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

टी-२० विश्वकप : सुपर ८ को पहिलो खेलमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

टी-२० विश्वकपको सुपर ८ चरणको पहिलो खेलमा आज पाकिस्तान र न्युजिल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ। कोलम्बोको आर. प्रेमदासा रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। दुवै टोली समूह चरणका आफ्ना अन्तिम खेल जितेर यस चरणमा पुगेका हुन्।

समूह चरणमा दुवैले ३-३ खेल जितेका थिए भने १-१ खेलमा हार बेहोरेका थिए। पाकिस्तान भारतसँग पराजित भएको थियो भने न्युजिल्याण्ड दक्षिण अफ्रिकासँग हारेको थियो। यी दुई टोलीबिचको हेड-टु-हेड भिडन्त निकै रोचक छ। हालसम्म भएका ४९ खेलमध्ये पाकिस्तानले २४ र न्युजिल्याण्डले २३ खेल जितेका छन्। विश्वकपको इतिहासमा भने पाकिस्तानको पल्ला भारी छ, सात भेटमा पाकिस्तानले पाँच पटक न्युजिल्याण्डलाई हराएको छ।

न्युजिल्याण्डका लागि टिम सेफर्ट सर्वाधिक रन बनाउने खेलाडी हुन् भने लकी फर्गुसनले सबैभन्दा धेरै विकेट लिएका छन्। उता पाकिस्तानका साहिबजादा फरहानले नामिबिया विरुद्ध शतक प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए। बलिङतर्फ उस्मान तारिकले ३ खेलमा ८ विकेट लिएका छन्।

आर. प्रेमदासा रंगशालाको पिच स्पिनरका लागि अनुकूल मानिन्छ। यस प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गर्ने टोलीले धेरै खेल जितेका छन्। शनिबार कोलम्बोको मौसममा बादल लाग्ने र हावाहुरी चल्ने सम्भावना छ भने वर्षाको सम्भावना ३० देखि ४० प्रतिशतसम्म रहने बताइएको छ।

पाकिस्तानी टोलीको सम्भावित खेलाडीमा कप्तान सलमान आगासहित साहिबजादा फरहान, सैम अयुब, बाबर आजम, उस्मान खान, ख्वाजा नाफी, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, सलमान मिर्जा र उस्मान तारिक रहेका छन्।

त्यस्तै न्युजिल्याण्डको टोलीमा कप्तान डेरिल मिचेलसहित फिन एलेन, टिम सेफर्ट, रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, जिमी नीशम, म्याट हेनरी, काइल जेमिसन, कोल म्याकोन्ची र ज्याकब डफी रहने छन्।

प्रकाशित: ९ फाल्गुन २०८२ ०९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App