२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य, हरमितको विष्फोटक ब्याटिङ

विष्फोटक पारी खेल्दै हरमित सिंह। तस्बिर: एनपिएल

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजसामु जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निकै खराब सुरुवात गरे पनि मध्यक्रम र तल्लो क्रमका ब्याटरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन को सम्मानजनक योगफल खडा गरेको हो।

खेलको सुरुवात सुदूरपश्चिमका लागि धराशायी नै बन्यो। काठमाडौंका कप्तान तथा तीव्र गतिका बलर करण केसीले आफ्नो सुरुवाती स्पेलमा सुदूरपश्चिमको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए।

इनिङको पहिलो ओभरमै जोस ब्राउन (०) र विनोद भण्डारी (०) लाई आउट गराएका केसीले तेस्रो ओभरमा स्टार खेलाडी क्रिस लिन (२) लाई पनि पेभिलियन फर्काए।

पावरप्ले सकिँदा सुदूरपश्चिमले २७ रन जोड्दा ४ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो।

संकटमा परेको टोलीलाई आरिफ शेख र कप्तान दीपेन्द्र सिंह ऐरीले सम्हाल्ने प्रयास गरे।

आरिफले २४ बलमा २५ रन बनाएर रसिद खानको बलमा आउट भए। त्यसपछि क्रिजमा जमेका कप्तान दीपेन्द्र सिंह ऐरी ले ३० बलमा ३ चौका र १ छक्कासहित ३९ रनको योगदान दिँदै इनिङलाई अघि बढाए।

एक समय १०० रन पनि नकट्ने देखिएको सुदूरपश्चिमको इनिङलाई हरमित सिंहले नाटकीय रूपमा परिवर्तन गरिदिए।

सातौँ नम्बरमा ब्याटिङ गर्न आएका सिंहले काठमाडौंका बलरहरूमाथि जाइलाग्दै त्रिवि मैदानमा छक्काको वर्षा गरे।

हरमितले मात्र २० बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले। उनले आफ्नो इनिङमा २ चौका र ६ विशाल छक्का प्रहार गर्दै २६५.०० को स्ट्राइक रेटमा रन जोडे।

उनको यही आक्रामक ब्याटिङका कारण सुदूरपश्चिम १४७ रनको बलियो स्थितिमा पुग्न सफल भयो। उनी १८.५ ओभरमा सन्नी पटेलको बलमा आउट भए।

काठमाडौं गुर्खाजका लागि करण केसी नायक साबित भए। उनले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यस्तै, सन्नी पटेल, रसिद खान र मिलिन्द कुमारले समान २–२ विकेट लिँदै सुदूरपश्चिमलाई अलआउट गर्न मद्दत गरे।

अहिले काठमाडौं गुर्खाज १४८ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रने तयारीमा छ।

प्रकाशित: ३ मंसिर २०८२ १७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App