निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको छ।
बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दुर्गम क्षेत्रबाट मतपेटिका छिटो र सुरक्षित रूपमा संकलन गर्न हवाई साधनको प्रयोग गरिएको जानकारी दिएका हुन्।
आयोगका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सम्पूर्ण मतपेटिका बिहीबार नै हेलिकप्टरमार्फत सम्बन्धित मतगणना स्थलमा पुर्याइने लक्ष्य राखिएको छ।
यस्तै, अन्य दुर्गम जिल्लाहरू संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लाका मतपेटिकाहरू भने शुक्रबार बिहानसम्म सम्बन्धित स्थानमा पुर्याइने भण्डारीले बताए।
सडक सञ्जालको पहुँच कम भएका र भौगोलिक विकटता रहेका यी स्थानबाट मतपेटिका संकलन भएलगत्तै मतगणना प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।
भण्डारीले भने, ‘मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि निर्देशिका २०८२ अनुसार तत्काल मतगणना सुरु हुनेछ।’
प्रकाशित: २१ फाल्गुन २०८२ १८:४६ बिहीबार





