मध्यपूर्व क्षेत्रको हवाई क्षेत्र प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने केही अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरेर आज (बिहीबार) मात्रै जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका गरेर १५ अन्तर्राष्ट्रिय उडान रद्द गरेको जानकारी गराएको हो।
मध्यपूर्वको हवाई क्षेत्रमा आएको अवरोधका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनःतालिका वा रद्द हुन सक्ने सम्भावना रहेको सूचनाका उल्लेख छ।
जजीरा एयरवेजका कुवेत-काठमाडौं-कुवेत उडान रद्द गरिएको छ भने कुवेत एयरवेजका कुवेत-काठमाडौं-कुवेत उडान पनि रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ।
त्यस्तै एयर अरेबियाका शारजाह-काठमाडौं-शारजाह र अबुधाबी-काठमाडौं-अबुधाबी उडान रद्द भएका छन्। फ्लाइ दुबईका दुबई-काठमाडौं-दुबई, नेपाल एयरलाइन्सका काठमाडौं-दोहा-काठमाडौं , काठमाडौं-दुबई-काठमाडौं तथा काठमाडौं-दमाम-काठमाडौं उडान रद्द भएका छन्।
कतार एयरवेजका दोहा-काठमाडौं-दोहा, हिमालय एयरलाइन्सका काठमाडौं-दुबई-काठमाडौं र काठमाडौं-दोहा-काठमाडौं उडान रद्द भएका छन्।
विमानस्थल कार्यालयले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एयरलाइन्स तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। साथै यात्रुहरूलाई आफ्नो उडानको अवस्थाबारे सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थल आउन आग्रह गरिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १८:४८ बिहीबार


-600x400.jpg)


