१४ आश्विन २०८३ बुधबार
image/svg+xml
खेल

यूईएफए नेसन्स लिगमा स्पेन र इंग्ल्यान्ड विजयी

यूईएफए नेसन्स लिगअन्तर्गतगए रातिभएका खेलमा स्पेन, इंग्ल्यान्ड र स्विट्जरल्यान्डले जित हात पारेका छन्।

समूह ‘ए’ मा स्पेनले क्रोएसियालाई ४-१ ले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। स्पेनका लागि लामिन यामालले दुई गोल गरे भने मार्क पुबिल र निको विलियम्सले एक-एक गोल थपे। क्रोएसियाका डियोन बेल्जोले एक गोल फर्काए। जितसँगै स्पेनले समूहमा दुई खेलबाट ६ अंक जोडेको छ।

इंग्ल्यान्डले चेकियालाई २-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ। चेकियाका पाभेल शुल्च २३औं मिनेटमा रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो। दोस्रो हाफको सुरुआतमै एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। ६९औं मिनेटमा कप्तान ह्यारी केनले दोस्रो गोल थपे।

समूह ‘बी’ मा स्विट्जरल्यान्डले स्कटल्यान्डलाई ३-० ले हरायो। खेलको ११औं मिनेटमै ज्याक हेन्ड्रीले रातो कार्ड पाएपछि स्कटल्यान्ड १० खेलाडीमा सीमित भएको थियो। रिकार्डो रोड्रिग्वेज, निको एल्भेदी र जकी आम्दुनीले स्विट्जरल्यान्डका लागि गोल गरे।

यसै समूहमा स्लोभेनियाले उत्तरी म्यासेडोनियालाई २-० ले पराजित गर्‍यो। अन्य खेलमा स्लोभाकियाले काजाकिस्तानलाई २-१, अल्बानियाले सान मारिनोलाई ३-० र आइसल्यान्डले लक्जेम्बर्गलाई ३-० ले हराए।

फिनल्यान्ड र बेलारुस तथा बुल्गेरिया र इस्टोनियाबीचको खेल गोलरहित बराबरीमा सकियो। मोल्डोभा र फारो आइल्यान्ड्सले १-१ को बराबरी खेले।

प्रकाशित: १४ आश्विन २०८३ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App