यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ।
जिल्ला विपद् ब्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनस्थापनाकार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए।
सात जनाको ज्यान गएको, दुई जना बेपत्ता भएको, सडक, विद्युत्, सिँचाइ, खानेपानी, भवनलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको आधारमा म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गरिएको उनले बताए।
त्यसैगरी, म्याग्दीमा बाढीपहिरोले भौतिक संरचना, निजी आवास, कृषि, पशुपन्छी क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन गर्न मङ्गलबारदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उद्धार र राहतसँगै छवटै पालिकामा क्षति विवरण सङ्कलन सुरु भएको जानकारी दिए। उनका अनुसार हालसम्म प्राप्त विवरणअनुसार बाढीपहिरोले बेनी नगरपालिकामा २३, रघुगङ्गामा तीन, मङ्गलामा १८, मालिकामा एक, अन्नपूर्णमा दुई र धवलागिरिमा एकवटा घर पूर्ण क्षति भएको विवरण प्राप्त भएको छ। बेनी नगरपालिकामा नौ र मालिका गाउँपालिकामा एक घरमा आंशिक क्षति पुगेको छ।
बेनीमा २३, रघुगङ्गामा ४७, मङ्गलामा चार, मालिकामा तीन र धवलागिरिमा २३ घर जोखिममा परेका छन्। बेनीमा २१, रघुगङ्गामा २६, मङ्गलामा आठ, अन्नपूर्णमा एकवटा गोठ तथा जिल्लाभर २० वटा पशुधनको क्षति भएको मङ्गलबारसम्म विवरण सङ्कलन भएको छ।
पहिरोले गाउँ घेरिएपछि फसेका अन्नपूर्ण गाउँपालिका-५ पाउद्धार, गिवाङ, नेपाने, किन्दु, धोस्केखोर, घिरवाङका १०९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेर शिख र घारमा अस्थायी शिविर बनाएर राखिएको छ।
विपद्पछि म्याग्दीमा उद्धारमा ७० जना नेपाली सेना, २५१ जना नेपाल प्रहरी र ६० जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भएका छन्। बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीदेखि अन्य जिल्ला र ग्रामीण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन्। सदरमुकामबाहेकका क्षेत्रमा विद्युत् र सञ्चार सेवा पनि अवरुद्ध भएको छ। जिल्ला सदरमुकाम बेनीमा खानेपानीको समस्या भएको छ।
प्रकाशित: १४ आश्विन २०८३ ०६:४५ बुधबार





