२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
खेल

दोस्रो क्वालिफायर: लुम्बिनीद्वारा विराटनगरसामु १३५ रनको लक्ष्य प्रस्तुत

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फाइनल प्रवेशका लागि भइरहेको निर्णायक दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई जितका लागि १३५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनको योगफल तयार पारेको हो।

लुम्बिनीको सुरुवात सुखद रहेन। टोलीले ८ रनको स्कोरमै ओपनर दिनेश अधिकारीलाई १ रनमा गुमाएको थियो। तर, त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल र ओपनर डी आर्सी सर्टले दोस्रो विकेटका लागि ६९ रनको बलियो साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएका थिए।

११.२ ओभरमा कप्तान रोहित पौडेल ३४ रन बनाएर सुवास भण्डारीको बलमा आउट भएपछि लुम्बिनीको ब्याटिङ लाइन धर्मरायो। सर्वाधिक रन बनाएका डी आर्सी सर्टले ४१ बलमा ३ चौका र १ छक्कासहित ४५ रन जोडे।

मध्यक्रममा निरोशन डिकवेलाले २२ बलमा ४ चौका प्रहार गर्दै २९ रन बनाए पनि अन्य ब्याटरहरू चल्न सकेनन्।

सन्दीप जोरा (०), जेजे स्मित (०) र दिलिप नाथ (१) सस्तैमा पेभेलियन फर्किएपछि लुम्बिनीले ठूलो स्कोर बनाउन सकेन। अन्त्यमा रुबेन ट्रम्पेलम्यानले अविजित ११ रन बनाए।

लुम्बिनीलाई मध्यम स्कोरमा रोक्न विराटनगर किङ्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे।

विशेषगरी, सुवास भण्डारीले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए। उनले लुम्बिनीको शीर्ष र मध्यक्रम भत्काउन मुख्य भूमिका खेले।

यस्तै, प्रतिस जिसीले पनि ४ ओभरमा २७ रन दिएर ३ विकेट हात पारे। कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिदै २ विकेट लिए।

मर्चन्ट डे लांगे भने आज केही महँगो सावित भए, उनले ४ ओभरमा ३७ रन दिए पनि कुनै विकेट लिन सकेनन्।

अब फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भिड्नका लागि विराटनगर किङ्सले २० ओभरमा १३५ रन बनाउनुपर्नेछ।

प्रकाशित: २५ मंसिर २०८२ १७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App