नेपालमा पशुपालन व्यवसायको मुख्य चुनौतीका रूपमा रहेको पशुमा देखिने बाँझोपना (बाली नजाने) समस्याको पहिचान र समाधानका लागि सरकारले विशेष सक्रियता देखाएको छ।
यसै क्रममा राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्रले चालु आर्थिक वर्ष २०८२/८३ मा चार सयवटा गाई तथा भैंसीमा बाँझोपनासम्बन्धी विस्तृत परीक्षण गर्ने भएको छ।
केन्द्रले ‘एकीकृत गाई–भैंसी प्रजनन सुधार परियोजना’ अन्तर्गत यो वर्ष विशेषगरी सुदूरपश्चिम प्रदेशको कैलाली र कोशी प्रदेशको इलाम जिल्लालाई कार्यक्षेत्र बनाएर परीक्षण अघि बढाउने भएको हो।
केन्द्रकी सूचना अधिकारी डा. मीरा प्रजापतिका अनुसार यो परियोजना गत आर्थिक वर्ष २०८१/८२ देखि सुरु गरिएको हो र चालु आवमा यसलाई अझ व्यापक रूपमा निरन्तरता दिने तयारी गरिएको छ।
अहिले यी दुई जिल्लाका विभिन्न स्थानमा पुगेर प्राविधिक टोलीले गाई–भैंसीको नमुना संकलनको काम तीव्र गतिमा गरिरहेको डा. प्रजापतिले जानकारी दिइन्। नमुना संकलनको कार्य सकिएलगत्तै प्रयोगशालामा विस्तृत परीक्षणको काम सुरु हुनेछ।
केन्द्रले गत आर्थिक वर्ष २०८१/८२ को पहिलो चरणमा देशका चारवटा जिल्लाहरू सप्तरी, मोरङ, सुनसरी र काभ्रेपलाञ्चोकमा यो कार्यक्रम सञ्चालन गरेको थियो।
उक्त अवधिमा २३ वटा घरपरिवार र तीनवटा ठूला व्यावसायिक पशु फार्महरूबाट छनोट गरिएका ५० वटा गाई तथा भैंसीमा बाँझोपनासम्बन्धी क्लिनिकल परीक्षण गरिएको थियो।
केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार परीक्षण गरिएका ५० वटा पशुमध्ये १५ वटामा गर्भ उल्टिने वा तुहिने गम्भीर समस्या देखिएको थियो।
यस्तै, १० वटा गाई–भैंसीमा भाले (राँगो वा साँढे) नखोज्ने अथवा थारो रहने समस्या पाइएको थियो। नेपालमा गाई र भैंसीमा देखिएको यो बढ्दो बाँझोपनाको समस्याले किसानलाई ठूलो आर्थिक नोक्सानी पुर्याइरहेको निष्कर्ष निकाल्दै केन्द्रले यसको समाधानका लागि ‘एकीकृत व्यवस्थापन रणनीति’ मार्फत परियोजना सञ्चालनमा ल्याएको हो।
पशु स्वास्थ्य अनुसन्धान केन्द्रले गत वर्ष संकलन गरेका दुग्ध नमुनाहरूको विस्तृत प्रयोगशाला परीक्षण गर्दा चिन्ताजनक नतिजाहरू बाहिर आएका छन्।
कुल ६३ वटा दुग्ध नमुनामध्ये ४४ प्रतिशत (२८ वटा) मा बाहिर लक्षण नदेखिने तर भित्रभित्रै असर गर्ने ‘लक्षण बिनाको थुनेलो’ रोगको संक्रमण पुष्टि भएको छ।
यसैगरी, पशुमा लाग्ने संक्रामक रोग ब्रुसेलेसिसको पहिचानका लागि ‘रोज बेगाल टेस्ट’ र ‘एलाइजा टेस्ट’ मार्फत सिरोलोजिकल परीक्षण गर्दा भने सुखद नतिजा आएको छ।
परीक्षण गरिएका सबै नमुनाहरूमा ब्रुसेलेसिसको नतिजा ‘नेगेटिभ’ पाइएको केन्द्रले जनाएको छ।
तर, २० वटा दुग्ध नमुनाको ब्याक्टेरियोलोजी परीक्षण गर्दा ब्याक्टेरियाको उच्च प्रकोप देखिएको छ। परीक्षण नतिजा अनुसार ९० प्रतिशत नमुनामा ‘स्टेफिलोकोकस औरियस’ र ३५ प्रतिशतमा ‘एसेरिकिया कोली’ जीवाणुको संक्रमण भेटिएको छ।
अनुसन्धानले यी जीवाणुहरूमा एन्टिबायोटिकको प्रभावकारिताबारे पनि नयाँ तथ्य फेला पारेको छ। यी जीवाणुहरू ‘क्लोरोम्फेनिकोल’ र ‘डक्सीसाइक्लिन’ औषधीप्रति संवेदनशील (उपचार लाग्ने) देखिए पनि ‘पेनिसिलिन–जी’ र ‘एंपिसिलिन’ जस्ता एन्टिबायोटिकप्रति भने पूर्ण रूपमा प्रतिरोधी भइसकेको पाइएको छ।
यसले पशु उपचारमा एन्टिबायोटिकको प्रयोगमा सतर्कता अपनाउनुपर्ने संकेत गर्छ।
बाँझोपनाका कारण र जोखिम
पशुमा देखिने संक्रामक रोगहरू नै बाँझोपनाको प्रमुख कारण रहेको केन्द्रको निष्कर्ष छ।
यस्ता रोगका कारण गर्भ नअडिने, बच्चा तुहिने र लामो समयसम्म बाली नखोज्नेजस्ता समस्याहरू देखा पर्ने गर्दछन्।
सूचना अधिकारी डा. प्रजापतिका अनुसार यस्ता संक्रामक रोगहरू पशुबाट मानिसमा पनि सर्ने जोखिम रहन्छ। ‘यस्ता समस्या भएका पशु पाल्ने किसान परिवार र तिनको उपचारमा प्रत्यक्ष संलग्न रहने पशु चिकित्सक तथा प्राविधिकहरूलाई समेत रोग सर्ने जोखिम हुनसक्छ,’ उनले भनिन्, ‘यसले पशुको प्रजनन प्रणालीमा दीर्घकालीन विकृतिहरू निम्त्याउन सक्छ।’
विशेषगरी उन्नत जातका गाईहरू, जस्तै होलस्टेन जातमा सन्तुलित आहारको कमी हुँदा समस्या बढी देखिएको छ। पोषण नपुग्दा गाईहरू सामान्यभन्दा बढी दुब्लो हुने र यसले गर्दा अण्डासयको सामान्य रूपमा चल्नुपर्ने ‘ऋतुचक्र’ नै निष्क्रिय हुने गरेको पाइएको छ।
डा. प्रजापतिले भनिन्, ‘हाम्रो अध्ययनमा केही गाईहरू एकपटक व्याएपछि पाँच वर्षसम्म पनि पुनः गर्भाधारण नगरेको भेटिएको छ। अधिकांश गाई–भैंसी ब्याएको २१ महिना बितिसक्दा पनि ऋतुचक्रमा प्रवेश नगरेको (बाली नखोजेको) पाइएको छ। यो किसानका लागि ठूलो घाटा हो।’
पशु स्वास्थ्य विज्ञहरूका अनुसार शरीरमा रगतको मात्रा कम हुने, रगतमा हेमोग्लोबिनको कमी हुने, जुकाको संक्रमण हुने र शारीरिक अवस्था कमजोर हुने कारणले पनि पशुचौपायामा बाँझोपनाको समस्या देखिन्छ।
यसको न्यूनीकरणका लागि किसानले पशुको आहारविहारमा विशेष ध्यान दिनुपर्ने सुझाव केन्द्रले दिएको छ।
उन्नत जातका गाई–भैंसीपालन गर्दा पोषणयुक्त आहार, विशेषगरी हरियो घाँस र कोसे जातका घाँसहरू नियमित रूपमा उपलब्ध गराउनुपर्ने डा. प्रजापतिको सुझाव छ।
साथै, संक्रामक रोगहरूको समयमै निदान र उपचारका लागि सम्बन्धित सरकारी निकाय र सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिएकी छन्।
केन्द्रले यो वर्ष ४ सय पशुमा गर्ने परीक्षणले बाँझोपनाको कारण पत्ता लगाई समाधानका लागि थप ठोस नीति बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २५ मंसिर २०८२ २१:३० बिहीबार





