२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

'प्रभुराम राई आमन्त्रित फुटबल' उपाधि नेर्पालाई

नेर्पाका खेलाडी पुरस्कार र ट्रफीका साथ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ स्थित बुइपामा सम्पन्न  ‘प्रभुराम राई आमन्त्रित फुटबल कप प्रतियोगिता २०८२’को उपाधि खोटाङकै नेर्पा स्पोर्टस क्लब नेर्पाले चुमेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा सम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राईब्रेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै नेर्पाले उपाधि चुमेको हो ।

निर्धारित समयभित्र दुवै टोलीले १-१ गोल बराबर भएपछि समय अभावका कारण नतिजा निकाल्न ट्राईब्रेकरको सहारा लिनुपरेको आयोजक क्लबका सचिव रोशन चामलिङले बताए। बुइपाका सामाजिक अगुवा तथा बुइपा–११ स्पोर्टस क्लब बुइपाका सँस्थापक अध्यक्ष ८२ वर्षीय प्रभुराम राईको सम्मानमा उनकै परिवारको प्रायोजनमा प्रतियोगिता आयोजना आयोजना गरेको हो ।  

अहिलेसम्म जिल्लाकै सर्वाधिक राशिको प्रतियोगिता विजेता नेर्पाले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जिल्लाभित्रका ६ टिम र बाहिरीका ४ गरि १० खेल समूहको  सहभागिता रहेको प्रतियोगिताका उपविजेता गछिया युवा समाज मोरङलाई नगद १ लाख ५१ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिताका सेमिफाईनलिष्ट २ समूह खारम्बु स्पोर्टस् क्लब खार्मी र आयोजक बुइपा-११ स्पोर्टस् क्बल बुइपालाई नगद ५०-५० हजारका साथ मेडल र प्रमाणपत्र प्रदान गरियो । त्यसैगरि हरेक खेलको म्यान अफ दि म्याच घोषणा गरि नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता अवधिभरका सर्वोउत्कृष्ट खेलाडीको पुरस्कार नेर्पा स्पोर्टस् क्लबकै सलिन ढकाल ‘राम’ले पाए । उनलाई नगद ३० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता समान ५-५ गोल गर्ने नेर्पा स्पोर्टस क्लबका बिकी चामलिङ र गछिया युवा समाजका मिक्चेन दास, उत्कृष्ट गोलरक्षक नेर्पाका रोहन परियार, उत्कृष्ट डिफेन्डरमा बुइपाका रामसुर राई, उत्कृष्ट मिडफिल्डरमा गछियाका योना लिम्बू, उदयमान खेलाडी बुइपाका एलन राई, उत्कृष्ट फरवार्ड गछियाका रोहन गुरुङ र उत्कृष्ट प्रशिक्षक नेर्पाका डिगेन्द्र गुरुङ पनि १५-१५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत भए ।

समापन कार्यक्रममा विजयी क्लब तथा खेलाडीहरुलाई प्रायोजक प्रभुराम राई र उनकी धर्मपत्नी सीता राई तथा जेठा छोरा वडाध्यक्ष दिनेश राईले ट्रफी, मेडल, प्नमाणपत्र र नगद पुरस्कार वितरण गरे । माघ-७ गतेदेखि सुरु प्रतियोगपताको औपचारिक उद्घाटन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईले गरेका थिए ।

प्रायोजक प्रभुराम राई सामाजिक सेवासँगै खेलकुद क्षेत्रप्रति हुरुक्क हुने पूर्व बेलायती सेना हुन् । सेनाबाट निबृत्त भएपछि बुईपामा उनले बुईपा-११ स्पोर्ट्स क्लब स्थापना गरेर अहिलेसम्म गाउँमा खेलकुद गतिबिधि गर्दै आएका छन् । उनको योगदानकै सम्मानमा परिवारजनले जिल्लाकै ठूलो पुरस्कार राशीको प्रतियोगितामा लगानी गरेको हो । गाउँमै राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पटक यस्तो आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना  गरिएको वडाध्यक्षसमेत रहेका छोरा दिनेशले बताए ।

प्रकाशित: १२ माघ २०८२ २१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App