२० पुस २०८२ आइतबार
image/svg+xml
खेल

हिमालयन ब्लिट्ज चेसको उपाधि फिडेमास्टर क्षितिजलाई

फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले कीर्तिमानी सहभागिता रहेको ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को उपाधि जितेका छन्।

हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगितामा २४७ खेलाडी सहभागी थिए। यो नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठूलो सहभागिता हो।

एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूका अनुसार गत वर्ष फिडे स्थापनाको १०० वर्षको अवसरमा आयोजित पहिलो संस्करण ‘हिमालयन १००’ गिनिज वर्ल्ड रेकर्डमा सूचीकृत भइसकेको छ। सोही अभियानको दोस्रो संस्करणको रूपमा यो प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको खुलातर्फ भण्डारीले ९.५ अंक जोड्दै उपाधिसहित १० हजार रुपैयाँ नगद पुरस्कार जिते। ९ अंकसहित सीएम पुरुषोत्तम सिलवाल दोस्रो हुँदै ७ हजार रुपैयाँ प्राप्त गरे भने ८.५ अंक जोडेका मुकुन्द नापित तेस्रो भए र ५ हजार रुपैयाँ पाए।

शीर्ष १० मा पर्ने सन्तोष श्रेष्ठ, रुपेश जैसवाल, प्रेम कृष्ण अधिकारी, रिसन थापा, सुरोज महर्जन, प्रेम खड्का र पुरुषोत्तम चौधरीले जनही एक हजार रुपैयाँ प्राप्त गरे।

कुल १९ विधामा आयोजना गरिएको प्रतियोगितामा ६ देखि ८४ वर्षसम्मका खेलाडी सहभागी थिए।

प्रतियोगितामा नायुमा मगर, निहाना श्रेष्ठ, प्रज्ञा पन्त लगायत ३२ खेलाडी पुरस्कृत भए। कुल ६७ हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका थिए।

प्रकाशित: ३ श्रावण २०८२ २१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App