२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

सडकबाट महेश बस्नेतले भने- दल बाहिरको व्यक्तिलाई प्रधानमन्त्री मान्न एमाले तयार छ

नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न आफ्नो पार्टीले ‘दल बाहिरको साझा व्यक्ति’ लाई प्रधानमन्त्री मान्न समेत तयार रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एमालेको जनप्रदर्शनका क्रममा सञ्चारकर्मीसँग बोल्दै बस्नेतले यस्तो अभिव्यक्ति दिएका हुन्।

वर्तमान सरकारलाई अवैधानिक र असंवैधानिकको संज्ञा दिँदै नेता बस्नेतले अबको निकासका लागि एमाले लचिलो रहेको बताए।

उनले भने, ‘दलहरूप्रति जनताको रिस अझै मरेको छैन भने, दलभन्दा बाहिरका साझा व्यक्तित्वबाट प्रधानमन्त्री बनाउने कुरा भयो भने पनि हामी सहमत नै छौं।’

बस्नेतले जेन-जी पुस्ताका जायज मागहरूलाई सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने र त्यसपछि बन्ने सर्वपक्षीय सरकारमा युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

गृहमन्त्रीमाथि आरोप: ‘आन्दोलन भड्काउन मान्छे भेट्दै हिँडे’

बस्नेतले गृहमन्त्री ओम प्रकाश अर्याल र सुदन गुरुङमाथि एमालेको शान्तिपूर्ण आन्दोलन भड्काउन षड्यन्त्र गरेको आरोप समेत लगाए।

उनले भने, ‘गृहमन्त्री र सुदन गुरुङले एस्तो ठाउँमा मान्छे भेटे कि, जसको उद्देश्य सिमराको आन्दोलन भड्काउने र काठमाडौंको एमालेको कार्यक्रम बिथोल्ने थियो।’ उनले सरकार आफैं मुठभेड निम्त्याउन उद्दत रहेको दाबी गरे।

काठमाडौं महानगरका मेयर बालेन साहप्रति लक्षित गर्दै पनि बस्नेतले टिप्पणी गरे। उनले बालेनले कोठामा बसेर स्टाटस लेखेकै भरमा संसद विघटनको परिकल्पना गरेको भन्दै  आक्रोश पोखे।

‘बालेनजीले बन्द कोठामा बसेर स्टाटस लेखेको भरमा संसद विघटन भएको छ,’ बस्नेतले भने, ‘संविधान र लोकतन्त्रको रक्षा फेसबुकका स्टाटसले मात्र गर्दैनन्।’

बस्नेतले सञ्चारमाध्यममा आएका अडियो टेपहरूको प्रसंग कोट्याउँदै प्रधानमन्त्री सुशिला कार्की र ओमप्रकाश अर्यालको अडियो सार्वजनिक भइसक्दा पनि सरकार मौन बसेको भन्दै नैतिकताको प्रश्न उठाए। उनले यी प्रमाणहरू बाहिर आउँदा पनि सरकार पदमा बसिरहनु लज्जास्पद भएको बताए।

साथै, प्रधानमन्त्रीले शीर्ष नेताहरूसँग संवाद गर्नुको साटो साना-मसिना सयौं दललाई बोलाएर ‘जात्रा’ देखाएको बस्नेतको आरोप छ।

‘शेरबहादुर देउवा सिंगापुरमा बिरामी हुँदा एक कल फोन नगर्ने प्रधानमन्त्रीले अहिले गजाङगुजुङ १२० वटा दल बोलाएर प्रभावशाली दलहरूको गरिमा घटाउने काम गर्नुभयो,’ उनले आक्रोश पोखे।

प्रकाशित: ६ मंसिर २०८२ १९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App