२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर घरमै लडे, अस्पताल भर्ना

फाइल तस्बिर

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मंगलबार आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन्। एक सय वर्ष पुगिसकेका महाथिरको दाहिने हिपमा फ्र्याक्चर भएको सहयोगीले जानकारी दिएका छन्।

सहयोगी सुफी युसोफका अनुसार महाथिरलाई मंगलबार बिहान होसमै क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युटमा एम्बुलेन्समार्फत लगिएको थियो। प्रारम्भिक चिकित्सकीय परीक्षणपछि उनको दाहिने खुट्टामा हिप फ्र्याक्चर भएको पुष्टि गरिएको सुफीले बताए।

उनका अनुसार उपचार र चिकित्सकीय निगरानीका लागि महाथिर आगामी केही हप्तासम्म अस्पतालमै भर्ना रहने अपेक्षा गरिएको छ। बालकनीको एक भागबाट बैठक कोठातर्फ सर्ने क्रममा उनी लडेको सहयोगीले स्पष्ट गरे।

महाथिरले पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य समस्या भोग्दै आएका छन्। गत जुलाईमा आफ्नो शताब्दी पूरा भएको अवसरमा आयोजित पिकनिक समारोहपछि अत्यधिक थकानका कारण पनि उनी अस्पताल भर्ना भएका थिए। यसअघि उनले मुटुसम्बन्धी समस्याका कारण बाइपास शल्यक्रिया पनि गराइसकेका छन्।

यस घटनापछि मलेसियाका वर्तमान प्रधानमन्त्री अनवर इब्राहिम र उनको पत्नी वान अजिजा वान इस्माइलले महाथिरको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। प्रधानमन्त्री अनवरले सामाजिक सञ्जालमार्फत ‘अजिजा र म तुन महाथिरको स्वास्थ्य र शीघ्र निको हुने कामना गर्दछौँ, भगवानले चाहे’, भन्दै शुभेच्छा व्यक्त गरेका छन्।

महाथिर मोहम्मद मलेसियाको राजनीतिमा दीर्घकालीन प्रभाव राख्ने नेताका रूपमा चिनिन्छन्। उनले सन् १९८१ देखि २००३ सम्म र फेरि २०१८ देखि २०२० सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। दोस्रो कार्यकालमा ९४ वर्षको उमेरमा उनी विश्वकै सबैभन्दा वृद्ध निर्वाचित सरकार प्रमुख बनेका थिए। एजेन्सी

प्रकाशित: २३ पुस २०८२ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App