२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
खेल

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

विराटनगर किङ्सको चुनौती ४० रनले पन्छाउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को फाइनलमा प्रवेश गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न निर्णायक दोस्रो क्वालिफायर खेलमा १३५ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्स १७.५ ओभरमा ९४ रनमै अलआउट भएपछि लुम्बिनीले उपाधि यात्रा तय गरेको हो।

यो जितसँगै लुम्बिनीले अब शनिबार हुने फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

१३५ रनको लक्ष्य पछ्याएको विराटनगरको सुरुवात निकै खराब रह्यो। पावर प्लेमै २८ रन जोड्दा ३ विकेट गुमाएको विराटनगरले नियमित अन्तरालमा विकेट गुमाउँदा खेलमा पुनरागमन गर्न सकेन।

विराटनगरका लागि साम हेजलेटले सर्वाधिक ३४ रन बनाए। मध्यक्रममा नरेन भट्टले २१ बलमा २१ रन र मर्चन्ट डे लांगेले १७ रन जोडे पनि टोलीलाई जिताउन पर्याप्त भएन।

स्टार खेलाडीहरू मार्टिन गप्टिल (२), फाफ डु प्लेसिस (३) र लोकेश बम (०) सस्तैमा पेभेलियन फर्किएपछि विराटनगरको इनिङ्स धराशायी बनेको थियो।

विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीका बलर तिलक भण्डारी नायक सावित भए।

‘प्लेयर अफ द म्याच’ घोषित भण्डारीले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए। यस्तै, रुबेन ट्रम्पेलम्यान, जेजे स्मित र अभिषेक गौतमले समान २–२ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनको योगफल तयार पारेको थियो।

सुरुवातमै १ विकेट गुमाएको लुम्बिनीका लागि ओपनर डी आर्सी सर्ट र कप्तान रोहित पौडेलले दोस्रो विकेटका लागि ६९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।

सर्टले सर्वाधिक ४५ रन बनाए भने कप्तान पौडेलले ३४ रनको योगदान दिए। विकेटकिपर निरोशन डिकवेलाले २९ रन बनाए।

बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रतिस जिसीले कसिलो बलिङ गर्दै समान ३–३ विकेट लिएका थिए। कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे।

लिग चरण र प्लेअफमा राम्रो प्रदर्शन गरेको विराटनगर किङ्सको यात्रा भने तेस्रो स्थानमा रहँदै टुंगिएको छ।

अब पहिलो संस्करणको एनपिएल उपाधिको छिनोफानो शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

प्रकाशित: २५ मंसिर २०८२ १९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App