तीन टोली ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन हेभनले दोस्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन्।
नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा सम्पन्न प्रतियोगितामा ज्ञान निकेतन सिनियर ब्वाइज, ग्रिनलन्स जुनियर ब्वाइज र बौद्ध सिनियर गल्र्समा च्याम्पियन भएका हुन्।
सिनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले विल्सन एकेडेमीलाई १२–१० ले पराजित ग¥यो। हेम्स तेस्रो भयो। जुनियर ब्वाइजको फाइनलमा ग्रिनलन्सले स्पाङ्गेललाई ११–७ ले हरायो। ज्ञान निकेतन तेस्रो बन्यो। सिनियर गल्र्सको उपाधि भिडन्तमा बौद्धले डाफोडिल पब्लिक स्कुललाई ८–६ ले हरायो। हिमाली तेस्रो स्थानमा रह्यो।
तीनै विधाका विजेताले सात हजार १ सय ११ र उपविजेताले ५ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरे। सिनियर ब्वाइजमा ज्ञान निकेतनका महेन्द्र प्याकुरेल, जुयिनर ब्वाइजमा ग्रिनलन्सका प्रवेश प्रधान र सिनियर गल्र्समा बौद्धकी ल्हामु शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।
विजेतालाई काठमाडौं महानगरपालिका वडा १० का अध्यक्ष रामकुमार केसी, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, काठमाडौं जेभियर्स संस्थापक प्रिन्सिपल आरबी अधिकारी, बागमती प्याब्सनका सहसचिव श्रीराम दाहाल, काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापालगायतले पुरस्कृत गरे।
सो अवसरमा संस्थापक प्रिन्सिपल अधिकारीले प्रतियोगितालाई प्रायोजन गरेकोमा आफ्ना पूर्वविद्यार्थी सञ्जीव मगरलाई धन्यवाद दिँदै स्कुलप्रति सञ्जीवले देखाएको माया र सद्भावको सराहना गरे। तीनदिने प्रतियोगिताको सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४ र सिनियर गल्र्समा १६ टोली सहभागी थिए।
प्रकाशित: २ श्रावण २०८२ ०७:१५ शुक्रबार





