२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
खेल

इलाम-सन्दकपुर रेडपान्डा म्याराथन पुस १ मा हुने

बिहीबार इलाममा पत्रकार सम्मेलन गरी म्याराथनबारे जानकारी गराइँदै। तस्बिरः भीम/नागरिक

गत असोज ४ गते हुने भनिए पनि जेनजी आन्दोलनका कारण स्थगित भएको इलाम–सन्दकपुर रेडपान्डा म्याराथन आउँदो पुस १ मा आयोजना गरिएको छ। इलाम बजारबाट जिल्लाकै अग्लो डाँडा सन्दकपुरसम्म म्याराथन आयोजना गरिने भएको हो।

दुर्लभ वन्यजन्तु रेडपान्डा तथा जैविक विविधता संरक्षणबारे जनचेतना जगाउने उद्देश्यले दीपज्योति युवा क्लबको आयोजनामा ४४.२ किलोमिटरको म्याराथन हुने भएको हो। समुद्री सतहबाट एक हजार आठ सय २० देखि तीन हजार छ सय १० मिटर उचाईसम्ममा म्याराथन हुने आयोजक क्लबका राम रिमालले बिहीबार इलाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। म्याराथनमा करिब सय धावक सहभागी हुने अनुमान आयोजकले गरेको छ।

पुरुष खुला, महिला खुला र स्थानीय (इलाम, पाँचथर ताप्लेजुङ) गरी तीन विधाका विजयी धावकले पुरस्कार पाउनेछन्। खुलामा पुरुष र महिलातर्फ पुरस्कार राशि बराबर छ। पहिलो हुनेले डेढ लाख, दोस्रोले एक लाख, तेस्रोले ५० हजार र चौथोले ३० हजार रुपैयाँ पाउने क्लबका राम रिमालले जानकारी दिए। स्थानीयतर्फका विजेतामध्ये पहिलोले २५ हजार, दोस्रोले २० हजार, तेस्रोले १० हजार र चौथोले पाँच हजार रुपैयाँ पाउने छन्।

खेलाडीलाई इलाम बजारबाट म्याराथन सुरु भएपछि स्वास्थ्यकर्मीसहितको टोलीले निगरानी गर्नेछ। विभिन्न स्थानमा धावकहरूलाई उनीहरूको सुविधाका लागि पानी, फलफूल र आवश्यक परे उपचारसमेतको व्यवस्था गरिने खेल जानकार गणेश खतिवडाले जनाए।  

विश्वमा १० हजार संख्यामा रहेको अनुमान गरिएको दुर्लभ वन्यजन्तु रेडपान्डाको संख्या नेपालमा एक हजार रहेको अनुमान छ। पूर्वीपहाडका इलाम, पाँचथर, ताप्लेजुङलगायत भारतीय सीमावर्ती क्षेत्रमा रेडपान्डा पाइन्छ। मानिस र अन्य जनावरबाट रेडपान्डालाई बचाउन विभिन्न संघ–संस्थाले यो क्षेत्रमा करोडौं रुपैयाँका परियोजनासमेत सञ्चालन गरिरहेका छन्। यसैअन्तर्गत क्लबले रेडपान्डा संरक्षण र पर्यटन प्रवर्धनका लागि म्याराथन आयोजना गर्ने भएको रिमालको भनाइ छ।  

क्लबले गतवर्ष पनि ताप्लेजुङमा अन्तर्राष्ट्रिय ट्रेल म्याराथन आयोजना गरेको थियो। ‘खेलकुदलाई पनि पनि प्रकृति संरक्षणसँग जोड्न सकिन्न भन्ने यसको सन्देश हो,’ रिमालले भने, ‘त्यसकै माध्यमबाट स्थानीय समुदायलाई दुर्लभ वन्यजन्तुको संरक्षणमा जागरुक गराउनु हाम्रो लक्ष्य हो।’

प्रकाशित: २५ मंसिर २०८२ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App