दुई पल्ट विश्वविजेता इङ्ल्यान्डले आइसिसी टी ट्वान्टी विश्वकपको पहिलो खेलमा नेपाललाई एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
मुम्बईस्थित वाङ्खडे स्टेडियममा भएको समूह ‘सी’ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पूरै ओभरमा सात विकेट गुमाउँदै एक सय ८४ रन जोडेको हो। ज्याकबले ५५ रन र कप्तान ह्यारी ब्रुकले ५३ रनको इनिङ खेल्दै नेपाललाई बलियो लक्ष्य दिएका हुन्। जस बटलरले २६ रनमा आउट हुँदा विल ज्याक्सले ३० रन जोडे।
त्यसअघि डेब्यु खेलको पहिलो बलमा नै शेर मल्लले ओपनर फिल साल्टलाई १ रनमा आउट गर्दै राम्रो सुरुआत दिए। इनिङको दोस्रो ओभरमा उनले साल्टलाई सन्दीप लामिछानेबाट क्याच गराएका हुन्। छिटै विकेट भए पनि इङ्ल्यान्ड आक्रामक ब्याटिङ गर्यो। तर, पावर प्लेमा इङ्ल्यान्डले अर्का ओपनर जस बटलरलाई २६ रनमा गुमायो। पाँचौं ओभरमा नन्दन यावदले विकेटकिपर बटलरलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराएका हुन्। तर, इङ्ल्यान्डले पावर प्लेमा नै ५७ रन जोड्यो। सातौं ओभरमा स्पिनर सन्दीपले टम ब्यान्टनलाई १ रनमा नै एलबिडब्लु आउट गरे।
यससँगै इङ्ल्यान्डको तीव्र रन गति अंकुश लगाउने आशा गरिएको थियो। तर, ज्याकब बेथल र कप्तान ह्यारी ब्रुकले आक्रामक ब्याटिङ गर्दै नेपाली बलरमाथि दबाब बनाए। चौथो विकेटका लागि यी दुई बीच ७१ रनको साझेदारी बन्यो। त्यसअघि इङ्ल्यान्डले ११.१ ओभरमै सय रनको आँकडा पार गर्यो। दीपेन्द्रसिंह ऐरीले ज्याकबलाई ५५ रनमा लोकेश बमद्वारा क्याच गराउँदै साझेदारी तोडेका हुन्। उनले ३५ बलमा समान चार चौका र चार छक्का प्रहार गरेका थिए। १३.४ ओभरमा इङ्ल्यान्ड १२८÷४ को अवस्थामा थियो। दीपेन्द्रले साम करनलाई २ रनमा नै बोल्ड गरे। यसपछि इङ्लिस टोली समालिएर खेल्ने प्रयास गर्यो।
यद्यपि, अर्को छेउबाट कप्तान ब्रुकले इनिङ अगाडि बढाए। १९औं ओभरदेखि इङ्ल्यान्डले आक्रामक ब्याटिङलाई निरन्तरता दियो। तर, नन्दन यादवले दोस्रो बलमा नै कप्तान ब्रुकलाई शेर मल्लबाट क्याच गराउँदै संकट कम गर्ने प्रयास गरे। डेथ ओभर भने नेपालका लागि महँगो साबित भयो। करण केसीले यो ओभरमा २१ रन बेहोरे। नेपालको बलिङमा नन्दन र दीपेन्द्रसिंहले समान दुई तथा शेर र सन्दीपले समान एक विकेट लिए।
डेथ ओभरमा करण केसीको सबैभन्दा महँगो ओभर रह्यो। उनले २१ रन सामना गरे। करणले तीन ओभर बलिङ गर्दै कुल ३५ रन खर्चिए।
प्रकाशित: २५ माघ २०८२ १६:५५ आइतबार




-600x400.jpg)
