१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

पहिलो विम्बल्डन उपाधि हात पार्दै यानिक सिन्नरले रचेको इतिहास

विश्व नम्बर १ यानिक सिन्नरले विम्बल्डन २०२५ को पुरुष एकल उपाधि जितेर इतिहास रचेका छन्। उनले पहिलो पटक यो प्रतिष्ठित उपाधि जित्दै विम्बल्डनको पुरुष एकलमा च्याम्पियन बन्ने पहिलो इटालियन खेलाडीको कीर्तिमान बनाए।

आइतबार राति लन्डनको अल इङ्ग्ल्याण्ड क्लबको सेन्टर कोर्टमा भएको रोमाञ्चक फाइनलमा सिन्नरले स्पेनका कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४, ६-४ को सेटमा पराजित गरेका थिए। ३ घण्टा ४ मिनेट चलेको यो खेलमा सिन्नरले उत्कृष्ट प्रदर्शन गर्दै अल्काराजसँगको ३५ दिन पुरानो हारको बदला पनि लिए। गत ८ जुन २०२५ मा अल्काराजले सिन्नरलाई हराउँदै फ्रेन्च ओपन जितेका थिए।

जितपछि सिन्नरले भावुक हुँदै भने, ‘यो मेरो लागि धेरै विशेष छ। कोर्टभित्र र बाहिरका चुनौतीहरू मेरो टिम र नजिकका मानिसहरूलाई मात्र थाहा छ। म मेरो सपना बाँचिरहेको छु।’ उनले यसअघि अस्ट्रेलियन ओपन (२०२४, २०२५) र यूएस ओपन (२०२४) जितिसकेका छन्।

शनिबार पोल्याण्डकी इगा स्वाएटेकले विम्बल्डन महिला एकलको उपाधि जितेकी थिइन्। उनले फाइनलमा अमेरिकाकी अमान्डा एनिसिमोभालाई सोझो सेटमा पराजित गरेकी थिइन्।

विम्बल्डन सबैभन्दा पुरानो टेनिस प्रतियोगिता हो। यो १४८ वर्ष पहिले १८७७ मा सुरु भएको थियो। विम्बल्डन एक मात्र ग्रान्ड स्ल्याम प्रतियोगिता हो जुन कुनै पनि राष्ट्रिय टेनिस संघद्वारा आयोजना गरिएको छैन। यो अल इङ्गल्याण्ड क्लबद्वारा आयोजना गरिएको हो। वेल्सकी राजकुमारी यस क्लबकी मालिक हुन्। हाल क्याथरिन एलिजाबेथ मिडलटन यसको मालिक हुन्।

विम्बल्डन वर्षको तेस्रो ग्रान्ड स्लाम हो। यसलाई टेनिसका चार ग्रान्ड स्लाममध्ये सबैभन्दा प्रतिष्ठित पनि भनिन्छ। टेनिस क्यालेन्डर वर्षमा ४ वटा ग्रान्ड स्लाम हुन्छन्। यो जनवरीमा अस्ट्रेलियन ओपनबाट सुरु हुन्छ।

फ्रेन्च ओपन मे र जुनमा आयोजना गरिन्छ। विम्बल्डन जुलाईमा र यूएस ओपन अगस्ट-सेप्टेम्बरमा आयोजना गरिन्छ। यूएस ओपन वर्षको अन्तिम ग्रान्ड स्लाम हो।

प्रकाशित: ३० असार २०८२ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App